सम्पादकीय : कर्णालीमा क्वारेन्टाइन व्यवस्थापन

कोरोना नियन्त्रणका धेरै उपाय छन् । ति मध्ये क्वारेन्टाइनको सही व्यवस्थापन भए संक्रमणलाई रोक्न सकिन्छ । मापदण्ड अनुसारका क्वारेन्टाइनमा शंकास्पद अर्थात संक्रमित क्षेत्रबाट आएकाहरुलाई राखिन्छ । जहाँ उनीहरुको निगरानी मात्रै हुँदैन, आवश्यक स्वास्थ्य परीक्षण पनि हुनु पर्दछ । तर कर्णालीमा हाल स्थापना भएका अधिकांश क्वारेन्टाइन नाममा मात्रका छन् । ति क्वारेन्टाइनकै कारण थप संक्रमणको जोखिम पनि बढ्ने देखिन्छ । अझ कतिपय जिल्लामा त क्वारेन्टाइनको नाममा ओडार र गोठमासमेत मान्छेहरु राखिएका छन् । यसले कोरोना नियन्त्रणभन्दा पनि फैलाउने देखिन्छ । क्वारेन्टाइनको अवस्था यतिसम्म विजोग छ की, न पानी छ, न त सुत्ने वातावरण नै । यसले पनि हाम्रो व्यवस्थापन कस्तो रहेछ भन्ने देखाएको छ । कोरोना भाइरस समुदायमा फैलिन नदिन भन्दै हाल कर्णालीका झण्डै ३० हजार नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । तर कुनै पनि क्वारेन्टाइनमा मापदण्ड अनुसारका सेवा सुविधाहरु छैनन् । क्वारेन्टाइनमा खानेपानी र सौचालयकोसमेत अभाव छ ।

मापदण्ड अनुसारका क्वारेन्टाइनमा पनि एक÷अर्काबीचको दुरी कायम गरिनुपर्छ । व्यक्तिले प्रयोग गर्ने शौचालयदेखि अन्य सामानहरु सकभर फरक–फरक हुनुपर्छ । न कि एक व्यक्ति कोरोना संक्रमण भएको खण्डमा अरुलाई संक्रमण नफैलियोस् । तर यि सुविधा भएका क्वारेन्टाइन खोज्नु कर्णालीका लागि दिवा सपना जस्तै भएको छ । कारण क्वारेन्टाइनमा क्षमताभन्दा दोब्बर नागरिकलाई राख्नुपर्ने बाध्यता छ । भौतिक संरचनाको अवस्था निकै नाजुक छ । संरचना अभावका कारण कतिपयलाई त्रिपालमा रात बिताउनु बाध्य छ । त कतिलाई गाइगोठमा हुल्लु परेको छ । ति क्वारेन्टाइनमा न सामाजिक दुरी कायम गर्न सम्भव छ न त सरसफाइ नै । यतिसम्म कि क्वारेन्टाइनमा बस्नेले शौचालयको पानीले प्यास मेटाउनुपर्ने बाध्यता छ । यो दुर्दशा हेर्दा लाग्छ कर्णालीका क्वारेन्टाइनहरु कोरोना रोकथाम गर्ने होइन कोरोनाको संक्रमण फैलाउन उन्मूख छन् । समयमै क्वारेन्टाइन व्यवस्थापन गर्न सक्ने होइन भने विपत्तको सुरुवात यहीबाट नहोला भन्न सकिने अवस्था छैन ।

किनकी संक्रमित क्षेत्र र संक्रमण रहित क्षेत्रबाट फर्किएका सबैलाई एउटै ठाउँमा राखिएको छ । उनीहरुले प्रयोग गर्ने शौचालय र खानेपानीको धारा एउटै छ । क्वारेन्टाइनमा बसेका सबैको नियमित स्वास्थ्य परीक्षण त सम्भव छैन । कोरोना परीक्षण गर्ने हो भने स्वाव संकलनमा महिनौ लाग्ने निश्चित छ । संकलित स्वावको परीक्षण गर्न पीसीआर मेसिनले चाप थेग्न नसक्ने भइसकेको छ । अझै पनि बाह्य मुलुकबाट आउने नागरिकहरु संख्या बढ्दो क्रलममा छ । एकातिर क्वारेन्टाइनको व्यवस्थापन हुन नसक्नु अर्काेतिर परीक्षण असम्भव हुनु । यि दुबै कारणले कर्णाली प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा प्रष्ट हुन्छ । तसर्थ कर्णाली प्रदेशका लागि कोरोना रोकथामको एउटै विकल्प भनेको क्वारेन्टाइन व्यवस्थापन नै हो । सबै नागरिकको परीक्षण कल्पनाभन्दा बाहिरको विषय बनेको छ । बरु तीनै तहका सरकार मिलेर क्वारेन्टाइन व्यवस्थापन गरौं । (२०७७ जेष्ठ २२ गते विहिबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)


याे पनि पढ्नुहाेस :-

कर्णालीमा क्वारेन्टीन व्यवस्थापन अस्तव्यस्त


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार