फौजी किराले मकै बाली सखाप
दुर्गा विसी
सल्लीबजार,२१ जेष्ठ ।
सल्यान पश्चिमको विभिन्न क्षेत्रमा किसानको मकैवारी रोगका कारण रित्तिएका छन् । बनगाड कुपिण्डे वडा नं. ६ को अधिकांश पाखावारीमा लगाएको मकै फौजी किराले जरा, पात, डाँठ खाने गरेको छ । मकैको सानोदेखि ठुलो बिरुवासम्म किराले खाने गरेको किसानको दुखेसो छ ।
साविक घाँजरीपिपलको विभिन्न क्षेत्रमा लगाएको मकै बारी रित्तो बनेको स्थानीय चन्द्र बुढाले दुखेसो पोख्नु भएको छ । मकैमा औषधी छर्के पनि किरा नहटेको जनाएको छ । मकैवारी किराले खाएर रित्तो बनाएपछि पुनःपाखावारीमा मकै छर्न थालेको जनाएको छ । एग्रोभेटबाट औषधी खरिद गरी मकैवारीमा छरे पनि किरा नहटेको जनाएको छ । यो समस्या सल्यान पश्चिमका विभिन्न वडा हँुदै सिम्ता गाउँपालिका र सिद्धकुमाख गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा देखा परेको जनाएको छ । यस सम्बन्धमा सम्बन्धित निकायले भने कुनै चासो नदेखाएको किसानहरुको गुनासो रहेको छ ।
