आत्मविश्वास भए कोरोनालाई सजिलै जितिन्छ, डराउनु पर्दैन !

सुर्खेत, २४ जेष्ठ ।
कर्णालीमा पहिलो पटक सात जनाले कोरोना जितेका छन् । संक्रमण देखिएका उनीहरुले दुई हप्तामै कोरोनालाई जितेका हुन् । प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु निको भएपछि शुक्रबार डिस्चार्ज गरिएको हो । प्रदेश अस्पताल सुर्खेतका प्रमुख डाक्टर डम्बर खड्काले कोरोना जितेका सातै जनालाई डिस्चार्ज गरिएको बताए । अस्पतालका अनुसार कोरोना जित्नेमा सुर्खेतको वीरेन्द्रनगरका तीन जना, सुर्खेतकै भेरीगंगा नगरपालिकाका दुईजना र दैलेखका एकजना छन् । यस्तै डिस्चार्ज भएकी एक महिलाको भने पहिचान खुल्न सकेको छैन ।

उनले बोल्न नसक्ने भएकाले पहिचान नखुलेको र सांकेतिक भाषाका विज्ञलाई ल्याएर पहिचान खुलाइने अस्पतालले जानकारी दिएको छ । प्रदेश अस्पतालमा अब ६० जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । पछिल्लो समय भारतबाट फर्किनेहरु बढेसँगै कर्णालीका कोरोना संक्रमण पनि बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रवार दिउँसोसम्म कर्णालीमा संक्रमितको संख्या चारसय ८९ पुगेको छ ।

त्यसमध्ये सबैभन्दा धेरै संक्रमित दैलेखका छन् । कर्णालीमा अब डोल्पा र रुकुमपश्चिमबाहेक सबै जिल्लामा कोरोना देखिएको छ । यस्तै कोरोनाबाट हालसम्म कर्णालीमा दुई जनाको मृत्यु भइसकेको छ । यसैबीच अस्पतालबाट डिस्चार्ज भएकाहरुले आत्मविस्वासका कारण कोरोनालाई जितेको प्रतिक्रिया दिएका छन् । साथै उपचारका क्रममा अस्पतालमा राम्रो व्यवहार भएको उनीहरुको प्रतिक्रिया छ । कोरोनालाई जितेर घर फर्किएका व्यक्तिहरुले आफूमा आत्मविश्वास हुन जरुरी रहेको बताएका छन् ।

कोरोना जितेर घर जाँदै गर्दा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सुर्खेतका एक युवाले आन्तविश्वासले नै कोरोनालाई जित्न सकिने बताए । उनले भने,‘आइसोलेशनमा एक्लै बस्दा भने केही तनाव जस्तो भयो, तर पनि रोगलाई जित्न आत्मविश्वास बलियो बनाएँ ।’ अस्पतालमा रहँदा १४ दिनसम्म उपचारमा कुनै समस्या नभएको बताएका उनले भने, ‘खानपानमा नियमितता र स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीका कारण कोरोनालाई जित्ने आत्मविश्वास बढ्थ्यो, उहाँहरुकै प्रेरणाले आज घर जाँदैछु ।’ उपचारमा रहँदा कोरोनालाई जित्छु भन्ने दृढ विश्वास राखेकै कारण निको भएको उनको भनाइ छ ।

‘संक्रमण हुँदैमा मरिदैन, बरु अत्याधिक पानी पिउँने र खानपानमा विशेष ख्याल दिँदा कोरानालाई जित्न गाह्रो छैन’ ति युवाले भने, ‘ आइसोलेशनमा हुँदा दैनिक कम्तीमा ६ लिटरसम्म पानी पिउँथे, यसले पनि कोरोनालाई कमजोर बनाउँदो रहेछ ।’  प्रदेश अस्पतालबाट डिस्चार्ज गरिएकाहरुले कोरोनाबाट कोही पनि डराउन नपर्ने भन्दै सावधानी र आत्मविश्वास बढाउन सबैलाई आग्रह गरेका छन् ।

पञ्चपुरीका युवाको मृत्यु कोरोनाबाटै
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेगाउँका २० वर्षीय युवाको मृत्यु कोरोनाबाटै भएको पुष्टि भएको छ । कोरोना संक्रमण भए/नभएको पुष्टि गर्न उनको आरडीटी परीक्षण गरिएको थियो । आरडीटी रिपोर्ट नेगेटिभ आएको र क्वारेन्टाइन अवधि पनि पूरा भएको भन्दै उनलाई बुधवार क्वारेन्टाइनबाट घर पठाइएको थियो । तर कोरोना नभएको बताएपछि खुशी हुँदै घर पठाइएका ति युवाको बिहीवार विहान २ बजे घरमै मृत्यु भयो ।

मृत्युपछि उनको बिहीवार मात्र स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको हो । सामाजिक विकास मन्त्रालययका अनुसार आरडीटी रिपोर्ट नेगेटिभ देखिएको उनको पीसीआर रिपोर्ट भने पोजेटिभ आएको छ । ति युवाको मृत्यु कोरोनाबाटै भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले पुष्टि गरेका हुन् । आरडीटी परीक्षणको भर पर्दा युवकको अकालमै ज्यान गएको र गाउँ पनि जोखिममा परेको वडाध्यक्ष धनबहादुर थापाले बताए ।

उनकाअनुसार मृतक युवा जेठ ८ गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । ‘१४ दिनसम्म विद्यापुरको क्वारेन्टाइनमा बसेर उनी गाउँ आएका थिए’ वडाध्यक्ष थापाले भने, ‘आरडीटी गर्दा रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाएछन्, तर घरमा पुगेपछि उनको मृत्यु भयो । पहिले नै पीसीआर परीक्षण गरेको भए सायद उनी बाँच्ने थिए ।’

‘डिस्चार्ज गर्दासम्म कुनै लक्षण देखिएन’
शुक्रबार कर्णाली प्रदेश अस्पताल स्थित कोरोना विशेष अस्पतालमा उपचारारत सात जनाले कोरोना जितेर घर फर्किए । तर ति सातै जनामा १४ दिनसम्म कोरोनाको कुनै लक्षण नै देखिएन । अस्पतालको आइसोलेशनमा उपचार गराएर फर्किएकाहरुले पनि कोरोना लागेको कुनै महशुस नभएको प्रतिक्रिया दिए ।

अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले पनि अस्पतालको आइसोलेशनमा रहेका कसैलाई पनि थप जटिल लक्षण नदेखिएका जानकारी दिए । ‘अस्पतालको आइसोलेशनमा ६७ जना हुनुहुन्थ्यो’ डा. पौडेलले भने, ‘सात जना डिस्चार्ज भइसक्नु भयो, तर उहाँहरुलाई डिस्चार्ज गर्दासम्म पनि कोरोनाको कुनै लक्षण नै देखिएन । बाँकी संक्रमितहरुमा पनि कुनै जटिल लक्षण देखिएको छैन ।’ आइसोलेशनमा नल्याएर क्वारेन्टाइनमा राख्दा पनि खानपान र स्वास्थ्य सावधानी अपनाउँदा कोरोनालाई जित्न सकिने पौडेलले बताए ।

‘कोरोनको संक्रमण देखिए खानपानमा विशेष ख्याल पु¥याउने र पानी धेरै पिउँने हो भने कोरोनालाई जित्न सकिन्छ’ पौडेल भन्छन्, ‘पोट्रिन भएका खाना र झोलिलो पदार्थ तथा तातो पानी समय समयमा पिउने हो भने कोरोना पोजेटिभ देखिएका व्यक्ति कम्तीमा १४ दिनमा सन्चो हुन्छन् ।’ लक्षण नदेखिएको बिरामी र गम्भीर विरामीहरुमा उपचार पद्धती फरक हुने बताएका डा. पौडेलले लक्षण नदेखिएका विरामीहरुले खानपानमा विशेष ख्याल पुरयाए सन्चो हुने उल्लेख गरे । (२०७७ जेष्ठ २४ गते शनिबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया