कोरोना महामारीमा नेपालको अवस्था

–केशर सिंह माझी
हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड-१९ (COVID-19) ” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ। कोरोना भाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ। अहिले विश्वभरि कोरोना भाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्। चीनको वुहान नजिकै पशुपंक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो।

कोरोना भाइरस के हो ?
आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोना भाइरस (Corona virus) नामाकरण गरेका थिए। भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो। त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणु’ वा ‘किरीट विषाणु’ पनि भन्न सकिन्छ। तर कोरोना भाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो। सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा सङ्क्रमण गर्न थालेको भाइरस सो समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो। उक्त भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ (Sars-CoV-2) हो । यसको सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ (Covid-19) भनिन्छ। संक्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोना भाइरस शरीरमा छिर्न सक्छ। भाइरसले पहिला घाँटी, सास नली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोना भाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्यारएर ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोना भाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड-१९ का मुख्य लक्षण हुन्। केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ।

कोभिड-१९ का लक्षण देखियो भने के गर्ने ?
यी लक्षण देखियो भने घर मै अरूबाट अलग्ग बस्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ। झन्डै ८० प्रतिशत मानिसमा सामान्य खालको सङ्क्रमण हुन्छ। तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ। किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छन्।

कोरोनाभाइरस सङ्क्रमण कसरी हुन्छ ?
कोरोना भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ। सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका स-साना छिटामा कोरोना भाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ।

कसलाई कोरोनाभाइरस सङ्क्रमणको बढी जोखिम हुन्छ ?
कोरोना भाइरस सङ्क्रमण जसलाई पनि हुन सक्छ। संङ्क्रमित व्यक्तिको संसर्गमा आउने व्यक्ति तथा कोभिड-१९ बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीमा भाइरस सर्ने सम्भावना उच्च हुन्छ। त्यसैले सबैले आफू सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्छ। अरू गम्भीर रोग भएका व्यक्ति र वृद्धवृद्धालाई सङ्क्रमणको भयो भने यो भाइरसले धेरै दुःख दिन सक्छ।

कोरोनाभाइरस सङ्क्रमण हुँदा मृत्यु हुने सम्भावना कति छ ?
चिकित्साशास्त्रको जर्नल ‘द लान्सिट इन्फेक्शस डिजीजेज’ मा प्रकाशित एउटा अध्ययनले सङ्क्रमण भएका व्यक्तिमध्ये झन्डै ०.६६ प्रतिशतको मृत्यु हुने अनुमान गरेको छ। विश्वभरि मौसमी रुघाबाट पीडित झन्डै ०.१ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ। तर कति व्यक्ति सङ्क्रमित भएका छन् त्यसको तथ्याङ्क उपलब्ध नभएसम्म कोभिड-१९ को मृत्युदर यही हो भनेर निर्क्योल गर्न सकिदैन। फरक उमेर समूहका व्यक्तिमा फरक मृत्युदर देखिएको छ। इम्पीरीअल कलेज लन्डनको अनुमान अनुसार ८० वर्षभन्दा माथिका कोभिड-१९ बिरामीको मृत्युदर औसतभन्दा १० गुना बढी र ४० वर्षमुनिका बिरामीमा धेरै कम हुन्छ।
चीनमा ४४,००० बिरामीको अभिलेखको अध्ययन गर्दा मधुमेह, उच्च रक्तचाप वा मुटु वा फोक्सोको समस्या भएका बिरामीको कोरोना भाइरसका कारण मृत्यु हुने सम्भावना कम्तीमा पाँच गुणा बढी पाइयो। यो मृत्युदर मौसमी फ्लू अर्थात् रुखाखोकीबाट हुने मृत्युदरभन्दा धेरै हो।

के कोभिड-१९ को उपचार छ ?
अहिलेसम्म कोरोनाभाइरसका कारण लाग्ने रोग कोभिड-१९ को उपचार गर्न वा उक्त भाइरस हुन नदिने कुनै औषधि वा खोप बनेको छैन। अन्य जीवाणुको उपचारका लागि बनाइएका एन्टीबायोटिकले भाइरसलाई मार्न सक्दैनन्। तर कोभिड-१९ हुँदा देखिने लक्षणहरूको उपचार हुन्छ। अधिकांश मानिसमा तिनको शरीरको प्रतिरोधात्मक क्षमता सक्रिय भएर बिस्तारै निको हुन थाल्छ। अहिले कोरोना भाइरस विरुद्ध खोप बनाउन तथा परीक्षण गर्न विभिन्न देशका वैज्ञानिकहरूले काम गरिरहेका छन्।

कोरोनाभाइरसबाट कसरी सुरक्षित हुने ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसबाट जोगिन सबैभन्दा महत्त्वपूर्ण र आधारभूत उपाय भनेको सरसफाइ नै हो।
•नियमित रूपमा साबुनपानीले हात धुनुहोस् वा गुणस्तरीय स्यानिटाईजर दल्नुहोस्। यसो गर्दा हातमा भएका भाइरसहरू मर्छन्।
•नाक, मुख र आँखा नछुनुहोस्। किनभने हातले दूषित ठाउँ छोएको हुन सक्छ अनि हात नधोई अनुहार छुँदा भाइरस शरीरभित्र छिर्न सक्छ।
•खोक्दा वा हाछ्युँ गर्दा सफा रुमाल वा टिशूले नाक र मुख छोप्नुहोस्। अथवा हात उचालेर कुहिनोले ढाक्नुहोस्। त्यसो गर्दा भाइरस फैलिन पाउँदैन।
• दूषित रुमाल र टिशू सुरक्षित रूपमा तुरुन्त फाल्नुहोस्। त्यसो गर्दा भाइरसयुक्त छिटाबाट अरू मानिसलाई जोखिम हुँदैन।
•एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुहोस्। त्यसो गर्दा एक व्यक्तिमा भएका भाइरस अर्कोमा सजिलै पुग्न सक्दैनन्।
•भिडभाडमा नजानुहोस्। सकेसम्म घरमै बस्नुहोस्। त्यसो गर्दा भाइरस फैलिने सम्भावना कम हुन्छ।
•बाहिर जाँदा वा अरू व्यक्तिलाई भेट्दा हात नमिलाउनु होस्। नमस्कार गरेर वा हात हल्लाएर पनि अभिवादन गर्न सकिन्छ।

के मास्क र पन्जा उपयोगी छन् ?
• सामान्य मास्क धेरै खुकुला हुन्छन् र तिनले आँखा छोप्न पनि मिल्दैन। अनि त्यस्ता मास्क लामो समयसम्म लाउन मिल्दैन।
• मास्कले सङ्क्रमण हुन नदिने सुनिश्चित नगरे पनि सङ्क्रमित व्यक्तिले लगाउँदा मास्कले धेरै मानिसमा सङ्क्रमण भए पनि लक्षण नदेखिने हुँदा आफ्नो र अरूको सुरक्षाका लागि मास्क लगाउनु उपयुक्त नै हुन्छ। यसले खोक्दा वा हाछ्युँ गर्दा उत्सर्जन हुने छिटा धेरै मात्रामा रोकिदिन्छ। तर विश्व स्वास्थ्य सङ्गठनले पन्जा लगाए पनि अनुहार छुँदा भाइरस सर्ने सम्भावना भएकाले नियमित साबुनपानीले हात धुनु बढी सुरक्षित हुने बताएको छ।

कोरोना भाइरस: सङ्क्रमण नियन्त्रणका पाँच प्रमाणित रणनीति
सारा विश्वमा त्रास उत्पन्न गर्दै कोरोना भाइरसको विश्वव्यापी विस्तार भएको छ। हरेक दिन हजारौँ नयाँ सङ्क्रमित फेला परिरहेका छन् र सयौँको मृत्यु भएको घोषणा गरिन्छ। कैयौँ सहरहरू र देशहरू पूरै लकडाउनमा छन्। उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन्। उडान, अन्तर्राष्ट्रिय कार्यक्रमहरू र वार्षिक समारोहहरू रद्द गरिएका छन्। रोगको नयाँ केन्द्रविन्दु अमेरिका, इटाली, चीन, स्पेन, रुस, ब्राजील, जापान, भारत, अष्ट्रेलिया लगायतका राष्ट्रहरुमा दिनहुँ सङ्क्रमणको दर बढ्दो छ। तर केही देशहरू कोरोना भाइरसको अप्रत्याशित विस्तार रोकथाम गर्न सफल देखिएका छन्।

यी हुन् अति प्रभावकारी कदमहरू:
१. परीक्षण, परीक्षण र फेरि पनि परीक्षण,
२. सङ्क्रमितलाई एक्ल्याउने,
३. तयारी र तीव्र कदम,
४. सामाजिक दूरी,
५. सरसफाइलाई प्रोत्साहन ,
कोरोना भाइरस के हो ?, त्यसबाट कसरी सङ्क्रमण हुन्छ ?, कसलाई सङ्क्रमणको बढी जोखिम छ ?, कोभिड-१९ लागेपछि मृत्युको सम्भावना कति छ ? तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ ? भन्ने जिज्ञासामा प्रस्तुत आलेखमा यिनै प्रश्नहरु बारे छलफल गर्न खोजिएको छ ।
कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो। यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ।

नोभल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने ?
 ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने।
 खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने।
 भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने।
 बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने।
 कोरोना प्रभावित देशबाट आएको व्यक्तिहरूमा माथिका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त जानुपर्दछ। घरैमा बस्दा परिवारका सदस्यहरूबाट १४ दिन सम्म छुट्टै आईसोलेसनमा बस्नु पर्दछ।

नोभल कोरोना भाइरस भनेको के हो ?
यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ।
के मानिसमा जनावरहरूबाट नोभल कोरोना भाइरस संक्रमित हुन सक्दछ ?
नोभल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै बैज्ञानिक आधार हाल छैन।

के नोभल कोरोना भाइरस र SARS एउटै हुन् ?
सन् २००३ मा देखिएको SARS र नोभल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन्। दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्दछन्। महत्त्वपूर्ण कुरा नोभल कोरोना भाइरस मानिसहरू बीच सजिलै सर्न सक्दछ भनेर अझै पुष्टी भएको छैन।

मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ ?
मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने बारेमा आज सम्म वैज्ञानिक तवरले पुष्टी भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।

के यो एक व्यक्त्तिबाट अर्को व्यक्त्ति सर्न सक्दछ ?
अहिले निश्चितताका साथ भन्न सकिने अवस्था छैन। एउटै परिवारका सदस्यहरू बिरामी भएको पाइएकोले, मानव-मानव बीचमा सिमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ। साथै, परिवारका सदस्यहरू एकै स्रोतबाट संक्रमण भएको हुन सक्ने सम्भावना पनि रहेको छ।

यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ ?
सामान्यतः यस भाइरसको संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन। तथापि रुघा, खोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाई नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ।

के कोरोना भाइरसको लागि उपचार छ ?
नोभल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन। यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरूको उपचार गर्न सकिन्छ, त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ। साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन।
कोरोना भाइरस रोग प्रभावित स्थानबाट यात्रा गरी फर्किनु भएका यात्रुहरूले घर वा बासस्थानमा फर्केको दिनदेखि १४ दिन सम्म

अपनाउनुपर्ने अति आवश्यक क्रियाकलापहरूः
 स्वास्थ्य सेवा लिने बेला बाहेक अन्य समयमा आफ्नो घर वा बासस्थानमा नै बस्ने,
स्वास्थ्य सेवाका लागि बाहेक अन्य समयमा घर वा बसेको स्थानबाट बाहिर नजाने। कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा नजाने। सार्वजनिक यातायात वा ट्याक्सीको प्रयोग नगर्ने ,
 परिवारका सदस्यहरूबाट आफूलाई अलगै राख्ने,
घर परिवारका अन्य सदस्यहरू भन्दा छुट्टै कोठामा बस्ने र उपलब्ध भए सम्म छुट्टै शौचालय वा स्नानगृहको प्रयोग गर्ने।
 घरायसी सामान एक अर्कासँग नसाट्ने,
खाना खाएको भाँडा, गिलास, कप, काँटा-चम्चा, रूमाल, तन्ना जस्ता सामग्रीहरू घरका अन्य सदस्यहरूसँग साटफेर नगर्ने। आफूले प्रयोग गरेका सबै सामग्रीहरू साबुन पानीले राम्ररी सफा गर्ने।
 नियमित रूपमा हात धुने,
नियमित रूपमा साबुनपानीले मिचिमिची २० सेकेण्ड सम्म हात धुने। साबुन पानी उपलब्ध नभएमा वा हात धेरै फोहोर नभएको भएमा अल्कोहल भएको स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ। फोहोर हातले आफ्नो आँखा, नाक वा मुख नछुने।
 खोक्दा वा हाछ्युँ गर्दा नाक र मुख ढाक्ने,
 आफूलाई देखा परेका लक्षणहरूको ख्याल गर्ने
यदि १४ दिन भित्र रुघाखोकी लाग्ने, घाँटी दुख्ने, १००.४ डिग्री Fahrenheit भन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो महसुस हुने जस्ता लक्षणहरू देखिएमा तुरून्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। यस्ता लक्षणहरू देखिएका बिरामीहरूले लगातार रूपमा मास्कको प्रयोग गर्ने।
 कोरोना भाइरस फैलिएको देशबाट आएको जानकारी स्वास्थ्यकर्मीलाई दिने ,

कोरोना महामारीको प्रकोपमा नेपालको अवस्थाः
कोरोना महामारीको त्रासले नेपाली जनजीवन लकडाउनमा रहेर कष्टकर जीवन बिताइ रहेको छ। यसै बेला हाम्रो छिमेकी मित्रराष्ट्र भारतले लिपुलेक, लिम्पियाधुरा कालापानी सीमा मिचेर मानसरोवर-कैलाश तीर्थाटनका लागि धार्मिक पर्यटन मार्ग उदघाटन गरेर सीमा नाकामा उत्पात मच्चाइ रहेको बेला नेपालले आफ्नो परापूर्व कालदेखि मिचिएको सीमालाइ अबैध घोषित गरेर ऐतिहासिक रुपमा वर्तमान नेकपा अध्यक्ष एबं प्रधानमन्त्री के.पि.ओली सरकारले आफ्नो ऐतिहासिक भू-भाग समेटिएको राजनैतिक तथा प्रशासनिक नक्सा पहिलोपटक जारी मात्र गरेन, मिचिएको भू-भागलाइ फिर्ता ल्याउने उदघोष समेत गरिसकेको छ।

यसैबेला नेपालमा रहेका भारतिय नागरिकहरुको चाहनालाइ सम्मान गर्दै लक डाउन अवधिमा नेपालमा बस्न चाहनेहरुलाइ बस्न दिएको र आफ्नो देशमा फर्केर जान चाहनेहरुलाइ ससम्मान जान दिएको र भारत प्रवेश गर्न सीमा नाका बन्द भएका स्थानमा क्वारेन्टिन बनाइ उनीहरुको खाने, बस्ने र उपचार व्यवस्था मिलाइ दिएको छ। तर मित्रराष्ट्र भारतलाइ अहिलेसम्मको भौतिक बिकास र प्रगतिमा आफ्नो खुन पसिना पानी सरी बगाएर भारतको राष्ट्रिय सुरक्षादेखि अन्तरिक्ष युगसम्म पुर्यािउने नेपाली अभियन्ता दाजुभाई दिदी बहिनीहरुलाइ केवल “बहादूर, गोर्खा, मजदुर र चौकिदार” मा करार गरी उनीहरुको लगन, सीप, प्रबिधि र ज्ञान विवेकले भारतलाइ यहाँसम्म ल्याइदिएको गुनलाइ अपमान गरी कोरोना महामारी फैलिएर भारतग्रस्त भैरहेर लकडाउनमा रहेको बेला उनीहरुको स्वास्थ्य सुरक्षा, खाने बस्ने, रोजगारी, औषधी उपचार लगायतको व्यवस्था गरी कोरोना महामारीबाट सुरक्षित हुनका लागी सामाजिक दुरी कायम राख्न उत्प्रेरित गर्नुपर्नेमा उल्टै आ-आफ्नो बसोबासतिर जाओ भनेर एउटै ट्रक, ट्याक्टर, बस, रेलमा कोचाकोच गरी लखेटेर अनि कोहीलाइ पैदलै लखेटेर अमानवियताको प्रदर्शन गरेको छ। यसरी नेपाल फर्काइएका नेपाली दाजुभाइहरु कैयौं दिनको यात्रा गर्दा बेखर्ची भएर गास, बास र पिउने पानी समेत नपाइ कोही सीमा नाकामा अलपत्र अवस्थामा रहेका बेला प्रदेश तथा स्थानीय सरकार, संघ संस्थाहरु, मनकारी समाजसेवी व्यक्तिहरु, साहु महाजनहरु समेतको सहयोगमा उद्धार गर्ने कार्य भैरहेको छ।

यसरी बिभिन्न सीमा नाकाबाट उद्धार गर्ने कार्यमा सार्वजनिक यातायातका साधनहरु बस र ट्रकमा ओसारपसार गर्नुपर्ने सरकारहरुको बाध्यता भयो। यसरी उद्धार गर्ने काम हुँदा जिल्ला प्रवेशका बिन्दुहरुमा कोरोना भाइरस परीक्षण गर्ने र संक्रमित भएका र नभएका छुट्टयाई तिनिहरुलाइ निश्चित अवधिसम्म क्वारेन्टिनमा राखेर निगरानी र उपचारको व्यवस्था गर्नु पर्नेमा सयौं हजारौको संख्या भएकोले व्यवस्थापन हुन गर्न नसकिएको भनेर प्रदेश सरकारहरु पञ्छिने काम हुँदा अहिले भारत प्रवासबाट आउनेहरुलाइ उनीहरुको बसोबास भएको पालिकाहरुको क्वारेन्टिनहरुमा राख्ने निर्देशन सहित चेकजाँच पनि नगरी पठाउने काम भैरहेको छ।

जिल्ला वा प्रदेशको प्रवेश बिन्दुमा आवश्यक चेक जाँच नहुँदा भारत प्रवासबाट आउनेहरु आ-आफ्नो पालिकामा व्यवस्था गरिएका क्वारेन्टिनहरुमा राखिए पनि उनिहरु त्यहाँ नबसी दिने, बसेकाहरु पनि रात दिन बिभिन्न प्रकारका नाँच, गान, मनोरञ्जन, खेलकुद, मादक पदार्थ लगायत नसालु पदार्थको सेवन गर्ने, घरबाट खाना, खाजा र अन्य सामग्री झिकाउने, खाने ती भाडाकुडाहरु घरमा पठाउने मात्र होइन राती राती क्वारेन्टिनबाट भागेर आ-आफ्नो घरमा सुत्न जाने कार्यहरु गरिरहेको जानकारी बिभिन्न श्रोतबाट आउने गरेकाले कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएको हुंदा सो विषय अहिले केन्द्र,प्रदेश तथा स्थानिय सरकारहरुको टाउको दुखाइको विषय बनिसकेको छ। यस्तो कार्यले अहिले गाउँ समाज कोरोना सर्ने डर र त्रासले आतंकित बनिरहेको छ।

नेपालमा हाल संक्रमित देखिएका मध्ये भारतबाट आउनेहरू धेरै छन्। र, भारतीय सीमा जोडिएका जिल्लाहरुमा संक्रमित धेरै छन्। नेपालमा कोरोना प्रकोपबाट संक्रमित हुनेहरुको संख्या अहिले यो आलेख तयार गर्दासम्म १४०० नाघीसकेको अबस्था छ। नेपालमा अहिले हरेक व्यक्तिको मानसिक पक्ष विश्वव्यापीरुपमा कोभिड-१९ ले निम्त्याएको त्रास र आतंकले निकै संवेदनशील बनाएको छ। यसलाई सार्वजनिक र खुला बहस छलफल गरि समस्याको समाधान राम्ररी गर्नेतर्फ लाग्नु पर्दछ। त्यसैले, मुखले ‘घरमा बसौं, सुरक्षित बसौं’ भन्ने मात्र होइन यो महामारीमा मान्छेको मनले नै ‘घरमा बसौं, सुरक्षित बसौं र मानसिक रूपले यसका लागि तयार हुनुपर्ने गरी चेतनाको विकास हुन अति जरुरी छ।

साथै यस्तो महामारीमा संघ प्रदेश तथा स्थानिय सरकारहरु जनताको असल अभिभावक बनेर जनस्वास्थ्यलाइ पहिलो प्राथमिकतामा राखी महामारी नियन्त्रणका लागि आफ्नो सम्पूर्ण शक्ति लगाएर रोग नियन्त्रण गर्न गराउन चाहिने स्वास्थ्य यन्त्र उपकरण, विरामीहरुलाइ तत्काल सेवा पुर्याउने सवारी साधन (Ambulance र अन्य सवारी साधन), चाहिने औषधि, जनशक्ति, बिरामीलाइ राख्ने विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड अनुसारको आइसोलेसन कक्ष र क्वारेन्टिनको व्यवस्था, बिरामीहरुलाइ खानपान लगायत निःशुल्क औषधि उपचारको व्यवस्था, लामो समय देश लक डाउनमा रहेकाले ज्याला मजदुरी गरेर कमाइ खाने वर्ग र निम्न मध्यम वर्गहरु र अन्य कुनै आयश्रोत नहुने वर्गको छाक गुजाराको लागि राहत र समाधान, गाउँ, सहर, बजारहरुमा प्रकोप नियन्त्रणका लागि विषादि छर्कि दिने काम आदि सरकारी पक्षबाट गरिदिनु पर्दछ ।

साथै नेपालमा केन्द्र प्रदेश र स्थानिय सरकारहरुका तर्फबाट आगामी आर्थिक बर्षका लागि चाहिने सरकारु कार्य योजना र आय व्यय बिबरण बार्षिक बजेट घोषणा गर्ने क्रम शुरु भैसकेको छ। यस क्रममा केन्द्र सरकारको तर्फबाट जेठ १५ गते घोषणा गरिएको बार्षिक बजेट तथा कार्यक्रममा जनताको स्वास्थ्यलाइ प्राथिमिकतामा राखेर बजेट कार्यक्रम घोषणा भैसकेको छ भने असार १ गते प्रदेश सरकारहरुको र असार १० गतेभित्र स्थानिय सरकारहरुले बजेट प्रस्तुत गरिसक्नु पर्ने संबैधानिक प्राबधान रहेको छ। सरकारको तर्फबाट ल्याइने बार्षिक बजेट कार्यक्रम पूर्व निर्धारित भए पनि बर्षको अन्तमा हतार हतार गरिने असारे विकासको उपनाम पाएको विकास केवल बजेट सिध्याउने मेसो बनिरहेको प्रचलनलाइ अब अन्त्य गरिनु पर्दछ। किनकि यो असारे विकास हतारमा गर्दा दलाल ठेकेदार प्राविधिक दामकाम गर्ने आयोजना प्रमुख विभागिय प्रमुख सचिव हुदै मन्त्रीसम्मको चलखेल भएर राष्ट्रको ढुकुटी सिध्याउने काम हुने गरेका विगतका नजीरहरुले राष्ट्रिय ढुकुटीमा व्यापक भ्रष्टाचार र दुरुपयोगका अनगिन्ती घटनाहरु यसपटकदेखि नदोहोरिउन। बरु त्यसको सट्टा तीनै तहका सरकारहरुले यस बर्षको बजेटबाट जनतालाइ कोरोना प्रकोपको महामारीबाट “आफु बाँचौं र अरुलाइ बचाऔ” भन्ने नींति अवलम्वन गरी अभिभावकिय भूमिकामा रहनु आवश्यक छ। सबैमा चेतना भया ।

श्रोतः बिभिन्न अनलाइन पत्रपत्रिकाहरु । (२०७७ जेष्ठ २२ गते विहिबारको युगआव्हान राष्ट्रिय दैनिक सुर्खेतमा प्रकाशित)

तपाईको प्रतिक्रिया