कर्णालीमा कोरोनाको नाममा अनियमितता : कांग्रेस नेता शाही

सुर्खेत, २२ जेष्ठ ।
नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना भाइरसको संकटमा सरकार भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् । ‘कोरोनाको यो महासंटमा वडादेखि, पालिका, प्रदेश हुँदै संघ सम्म चरम बेथिति छ । कोरोनाकै नाममा सत्ता, शक्ति र पदको दुरुपयोग गर्दै चरम अनियमितता भएको छ’ उनले भने । पदिय जिम्मेवारीमा बसेका कर्णाली सरकारका मन्त्रीहरुलाई महामारी भन्दापनि निर्वाचन आए जसरी आफ्नो निर्वाचन प्रचार प्रसार गर्ने अवसर बनाएको बताए ।

कर्णाली प्रदेश सरकारका काम कारबाहीका बारेमा आफनो धारणा प्रस्तुत गर्न आयोजना गरेको भर्चुअल (जुम) पत्रकार सम्मेलनमा नेता शाहीले यस्तो आरोप लगाएका हुन् । कोरोना भाइरसको संक्रमणलाई बढ्न नदिन दुई महिनाको यथेष्ठ समय हुँदाहुँदै पनि प्रदेश सरकारले प्रभावकारी तयारी गरेर काम नगरेको आरोप लागाउँदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य, कर्णाली प्रदेश विपक्षी दलका नेता शाहीले सरकारले हरेक काममा नितिगत, मौखिक र लिखित रुपमै भ्रष्टाचार गरेको दावी गरे ।

‘लकडाउन (बन्दाबन्दी)को समयमा संघीय सरकारले विभिन्न नीति बनायो तर कर्णाली प्रदेश सरकारले त्यस्तो कुनै नीति बनाएन, शाहीले भने, ‘बिहान निर्णय गर्ने बेलुका निर्णयको आफै उल्लंघन गर्ने सरकारले कोरोना भाइरसको संकटमा नितिगत, मौखिक र लिखित रुपमै भ्रष्टाचार गरयो ।’

चालु आर्थिक बर्ष सकिन लाग्दा प्रदेशको विकासे बजेट चैत मसान्तसम्म ९ दशमलव ०३ प्रतिशत मात्रै खर्च भएको उल्लेख गरेका शाहीले कर्णालीमा सरकारबाटै लकडाउनको नियम उल्लंघन भएको अरोप लगाए । ‘लकडाउन (बन्दाबन्दी) को समयमा सामाजिक विकास मन्त्रालयबाट पीसिआर नगरेका व्यक्तिको नाममा नक्कली रिर्पोट बनाउने काम भयो’, उनले भने, ’उद्धारका नाममा आफ्न्त र आफनो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित गरेर अलपत्र परेका नागरिकको नाममा हजारौं कार्याकर्ता गाउँ पुरयाउने, खाना खुवाउने काममा पनि प्रदेश सरकारले गरेको भ्रष्टाचारलाई सहजै बुझ्न सकिन्छ ।’

प्रदेश सरकारबाट विभिन्न क्षेत्रमा गरेको चिकित्सकको व्यवस्थाप्रति असन्तुष्टि जनाएका शाहीले पछिल्लो पटक आफूले निर्वाचन जित्नमा सरकारका मन्त्री केन्द्रित रहेको उल्लेख गरे । चीनको वुहानको जस्तो प्रतिकार्य योजना बनाउने उद्घोष् गरेको कर्णालीमा सरकारकै अपरिपक्वताका कारण पछिल्लो अवस्था आएको दावी गरेको उनले बाहिरबाट प्रदेशमा भित्रिएकालाई तत्काल आरडिटि र पिसिआर परिक्षण गर्नुपर्ने माग गरे ।

तपाईको प्रतिक्रिया