‘सुर्खेतमा लकडाउन जस्तो नै देखिएन, तर अब कडाइ गरिन्छ’

नयाँ सिडिओका योजना :- 
कालोबजारी नियन्त्रण गर्न कर्मचारीलाई नै ग्राहकको भेषमा परिचालन गरिने,
पास वितरणमा कडाइ हुने,
खेतीको काममा जाने किसानलाई प्रहरीले नरोक्ने र क्वारेन्टाइनको सुरक्षालाई थप प्रभावकारी बनाउने
सुर्खेत, २६ जेठ ।
कोरोना संक्रमण बढ्दै जाँदा सुर्खेतमा लकडाउन भने खुकुलो देखिन्छ । पछिल्लो सयम लकडाउन कार्यान्वयन नभएको भन्दै आलोचना पनि बढेको छ । तर आइतबार मात्र सुर्खेतको प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका हिरालाल रेग्मीले अब लकडाउनलाई थप कडाइ गरिने बताएका छन् । आफू शुक्रबार मात्र सुर्खेत आएको भन्दै उनले सुर्खेतमा लकडाउनको पालना प्रभावकारी नभएको बताए । दुई दिनको अवधिमा बजारको अवस्था बुझ्दा लकडाउन फितलो भएको र यसले संक्रमणको जोखिम बढ्ने खतरा देखेको प्रजिअ रेग्मीको भनाइ छ । यही अवस्थामा जिल्लाको संक्रमण थप फैलिने जोखिम रहेको भन्दै उनले अब लकडाउनलाई थप कडाइ गरिने बताए ।

गुहमन्त्रालयको निर्देशन अनुसार नै जिल्लामा लकडाउनलाई कडा बनाइने र संक्रमणको जोखिम न्युनिकरणमा सबै उपयाहरु अपनाइने रेग्मीले बताए । पासको दुरुपयोगका कारण पनि जिल्लामा लकडाउन खुकुलो भएको पाइएको भन्दै उनले अब सुरक्षाकर्मीसँग छलफल गरेर जिल्लामा लकडाउनको कार्यान्वयन कडाइका साथ हुने जानकारी दिए । सुर्खेतका स्थायी बासिन्दा समेत रहेका प्रजिअ रेग्मीले खेतीको समय भएकाले किसानको हकमा केही खुकुलो भए पनि बिना काम बजारमा निस्कने र भीडभाडलाई नियन्त्रण गरिने जनाए ।

महामारीको मौका छोपेर बजारमा कालोबजारी बढेको सुचना आफूले पाएको भन्दै उनले यसलाई पनि नियन्त्रण गरिने बताए । यसका लागि प्रशासनले सादा पोशाकमा कर्मचारी र सुरक्षाकर्मीलाई ग्राहकको रुपमा बजार र पसलमा खटाइने योजना पनि सुनाए । यसरी कालोबजारीलाई पूर्णरुपमा नियन्त्रण गरिने उनको भनाइ छ । यसैबीच जिल्लामा लकडाउन कार्यान्वयन, कालोबजारी नियन्त्रण, महामारी रोकथाम र जिल्लाको शान्ति सुरक्षाको योजनाबारे प्रजिअ हिरालाल रेग्मीसँग विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ, हाम्रा संवाददाता सुशिल खड्काले रेग्मीसँग गरेको कुराकानीको शारांस :

सुर्खेतमा लकडाउन प्रभावकारी रहेछ त ?
आइतबारबाट कार्यालयमा हाजिर भएको छु । जिल्लामा लकडाउनको अवस्था बुझ्न म आफैंनिस्किएको थिएँ । तर लकडाउनको पालना भएको देखिएन । सुर्खेतमा पनि कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दो छ । यो अवस्थामा लकडाउन यस्तो फितलो हुनु राम्रो होइन । बिना काम अनावश्यक भीडभाड र सडकमा निस्केको पनि पाइयो । त्यसैले संक्रमण रोक्ने पहिलो विकल्प भनेकै लकडाउनको प्रभावकारी कार्यान्वयन हो । यसलाई हामी रोक्छौं । गृहमन्त्रालयको निर्देशन अनुसारजेठ ३१ गतेसम्म कुनै पनि हालतमा लकडाउन खुकुलो हुँदैन । थप कडाइ गरिन्छ ।यहाँ लकडाउन खुकुलो हुनुको पहिलो कारण पासका दुरुपयोग भएको ठानेको छु । आजै पनि थुप्रैले पास बनाइदिन भन्दै फोन गरिराख्नु भएको छ । त्यसैले अब पास वितरण र लकडाउनमा थप कडाइ हुन्छ ।

तर कडाइ हुँदा खेतीपाती गर्ने किसानलाई समस्या हुँदैन र ?
अब खेतीपाती गर्ने मुख्य सिजन हो । यसकारण खेती गर्न जाने किसानको हकमा कुनै रोकावट हुँदैन । तर किसानको भेषमा मनलाग्दी गर्न खोज्नेलाई भने कडाइ गरिनेछ । किसान बारीमा जाँदा उसको हुलियाले सबै थाहा भइहाल्छ नी । किसानलाई प्रहरीले रोकतोक गर्ने छैनन् ।

क्वारेन्टाइनमा सुरक्षामा पनि चुनौती बढेको छ । कसरी व्यवस्थापन गर्नुहुन्छ ?
सुर्खेतमा प्रहरीको जनशक्ति कम छ ।नेपाल प्रहरीले सबै ठाउँमा सुरक्षा दिनसक्ने स्थिति छैन ।प्रहरीले क्वारेन्टाइनदेखि अन्य ठाउँमा पनि सुरक्षा दिनुपर्ने अवस्था छ । अर्कोतर्फ सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिएपछि पनि सुरक्षाकर्मीहरुको अभाव भएको हो । तरस्थानीय तहसँग समन्वय भइरहेकाले अबदेखि क्वारेन्टाइनको सुरक्षामा पनि खतरा हुँदैन। क्वारेन्टाइनमा बसेकानागरिकहरुले पनिसरकारका लागि बसेको जस्तो व्यवहार गर्नु भएन नी । सबैको सुरक्षाका लागि क्वारेन्टाइन बसालिएको हो । त्यसैले उहाँहरुले पनि त्यहाँबाट भाग्ने काम गर्नु भएन ।

महामारीको अवस्थामा पनि बजारमा कालोबजारी भइरहेको छ । यसलाई कसरी रोक्नुहुन्छ ?
यस्तो महासंकटको बेला धमिलो पानीमा माछा मार्न खोज्नेहरु धेरै हुन्छन् । बजारमा व्याप्त कालोबजारीबारे मकहाँ पनि जानकारी आइसकेको छ । कालोबजारी गर्नेहरुको विवरण संकलन गरिसकेको छु । ग्राहक बनाएर कर्मचारीलाई अनुगमन खटाउने कार्य शुरु गरिएको छ । अबदेखि कसैले पनि मनलाग्दी ग्राहकबाट लुट्न पाउने छैनन् । प्रभावकारी अनुगमन र ग्राहक बनेर स्वयम कर्मचारी खटाएर त्यस्ता व्यापारीहरुलाई कडा कारवाही गरिनेछ । यसको नतिजा केही दिनमा यहाँहरुले देख्नुहुनेछ । साथै कालोबजारीबारे हामीलाई सुचना दिन पनि सबैमा अनुरोध छ ।

तपाइँ सुर्खेतकै स्थायी बासिन्दा हुनुहुन्छ । आफन्तहरुको घेरामा स्वतन्त्र भएर काम गर्नु सक्नुहोला त ?
आफ्नो गाउँ ठाउँमा आएर काम गर्नु चुनौतीपूर्ण नै हुन्छ । विगतमा पनि सुर्खेतमा बसेर काम गरिसकेको छु । जिल्लाबासी भएकाले पनि मबाट धेरै अपेक्षा राख्नु स्वभाविक नै हो । जिल्लाबासीका अपेक्षालाई खेर जान दिनेछैन । आफ्नो गृह जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणमा समन्वयकारी भूमिका निर्वाह गर्नेछु । केन्द्र, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरेर काम गर्नेछु । जिल्लाको वस्तुगत अवस्थाबारे जानकार नै छु । काम गर्ने क्रममा सबैको चित्त बुझाउन सकिदैन । तर पनि सबैसँग मिलेर आफ्नो कार्यकालमा प्रभावकारी बनाउने छु । मैले सरकारको नीति र नियम कार्यान्वयन गर्ने हो । आम नागरिकहरुले त्यसको पालना गर्दिनुभयो भने काम गर्न सहज नै हुनेछ ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्न कसरी अघि बढ्दै हुनुहुन्छ ?
अहिले कोरोनाका कारण विश्व नै आक्रान्त छ । सरकार र अन्य निकायहरुको ध्यान पनि यतिबेला यसैमा केन्द्रित छ । यस्तोबेला तस्करहरु सलबलाइरहका छन् । मौका यहीँ हो भन्दै विभिन्न अपराध गर्ने व्यक्तिहरु पनि समाजमा छन् । यस्ता विविध घटनाहरुलाई रोक्न मैले पहिलो प्राथमिकतामा कोरोनाविरुद्ध जुट्ने, शान्ति सुरक्षा कायम गर्ने, समस्याहरुलाई समाधान गर्ने र सुशासन कायम गर्नु मेरा प्रमुख एजेण्डा हुन् ।सुर्खेतमा सम्भावित अपराध हुनसक्ने ठाउँहरुमा उच्च निगरानी राख्नसादा पोशाकका प्रहरी पनि परिचालन गरिएको छ । कानुन विपरित काम गर्नेलाई कानुनी दायरामा ल्याउनमा कुनै कसर बाँकी राख्नेछैन । (२०७७ जेष्ठ २६ गते सोमबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया