वडाअध्यक्षले प्रहरी चौकी कव्जा गरेपछि …

रुकुम पश्चिम, २२ जेष्ठ ।
रुकुम पश्चिम जिल्लाको मुसीकोटको प्रहरी चौकीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित वडाध्यक्ष दीपक केसीले गुण्डागर्दी शैलीमा आक्रमण गरेर क्षति पुरयाएका छन् । तत्कालिन माअाेवादी केन्द्रबाट वडाअध्यक्षमा विजयी भएका थिए । मुसीकोट नगरपालिकाको वडा नम्बर १४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरी चौकीमा वडाध्यक्ष केसीको समूहले मंगलबार तोडफोड गरेको हो ।

वडा नम्बर १३ का वडाध्यक्ष केसी नेतृत्वको टोलीले ८ बजेतिर आक्रमण गरेको प्रहरीले जनाएको छ । तोडफोड गरेपछि वडाध्यक्ष केसीसहितका समूह फरार भएको छ । वडाध्यक्ष केसीले चेकजाँचका लागि राखेको ढाट हटाउन प्रहरीले ढिला गरेको भन्दै झगडा शुरु गरेका थिए । त्यसपछि केसीले २०/२५ जनाको समूह ल्याए तोडफोड गरेको स्थानीयको भनाइ छ । उनीहरूले स्थानीयका घरबाट बाँसका भाटा तथा विभिन्न सामग्री निकालेर चेकपोस्ट तथा चौकीमा आक्रमण गरिएका थिए ।

चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले कुर्ची, गाडी रोक्न बनाइएका सामान ताडफोड गरिनुका साथै चौकीमा ढुंगामुढा भएको बताए । बुधबार बिहानदेखि चौकी सुनसान छ । प्रहरी डिउटीमा छैनन् । चौकी इन्चार्ज साउद उजुरी दर्ताका लागि भन्दै जिल्ला पुगेका छन् । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लीको संयुक्त टोली छिवाङ पुगेको थियो ।

प्रहरीले रातभर खोज्दा पनि वडाध्यक्षसहित आक्रमणमा संलग्न अन्यलाई भेटाउन सकेको छैन । वडाध्यक्ष केसीको मोबाइल अफ गरेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर ओलीले चौकीका अधिकांश सामग्रीमा क्षति पुगेको बताए । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले चौकी तोडफोडमा संलग्न केसीसहित सबैको खोजी भइरहेको बताएका छन् ।

यसअघि पनि वडाध्यक्ष केसीलाई प्रहरीले पटक–पटक सम्झाई–बुझाई पठाएको डीएसपी केसीले जानकारी दिए । आफ्ना घरका सामग्री निकालेर चौकीमा आक्रमण हुन थालेपछि स्थानीयले वडाध्यक्ष केसीको विरोध गरेका थिए । मध्यपहाडी लोकमार्गमै पर्ने उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न भन्दै केही वर्षअघि मात्र प्रहरी चौकी राखिएको हो ।

वडा अध्यक्षसहित तीन जना पक्राउ
रुकुमपश्चिममा प्रहरी चौकीमा तोडफोड गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दिपक केसीसहित सोही वडाका राजन केसी र खिलराज गिरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । केही दिन अघि वडाध्यक्ष केसीको नेतृत्वमा स्थानीय युवाले नगरपालिका–१४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरी चौकीमा तोडफोड गरेका थिए ।

चौकीमा ६ जना मात्रै प्रहरी कार्यरत रहेको र पर्याप्त हतियारसमेत नभएका कारण चौकीमा तोडफोड गर्दा प्रतिकार गर्न नसकिएको प्रहरीको भनाइ छ । अत्याधिक मदिरा सेवन गरेर मोटरसाइकलमा आएका वडाध्यक्ष केसीले चेकजाँचका लागि राखिएको ढाट हटाउन प्रहरीले ढिलाइ गरेको भन्दै तोडफोड सुरु गरेका थिए । त्यसैक्रममा २०/२५ जना युवा आएर प्रहरीचौकीमा तोडफोड गरेको चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक धनबहादुर साउदले जानकारी दिए । स्थानीयका घरबाट बाँसका भाटा तथा अरू विभिन्न सामग्री निकालेर चेकपोस्ट तथा चौकीमा आक्रमण गरेका थिए ।

उनका अनुसार मदिरा सेवन गरेका वडाध्यक्षलगायत स्थानीय युवाले चौकीमा रहेका कुर्सी, गाडी रोक्न बनाइएका सामान ताडफोड गर्नुका साथै चौकीमा ढुंगामुढासमेत गरेका थिए । घटनालगत्तै फरार रहेको वडाध्यक्ष केसीलाई बुधबार साँझ गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले जानकारी दिए । चौकी तोडफोडमा संलग्न वडाध्यक्ष केसी लगायत अन्यविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरी दशदिनको म्याद थपेर थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए ।

तपाईको प्रतिक्रिया