कोपिला भ्यालीको क्वारेन्टाइनमा सहयोग

सुर्खेत, २२ जेष्ठ ।
कोपिला भ्याली सेवा समाज सुर्खेतले स्वास्थ्य सामाग्री र खाद्य सामाग्री सहयोग गरेको छ । सुर्खेत, दैलेख र कालीकोट जिल्लाका विभिन्न स्थानीय तह र त्यहाँ रहेका क्वारेन्टाइनहरुलाई पहिलो चरणमा सामाग्री सहयोग गरेको हो । पहिलो चरणमा तीन जिल्लाका स्थानीय तह र क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको सेवा समाजका अध्यक्ष टोप बहादुर मल्लले जानकारी दिए । उनले कर्णालीका दश वटै जिल्लाका स्थानीय तह र क्वारेन्टाइनहरुमा सहयोग गरिने प्रतिवद्धता जनाएका छन् ।

भारतबाट घर फर्किएका सबै नागरिकहरुलाई बाटोमा छिन्चु, सुव्वाकुना र गुराँसेमा खाना, खाजा र पानी खुवाउने गरिएको अध्यक्ष मल्लले जानकारी दिए । ‘कर्णाली प्रदेशका ७९ वटा स्थानीय सबै तहमा हामीले सहयोग गर्दैछौं । स्थानीय तहमा रहेका क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेका नागरिकहरुको तथ्याङ्क अनुसार स्वास्थ्य तथा खाद्य सामाग्री वितरण गरी रहेका छौं’ अध्यक्ष मल्लको भनाई छ ।

क्वारेन्टाइनमा बस्ने नागरिक अनुसार दुई प्याकदेखि १० प्याक सम्म चामल समेत दिने गरिएको छ । प्रत्येक क्वारेन्टाइनलाई पिपिई २ सेट, क्वारेन्टाइनमा रहेका प्रत्येक व्यक्तिका लागि एन ९५ माक्स, सेनिटाईजर, एक पिस साबुन, टुथपेस, ब्रस, झुल, महिलाका लागि प्याड, बच्चालाई डाइपर वितरण गरिएको छ ।


बुधबार ८३०७ जनाका नागरिकलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । बुधबारसम्म कालीकोटका खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचालझरना गाउँपालिका, सान्नी त्रिबेणि गाउँपालिकामा राहत सामाग्री वितरण गरिएको छ ।

त्यसैगरी सुर्खेतका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका, चिङ्गाड गाउँपालिका, लेकबेशी नगरपालिका, भेरीगंगा नगरपालिका, वीरेन्द्रनगरका क्वारेन्टाइन लागि सामाग्री वितरण गरिएको छ । त्यस्तै कोपिला भ्याली सेवा समाजले भारतबाट नेपाल फर्किएका नागरिकहरुलाई कर्णाली प्रदेशको सिमानामा खाना, नास्ता र पानीको ब्यबस्थापन गरी रहेको र गरी रहने सेवा समाजका सचिव रमेश मल्ल (युनाइटेड) ले बताए ।



ताजा समाचार