कर्णालीमा आइसोलेसन बेड र मेसिन थप्दै प्रदेश सरकार

सुर्खेत, २१ जेष्ठ ।
कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश सरकारले आइसोलेसन बेड र परीक्षण गर्ने मेसिन थप्ने भएको छ । यसका लागि आवश्यक बजेट समेत व्यवस्थापन गरिएको छ । प्रदेशभर आइसोलेसनको संख्या दुईहजार बनाउने र कोरोना परीक्षण गर्ने पीसीआर मेसिन अरु दुई वटा थप्ने निर्णय प्रदेश सरकारले गरेको हो ।

सरकारको यो निर्णयसँगै अब दैलेखबाट पनि कोरोना परीक्षण हुने भएको छ । कोरोना संक्रमित ठाउँबाट गाउँ फर्कने नागरिकको संख्या बढ्न थालेपछि दैलेखबाट पनि कोरोना परीक्षण गरिने भएको हो । सोमवार दिउँसोसम्म कर्णालीमा दैलेखमा सबैभन्दा बढी ९८ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै ४० हजार बढी नागरिक गाउँ फर्कने अनुमान गरिएको छ । यही समस्यालाई ध्यानमा राख्दै कर्णाली प्रदेश सरकारले दैलेखमा पनि कोरोना परीक्षण गर्ने तयारी थालेको छ ।

सोमबार बसेको प्रदलेश सरकारको मन्त्रीपरिषद बैठकले सुर्खेत र दैलेखमा राख्नेगरी दुई वटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । दैलेखमा संक्रमितको संख्या बढ्न थालेपछि परीक्षणको दायरा बढाउन पीसीआर मेसिन थप्न लागिएको हो भने सुर्खेतको प्रयोगशाला मेसिनले संकलन गरेको स्वाब परीक्षणको चापलाई थेग्न नसकेपछि यहाँ अर्काे पीसीआर मेसिन थप्न लागिएको सामाजिक विकास मन्त्री दल रावलले जनाए ।

कोरोना संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले कोरोना परीक्षण मेसिन थप गर्न लागेको जनाएको छ । ‘तत्काल परीक्षणको दायरा बढाउन सकिएन भने समुदायमा कोरोना संक्रमण फैलिन सक्छ, अहिले पनि संकलित स्वाबहरु काठमाडौं र छिमेकी जिल्लामा पठाएका छौँ’ मन्त्री रावलले भने, दैलेख र सुर्खेतमा राख्नेगरी दुई वटा पीसीआर मेसिन थप्ने निर्णय भएको छ ।’ मन्त्रीपरिषदको निर्णयसँगै मेसिन खरिदको प्रक्रिया अघि बढेको मन्त्री रावलले जनाए । ‘दैनिक चार हजार मानिस गाउँ फर्किन थाले, एउटा मेसिनले दैनिक दुइसय मात्रै परीक्षण सम्भव भयो’ उनले भने, ‘दुइवटा मेसिन थप गर्दा पनि परीक्षणको भार थेग्न सकिंदैन, प्रदेशको क्षमताले भ्याएसम्म परीक्षणको दायर बढाइन्छ ।’

भारत लगायत संक्रमित देश र क्षेत्रबाट कर्णाली भित्रिएका नागरिकको तत्काल पीसीआर परीक्षण सम्भव नभएपछि १४ दिन क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको उनको भनाइ छ । हाल प्रदेशभर क्वारेन्टाइनमा २५ हजारभन्दा बढी नागरिक बस्दै आएका छन् । प्रदेशभर क्वारेन्टाइनको बेड संख्या झण्डै ३० हजार पुरयाइएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले मेसिन, किट र आइसोलेसन बेडका लागि चार करोड ९३ लाख ५० हजार रुपैयाँ सम्बन्धित कार्यका लागि खर्च गर्नेगरी बजेट रकमान्तर समेत गरेको छ ।

तीस हजारको पीसीआर परीक्षण गरिदै
कोरोना संक्रमित बढ्द थालेपछि कर्णाली प्रदेश सरकारले थप ३० हजार नागरिकको पीसीआर परीक्षण गर्ने भएको छ । कोरोना परीक्षणको दायरा बढाउन प्रदेश सरकारले तत्काल ६ हजार किट खरिद गर्ने निर्णय गरेको छ । कोरोना परीक्षणका लागि प्रसेसिङमा प्रयोग हुने आरएनए एक्ट्रेक्सन किट खरिद गर्ने भएको हो ।

पुल टेष्ट विधि (एउटामा ५ जनाको स्वाव) परीक्षण गर्दा ६ हजार किटले ३० हजारको पीसीआर परीक्षण गर्न सम्भव हुन्छ । यद्यपी यसरी पुल टेष्ट संक्रमित व्यक्ति एकिन गर्न भने पाँच जनाको पुनः एक/एक गरी पीसीआर परीक्षण गर्नु आवश्यक हुन्छ । हालसम्म प्रदेश सरकारले संघीय सरकार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको सहयोगमा पीसीआर परीक्षण गरिरहेको छ । प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतमार्फत खरिद प्रक्रिया थालेको एकहजार पाँचसय भिडिएम, एनआर एक्ट्रक्सन र पीसीआर किट भने अझै आइपुगेको छैन ।

अब गाउँगाउँमा आइसोलेसन बेड
कोरोना संक्रमितको उपचारका लागि तत्काल एकहजार आइसोलेसन बेड थप गर्न लागिएको छ । संक्रमित बढी देखिएको दैलेख र सुर्खेत लगायत विभिन्न जिल्लामा एकहजार ६० बेड आइसोलेन तयार गर्न लागिएको हो । जसमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुना अस्पताल ५० बेड, पञ्चपुरी नगरपालिकाको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ५०, चौकुने गाउँपालिकामा ३० बेड, चिङ्गाड गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा ५० बेड र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ५० बेडको आइसोलेसन कक्ष तयार पार्ने निर्णय गरेको छ । त्यस्तै दैलेखको नारायण नगरपालिकाको नारायण क्पाम्पसमा, ठाँटिकाँध गाउँपालिकाको लकान्द्रा प्राथमिक स्वास्थ्य केन्द्र, आठविस नगरपालिकाको राकम कर्णाली स्वास्थ्य चौकी र दुल्लु नगरपालिकाको दुल्लु अस्पतालमा ५०/५० बेडको क्वारेन्टाइन बनाइने छ ।

दैलेखमा यसअघि नै एकसय १२ बेड आइसोलेसन तयारी भइसकेका छन् । सल्यानमा सबैभन्दा बढी संक्रमित देखिएको बनगाडकुपिन्डे नगरपालिका वडा नं १ को देवस्थलमा एकसय बेडको आइसोसन तयार गर्ने निर्णय गरेको छ । बागचौर नगरपालिका नगरपालिका वडा नं. २ मा ५० र कपुरकोटगाउँपालिका वडा नं. ३ मा पनि ५० बेडको आइसोलेसन तयार पारिने भएको हो । सल्यानमा यसअघि जिल्ला अस्पतालमा पनि २४ बेडको आइसोलेन तयारी भइसकेको छ ।

त्यस्तै जाजरकोटको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्यचौकी र नलगाड नगरपालिकाको दल्ली प्राथमिक स्वास्थ्य केन्दमा्र ५०/५० बेडको आइसोलेसन तयार पारिने छ । जाजरकोटको जिल्ला अस्पतालमा १२ बेडको आइसोलेन कक्ष तयारी अवस्थामा छ । हालसम्म संक्रमित नभेटिएका कारण त्यहाँको आइसोलेसन बेड खाली छन् ।

त्यस्तै रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा ५० बेडको आइसोलेन तयार पार्ने निर्णय सरकारले गरेको छ । यसअघि रुकुमपश्चिको चौरजहारी सामुदायिक अस्पतालमा ७६ बेडको आइसोलेसन कक्ष तयार भइसकेको छ । कालिकोटको पचालझरण गाउँपालिकाको राम्नाकोट स्वास्थ्य चौकी, नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ स्वास्थ्य केन्द्र, तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकामा ५०/५० बेडको आइसोलेसन तयार गर्ने गर्ने निर्णय गरेको छ । जिल्ला अस्पताल कालिकोटमा १५ बेडको आइसोलेसन छ । तर त्यहाँ १८ जना कोरोना संक्रमित बस्दै आएका छन् ।

त्यस्तै जुम्लाको तातोपानी गाउँपालिका र सिंजा गाउँपालिकामा पनि ५०/५० बेडको आइसोलेसन तयार गरिने छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एकसय २० बेडको आइसोलेसन कक्ष तयारी छ । जसमध्ये १९ जना कोरोना संक्रमति उपचारत छन् । प्रदेश सरकारले एकहजार ६० बेडको आइसोलेसन कक्ष थप गर्ने निर्णयसँगै प्रदेशभर झण्डै १५ सयभन्दा बढी आइसोलेसन बेड हुनेछन् । हाल प्रदेशभर विभिन्न स्थानीय तह र जिल्ला अस्पतालमा गरी पाँचसय ५० बेड आइसोलेसन तयारी अवस्थामा छन् । कोरोना जटिल विरामीको उपचारका लागि प्रदेश अस्पतालमा २५, कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा १० र दैलेखमा ५ बेड गरी कुल ४० बेड आइसीयु कक्ष तयारी अवस्थामा छ । त्यस्ते अति जटिल खालका कोरोना संक्रमितहरुको उपचारका लागि प्रदेश अस्पतालमा आठ, जुम्लामा सात र दैलेखमा दुई वटा भेन्टिलेटर कक्ष रहेका छन् ।

तपाईको प्रतिक्रिया