निर्मला गौली
लेखाअधिकृत, मुख्य न्यायाधिवक्ताको कार्यालय
जीन्दगी प्यास हो । यसबाट सन्तुष्टि कति लिने, त्यो आफैमा भरपर्छ । सुख, दुःख त सबैले भोग्नैपर्छ । फरक यतिमात्रै हो, लढेपछि ढल्ने वा पुनः दौडने प्रयास गर्ने । यस्तै उतारचडाव व्यहोर्दै जीवनलाई सही गोरेटोमा दोहोरयाउने मध्ये एक हुन् निर्मला गौली । बुवा प्रेमप्रसाद र आमा हरिदेवी गौलीबाट २०३८ साल चैत्र १२ गते उनको जन्म भएको हो । वीरेन्द्रनगर–१४ गढीमा जन्मिए पनि जीवनको जगभने वीरेन्द्रनगरको इत्रामबाट सुरु भयो । जीवनको चार दशक लामो यात्रा उनको लागि संघर्षशिल तर सफलतापूर्ण छ । हाल कर्णाली प्रदेश अन्तर्गत मुख्यन्यायाधिवक्ताको कार्यालयमा लेखाअधिकृत पदमा कार्यरत उनै निर्मलाले आफ्नौ जीवन भोगाइ र निजामति क्षेत्रको अनुभव हामीसँग व्यक्त गरेकी छन् । प्रस्तुत छ कुराकानीको शारांस :-
सानैछँदा जागिर खाने सपना
बालापन गढीमा वित्यो । विशेषगरी हजुरआमाको छत्रछहारीमा हुर्किएँ । हजुरआमाबाट आमाबुवा जतिकै माया पाएँ । उसो त म घरकी एक्ली छोरी हुँ । दाजु र भाईको माया पनि कमी छैन । बुवाआमाको माया हुने नै भयो । बालापनमा मात्रै होइन, जीवनका हरेक मोडमा बाआमा र दाजुभाइको साथ र मायाले यहाँसम्म आइपुगेकी छु । उबेला छोरीहरुलाई पढाइमा खासै महत्व दिने चलन थिएन । म स्कूल जानुमा स्व. डिल्लीप्रसाद पौडेलको विशेष प्रेरणा छ । उहाँले औधि माया गर्नुहुन्थ्यो । छोरीलाई जागिर खुवाउने त बाआमाको सपना थियो । बढ्दै जाँदा मैले सरकारी जागिर खाने सपना बोकेँ ।
विहानै मेलामात गरेर स्कूल जानुपथ्र्याे । विस २०४४ सालदेखि श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामबाट कखरा पढ्न सुरु गरेकी हुँ । कक्षा १ र २ को अध्ययनपछि कक्षा ३ र ४ को पढाई पुरा गर्न मेहलपानी स्कूल गढीमा गएँ । त्यसपछि पुनः वीरेन्द्रनगरमै फर्किएँ । बजारको माविबाट कक्षा ५ र ६ पुरा भएपछि पुनः इत्राम स्कूलमै फर्किएँ । कक्षा ७ देखि एसएलसीसम्म पढाई इत्राम स्कूलबाटनै पुरा भयो । २०५४ सालको एसएलसीपछि तत्कालिन वीरेन्द्रनगर बहुमुखि क्याम्पसबाट उच्च शिक्षालाई अघि बढाएँ । ब्याचलर र मास्टर्सको अध्ययन भने सुर्खेत क्याम्पस शिक्षाबाट पुरा गरेको छु । सानैदेखि मेरो पढाइ मध्यमखालको थियो । तर कहिले पनि असफल हुनु परेन । मेहनत गरे हरेक विषय सहज हुन्छ भन्ने मान्यता राख्थेँ ।
करारले स्थायी हुने बाटो खुल्यो
हरेक सपनामध्ये सरकारी जागिर खाने मेरो पहिलो सपना थियो । त्यो सपना पुरा गर्न धेरै संघर्ष र त्याग गरेकी छु । एसएलसी दिएपछि विहे भयो । विहेपछि पनि जागिर खाने सपना त्यागिन । म घरकी बुहारीमै सिमित हुन सकिन । मेरा लागि पढाइ र जागिर महत्वपूर्ण बन्यो । बिहेपछि उच्च शिक्षालाई रोक्न सकिन । बरु थप संघर्ष गरेँ । उबेलादेखि नै छोरीहरु आफ्नै खुट्टामा उभिन सक्नुपर्छ भन्ने लाग्थ्यो र लाग्छ । बरु अस्थायी जागिर गरेँ । बुवाआमाको साथ र सहयोग थियो । बुवा आफूले धेरै पढ्न नपाएका कारण छोराछोरीलाई धेरै पढाउनुपर्छ भन्ने सोच्नु हुन्थ्यो । समाजले के भन्ला भन्नेतर्फ सोचिन । विहान ३ बजे नै उठेर अध्ययन गर्थे । बालबच्चा हुर्काउँदै पढाईलाई निरन्तरता दिएँ । कोष तथा लेखा नियन्त्रण कार्यालयमा अस्थायी जागिर गर्दा धेरै संघर्ष गर्नुपरयो ।
छोराको स्याहारसुहार, विहान क्याम्पसको पढाई, आयोगको तयारी र जागिर भ्याउँदा रतिभर पुर्सद हुन्थेन । तर हिग्मत हारिन । जसोतसो पढाइलाई निरन्तरता दिएँ । फलस्वरुप यो स्थानमा आइपुगेकी छु । मैले २०६६ साल साउन २० गतेबाट निजामति सेवामा प्रवेश गरेकी हुँ । तत्कालिन जिल्ला विकास समिति अछाममा मेरो पहिलो पोष्टिङ भयो । लेखापालको रुपमा २०६७ पुसबाट जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा फर्किएँ । बिचमा विशेष अदालत काठमाडौंमा पुगेँ । हाल मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतमा लेखा अधिकृतको रुपमा कार्यरत छु ।
छोरालाई छोडेर जागिरमा जाँदा…
कुनै पनि पेशा व्यवसायमा आफ्नो तिता मिठा अनुभवहरु हुन्छन् । जुन पेशामा पनि संघर्ष हुन्छ नै । मेरा पनि पहिलो पटक जागिरमा जाँदा त्यस्तै तिता क्षणहरु छन् । अछामको बसाई सुखद थिएन । गाविस सचिवको रुपमा काम गर्दा नरमाइला घटनाहरु छन् । अछामको पुरानो सदरमुकाम बयलपाटा पुग्न घण्टौं लाथ्यो । त्योभन्दा अझै दुर्गमका गाउँबस्तीमा जाँदाका दुःख झनै पीडादायक थिए । बर्खामा झनै दुःख हुन्थ्यो । त्योभन्दा ठूलो दुःख सन्तानलाई दिनुपर्ने माया दिन सकिन ।
छोरा सानै भएका कारण साथमा लिन पनि सकिन । छोराको रेखदेखको सम्पूर्ण जिम्मेवारी बुवाआमाले गर्नुभयो । म जागिरीका लागि अछाम दौडिएँ । उसै त महिलाहरुलाई निजामति क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्न सहज छैन । हरेक महिला कर्मचारीले ९८ दिनको सन्तानलाई छोडेर डिउटी निभाउनुपर्छ । सबैको हकमा यो लागु नहोला । तर अधिकांश दिदीबहिनीले सन्तान हुर्काउदै आफ्नो डिउटी निभाउनुको विकल्प हुँदैन । अहिलेसम्म अधिकांस अफिसमा स्तनपान कक्ष समेत छैन । र पनि जिम्मेवारी निभाउनुपर्छ ।
हाकिमले विल पास गर्न दबाव दिन्थे
म जागिरको दौरानमा गाविस, जिविस, निर्वाचन र अदालत हुँदै अहिले न्यायाधिवक्ताको कार्यालयमा छु । लेखाफाँट सम्हालेको धेरै भइसक्यो । हिजोआज होइन, पहिले त प्रक्रिया नपुगेका बिलहरु पनि पास गर्न दवाव आउँथ्यो । कतिपय कार्यालयका हाकिमले नै मिलाएर काम गर भन्थे । तर अपुरा र प्रक्रिया नपुगेका बिलहरु कहिले पास गरिन र गर्दिन पनि । किनकी विशेष अदालतमा हुँदा भ्रष्टाचारका धेरै केसहरु देखेको छु । कतिपय कर्मचारीहरु साना–साना विषयमा चुक्दा अदालतसम्म पुगेका घटनाहरु हुन्थेँ । स्वभावले पनि मलाई त्यस्तो भ्रष्टाचार मानसिकता कहिलै पलाएन । हुन त लेखा फाँटमा सधैं प्लस, माइनसको काम गरिरहनु पर्छ । ठूला–ठूला कार्यालयहरुमा त फुर्सद नै पाइदैन । मलाइ पनि सधै विजी भइरहदा कहिले कसो प्रशासनकै जागिर खान पाए हुन्थ्यो जस्तो लाथ्यो । तर अहिले बानी परिसकेको छु । हिजोआज त धेरै व्यवस्थ हुनु परेको छैन ।
त्यो वियोगान्त क्षण…
दुःख सोच्ने हो भने जीवन दुःखकै पहाड हो । पहाडमा कतिसम्म पार गर्ने त्यो आफैमा निर्भर रहन्छ । पहाडको यात्रालाई रमाइलो सोचेर रमाउँदै जीवन विताउने हो भने पनि जीन्दगीमा छुट्टै आनन्द छ । किनकी मानिस संघर्ष गर्न नै धर्तिमा पाइला टेकेको हुन्छ । जो संघर्षदेखि डराउँदैन, उसले सधै जीवनलाई रमाएर विताउँछ । म पनि घरमा एक्ली छोरी हुँ । एउटा छोरी भएरै होला, दाजु, भाई र बुवाआमाले सानैदेखि धेरै माया गर्नुहुन्छ । मलाई अहिले पनि याद छ, परिवारमा सबैभन्दा धेरै नयाँ कपडा लगाउन पाउने म नै हुँ । स्कुल, कलेजमा पनि धेरै साथीहरु बनाउन रुचाउँथे । समय परिस्थितिले ति साथीहरुसँग भेटघाट पातलो बन्दै गएको छ । तर जीवन सधै एकनासको कहाँ हुदो रहेछ र ? विहे भएको छोटो समयमै जीवनसाथी गुमाउनु परयो ।
तर जीवनदेखि हार खाइँन । जुनसुकै परिस्थितिमा जन्मदिने आमावुवा र दाजुभाई सुख, दुखका सहयात्री बने । उहाँहरुकै छत्रछहारीमा आफ्नो गन्तव्यमा दौडिरहेको छु । अन्त्यमा छोरी (महिला) हरुलाई मेरो एउटै सुझाव, यदी तपाइँ सही काम गर्द हुनुहुन्छ भने समस्यादेखि नभाग्नोस् । छोरीहरुका आफ्नै बाध्यताहरु छन् । तर संघर्ष गर्दै जानुभयो भने सफलताले तपाइलाइँ खोज्दैखोज्दै आउँछ । (२०७७ जेष्ठ १८ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकमा साताको राष्ट्रसेवक स्तम्भमा प्रकाशित)
युग संवाददाता । । २१ जेष्ठ २०७७, बुधबार १२:४७