देशभर मौसम बदलीसँगै वर्षाको सम्भावना

सुर्खेत, २२ जेष्ठ ।
चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताइन् । उक्त चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने बताइएको छ ।

’नेपालको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा गराउनुको साथै उच्च पहाडी तथा हिमाली भूभागमा यसले हिमपात गराउने सम्भावना छ,’ मौसमविद् कँडेलले भनिन् । भारतमा बुधबारदेखि प्रवेश गरेको निसर्ग चक्रवातको प्रभाव अम्पुनको तुलनामा नेपालमा बढी देखिने मौसमविद्को अनुमान छ । निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै मुम्बईबाट ७५ किमी र पुणेबाट ६५ किमी टाढा रहेको छ ।

त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तरपूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको छ । यस चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा परिसकेको छ । देशको खासगरी मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानमा बदली रही केही ठाउँमा हल्लका वा मध्यम वर्षा भएको छ । दिउँसो सुदूरपश्चिम प्रदेश कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । शनिबार प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती प्रदेशका केही र अन्य प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

तपाईको प्रतिक्रिया