कोरोना नियन्त्रणका लागि दाता गुहार्दै प्रदेश सरकार

सुर्खेत, २२ जेष्ठ ।
कर्णालीमा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि प्रदेश सरकारले दातृ निकाय गुहारेको छ । कोरोना संक्रमण बढ्दै गएपछि प्रदेश सरकारले विदेशी विकास साझेदार र दातृ निकायसँग सहयोग मागेको हो । दातृ निकायका प्रतिनिधिसँग कोरोना रोकथाममा आवश्यक सहयोग गर्न आग्रह गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।

पछिल्लो समय भारतबाट भित्रिएका कर्णालीबासीसँगै कोरोना पनि भित्रिएको छ । कोरोनाले महामारीको रुप लिन थालेपछि प्रदेश सरकारले एक्लो प्रयासबाट नियन्त्रण सम्भव नभएको बताउँदै आएको छ । यही अवस्थामा सहगोगी निकायलाई बोलाएर प्रदेश सरकारले सहयोग मागेको हो । भारतबाट भित्रिनेक्रम जारी रहेको र संक्रमण थेग्न नसक्ने अवस्था आएको भन्दै सहयोगका लागि गुहार मागिएको बताइएको छ ।  प्रदेश सरकारले बुधबार विकास साझेदार संस्था र संयुक्त राष्ट्रसंघीय निकायका नेपाल प्रतिनिधिसँग कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको हो ।

प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु सहित संयुक्त रुपमा विकास साझेदार संघसंस्थाको छलफलमा सहयोगको लागि आग्रह गरिएको हो । दातृ निकायलाई क्वारेन्टाइन व्यवस्थापन, आइशोलेसन व्यवस्थापन र संक्रमण परीक्षणमा सहयोग गर्न आग्रह गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

बाहिरबाट ठुलो संख्यामा मानिसहरु गाउँ फर्किएपछि कोरोना संक्रमण रोक्न निकै चुनौतीपूर्ण बनेको भन्दै प्रदेश सरकारले संकटको घडीमा साथ दिन विकास साझेदार संस्थाहरुलाई अनुरोध गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले क्वारेन्टाइन र आइशोलेसन व्यवस्थापन, पीसीआर प्रयोगशालाको स्थापना, परीक्षणका लागि आवश्यक किट र एम्वुलेन्समा सहयोग गर्न दातासँग आग्रह गरेका हुन् ।

‘दुइ हप्तामा मात्र ३५ हजार नागरिक गाउँ फर्किए, भारत र तेस्रो मुलुकहरुमा झण्डै डेढ लाखको संख्यामा नागरिकहरु भित्रन अनुमान गरेका छौं’ दातासँगको भेटमा मुख्यमन्त्री शाहीले भने, ‘गाउँ फर्किएका नागरिकलाई राख्ने क्वारेन्टाइनसमेत व्यवस्थापन गर्न समस्या भएको छ, संकटको घडीमा प्रदेश सरकारलाई यहाँहरुको सहयोग आवश्यक छ ।’ संक्रमितलाई राख्ने आइसोलेसन र परीक्षणमा पनि सघाउन दातृ निकायलाई उनले आग्रह गरे ।

‘प्रदेशका दुई वटा मेसिनल २४ घण्टा सञ्चालन गरेका छौ, तर एकदिनमा पाँच सयको मात्रै परीक्षण सम्भव भयो’ मुख्यमन्त्रीले दाताहरुलाई भने, ‘परीक्षणको दायरा बढाउन थप मेसिन, किट र जनशक्ति व्यवस्थापनमा सहयोग गर्नुुस् ।’ मौसमी रोजगारीका लागि भारत गएका नागरिकहरु रित्तो हात फर्किएको बताउँदै प्रदेश सरकारले उनीहरुलाई निर्वाह भत्ता दिनुपर्ने बाध्यता रहेको जनाएको छ ।


‘कर्णालीका नागरिक परिवारको दैनिकी चलाउन तीन महिनाका लागि भारत जाने गर्छन्, तर कोरोनाको महामारीपछि रित्तो हात फर्किएका छन्’ शाहीले दातृ निकायसँग भने, ‘विपन्न नागरिकलाई निर्वाह भत्ता दिँदा प्रदेशलाई आर्थिक भार परेको छ, दातृ निकायले जे सकिन्छ त्यही सहयोग गर्नुपरयो ।’ सो अवसरमा दातृ निकायका प्रतिनिधिहरुले यो संकटमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारसँग आफूहरु सहकार्य गर्न तयार रहेको भन्दै उनीहरुले यो महामारीमा नागरिकको ज्यान जोगाउन सक्दो सहयोग गर्ने बताएका छन् ।

प्रत्येक जिल्लामा शववाहन
कर्णाली प्रदेश सरकारले प्रत्येक जिल्लामा शववाहन गाडी तयार पार्ने निर्णय गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएका नागरिकको शव व्यवस्थापनका लागि जिल्लामा छुट्टै शववाहन गाडी सञ्चालन गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

कोरोना संक्रमणबाट मृत्यु भएका नागरिको शव व्यवस्थापनमा चुनौतिपूर्ण हुनसक्ने आँकलन गर्दै अब प्रत्येक जिल्लामा शव व्यवस्थापनका लागि शववाहन तयार पारेको उनको भनाइ छ । मंगलबार कर्णाली प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले शव व्यवस्थापनमा समस्या आउन नदिन अहिले नै शववाहनको व्यवस्था गरिएको बताएका हुन् ।

खाद्यान्न खरिद गरिंदै
कोरोना भाइरसका कारण हुनसक्ने खाद्यान्न संकटलाई टार्न प्रदेश सरकारले तत्काल आवश्यक खाद्यान्न खरिद गर्ने निर्णय गरेको छ ।
यसअघि खाद्यान्नको संकट झेल्दै आएको कर्णाली प्रदेशले कोरोनापछि थप खाद्यान्न संकट निम्तिन सक्ने भन्दै २५ हजार क्वीन्टल चामल, १२ हजार क्वीन्टल गहँ र तीन हजार क्वीन्टल दाल खरिद गर्न लागिएको जनाएको छ ।

सोमबार सम्पन्न मन्त्रीपरिषद् बैठकले चालु आर्थिक वर्षभित्रै यो मात्रामा खाद्यान्न खरिद गर्ने निर्णय गरैको प्रदेश सरकारका प्रवत्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । खरिद गरिएको खाद्यान्न सबै जिल्लाहरुमा स्टोर गरिनेछ । यसअघि संघीय सरकारले कर्णालीमा उपलब्ध गराउँदै आएको खाद्यान्न नघटाउन समेत प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेको छ ।

हुम्ला र डोल्पामा खाद्यान्न ढुवानीको माग
कर्णाली प्रदेश सरकारले हुम्लाको याल्वांग वितरण केन्द्र र डोल्पाको तिन्जे वितरण केन्द्रमा तत्काल खाद्यान्न आपूर्ति गर्न माग गरेको छ । याल्वाङ्ग र तिन्जेमा यसअघि चीनको स्वशासित क्षेत्र तिब्बतको मार्ग हुदै खाद्यान्न आपूर्ति हुँदै आएको थियो । तर कोरोना भाइरसका कारण हाल चीनबाट खाद्यान्न आपूर्ति सम्भव छैन ।

तत्काल खाद्यान्न आपूर्ति नभए भोकमरी खेप्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रदेश सरकारले तत्काल वैकल्पिक मार्गमा याल्वाङ्ग र तिन्जेमा खाद्यान्न आपूर्ति गर्न माग गरेको हो । दुबै वितरण केन्द्रहरुमा खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउन खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाइ निर्देशन गरिदिन नेपाल सरकार समक्ष अनुरोध गरेको प्रदेश सरकारले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार