नेपालमै कोरोना विरुद्धको ‘खोप’ बनेको दाबी : डब्लूएचओको चासो

हेटौंडा, २३ जेष्ठ ।
हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) का प्राध्यापक डा. ललितकुमार लाल दासले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक र उपचारात्मक औषधि आफूले ७० दिन लगाएर तयार पारेको उनको दाबी छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर उनले आफ्नो खोज र यसको प्रक्रियाबारे जानकारी दिँदै परीक्षणका लागि सम्बन्धित निकायलाई आग्रह गरेका हुन् । बोटविरुवामा आधारित औषधि निकालेको भन्दै उनले डाक्टरबाट पनि यस बारे आफूलाई प्रतिक्रिया प्राप्त भइरहेको बताए ।  भाइरस निको हुने र मानिसमा रोग प्रतिरोधी क्षमता बढाउने गरी दुई प्रकारको नमूना तयार बनाएको उनले बताए । ‘अहिलेलाई मेरो काम सकियो, अब सरकारले आफ्नो काम अघि बढाओस’, उनले भने, ‘पछि आवश्यक परेको बेला म थप काम गर्दै जानेछु ।’

‘मैले गलत चिज प्रयोग गरेको छैन । तर यो ठिक छ वा छैन भनेर परीक्षण होस्, मेरो चाहना यही छ’, उनले भने । परीक्षणको नियम बमोजिम नै विभिन्न जीवमा परीक्षण गरेर पछि मानिसमा प्रयोग गर्न सकिने उनले बताए । ‘जे नियम छ, सोही बमोजिम परीक्षण होस्, तर मेरो ७० दिनको मिहिनत यत्तिकै खेर नजाओस’, उनले भने ।

काठमाडौंमा भाइरलोजिस्ट यस्ता किसिमको ल्याब रहेको र यसअघि पनि परीक्षण भएको भन्दै उनले आफूले तयार पारेको यो प्रविधि पनि ती ल्याबमा हेरिदिन ध्यानाकर्षण गराएका छन् । ‘मैले प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाललाई पनि यो जानकारी गराएको छु । काठमाडौंका विभिन्न अस्पताल, त्रिभुवन विश्वविद्यालयसहित देशमा ८ वटा ल्याब छन् । मैले गुगलबाट यो जानकारी लिएको हुँ’, उनले भने ।

कोरोनाको नेचर हेरेर, त्यस अनुसारको प्रयोग गरेको उनको दाबी छ । ‘मैले सुरु गरेको अभियान पूरा नभएसम्म काम छोड्दिन’, उनले भनेका छन् । ‘अहिले कोरोनासँग डराउने होइन, लड्ने हो भन्न थालिएको छ, मैले जुन दिन काम सुरू गरेँ, त्यतिबेलै यस विरुद्ध लड्ने हो भन्ने मनमा लिइसकेको थिएँ’, उनले भने ।

कोरोना विरुद्धको भ्याक्सिनमा डब्लूएचओको चासो
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाविरुद्धको भ्याक्सिनमा चासो देखाएको छ । हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशलामा तयार पारिएको कोरोनाविरुद्ध निर्माण भएको औषधि तथा प्रयोगशालाको सम्बन्धमा डब्लूएचओेले चासो लिएको हो ।  त्रिभुवन विश्वविद्यालय अन्र्तगतको अध्ययन संस्थानका प्रध्यापक डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको दाबी गरेको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्लूएचओले जानकारी लिएको छ ।

डब्लूएचओले भिडियो वार्तामा नेपालसहित ७३ राष्ट्रसँग प्रत्यक्ष रुपमा कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सम्बन्धी छलफल गरेको डा. दासले जानकारी दिए । उक्त प्रयोगशालामा उत्पादन गरिएको औषधि सम्बन्धमा आवश्यक जानकारीका लागि संस्थानका प्राध्यापक दामोदर गैरेले डब्लूएचओमा लिखित प्रस्ताव पठाएको र उक्त प्रयोगशाला पनि छनांैट भएपछि भिडियो सम्मेलनमा यसबारे छलफल भएको दासको दाबी छ ।

तपाईको प्रतिक्रिया