जुम्लामा पुनः निषेधाज्ञा

जुम्ला, २१ जेष्ठ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन बुधबार बिहान ९ बजेदेखि बिहीवार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । गत चैत्र १२ गतेदेखि जारी निषेधाज्ञा मंगलवार राति १२ बजे सकिने भएपछि समय बढाइएको हो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मंगलबार सूचना सार्वजनिक गरेर अत्यावश्यक सेवाबाहेक सबै सार्वजनिकस्थल, बजार, उद्योग, कलकार खाना बन्द गर्न आग्रह गर्दै पुनः निषेधाज्ञा जारी गरेका हुन् ।

कोरोना संक्रमणको सम्भावित उच्च जोखिमलाई मध्यनजर गरेर कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिन पुनः निषेधाज्ञा जारी गरिएको हो । सूचनामा औषधि उपचारबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन, अनुमती प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायलेबाहेक सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण तथा ढुवानी सेवाबाहेक अन्य सबै पसल बन्द गर्न सूचनामा उल्लेख गरिएको छ । धेरै मानिस जम्मा भएर गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रम पूर्ण रुपमा रोक लगाइएको छ । सूचनामा आदेश पालना नभएमा कानून बमोजिम कारवाही हुने पनि उल्लेख छ ।

तपाईको प्रतिक्रिया