सुर्खेतकाे एमयू र चीनकाे टाईडाओवीच सम्झौता

सुर्खेत, २५ जेष्ठ ।
शिक्षा, अनुसन्धान तथा संस्कृति आदान प्रदान र सहकार्य गर्ने उद्देश्य सहित मध्यपश्चिमाञ्चल विश्वविद्यालय, नेपाल र सिजिआजुङ टाईडाओ विश्वविद्यालय चीनवीच सम्झौता सम्पन्न भएको छ । जेष्ठ २१ का दिन मध्यपश्चिमाञ्चल विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र सिजिआजुङ टाईडाओ विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा. डा. फेंङ वेन्ची द्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अन्तर्गत दुवै विश्वविद्यालयविच बहुआयामिक क्षेत्रमा सहयोग एवं सहकार्य हुनेछ । यो सम्झौता पश्चात मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरु उक्त चिनियाँ विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरी पढ्न सक्नेछन् भने स्नातकोत्तर र विद्यावारीधी अध्यनका लागि विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।

अनुसन्धान, लेक्चर तथा शिक्षण सिकाईका लागि प्राध्यापकसमेत आदान–प्रदान हुनेछन् । यस सम्झौताको मुख्य उद्देश्य विश्वविद्यालय अन्तर्गतका फ्याकेल्टी तथा दोहोरो शैक्षिक सम्बन्ध बिकास रहने कुरा उक्त सम्झौता पत्रमा उल्लेख गरिएको छ । यो सम्झौता हस्ताक्षर भएको मितिबाट ५ वर्षका लागि मान्य हुनेछ भने सो पश्चात यसको प्रभावकारिता र आवश्यकता अनुसार थप गरिने प्राव्धान रहेको छ ।

सिजिआजुङ टाईडाओ विश्वविद्यालय यातायात, सूचना प्रविधि तथा इन्जिनियरिंङसंग सम्बन्धित चीनकै एक अग्रिणी तथा प्रख्यात विश्वविद्यालय हो । यो सहकार्य पश्चात मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया