कर्णाली सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत, २१ जेष्ठ ।
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको असहमितका बिच बहुमतका आधारमा नीति तथा कार्यक्रम पारित गरिएको हो । संसदमा पेश भएको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको सभामुख राजबहादुर शाहीले जनाए ।

काँग्रेसले नीति तथा कार्यक्रममा उल्लेख गरिएको जनयुद्वको सट्टा सशस्त्र संघर्ष, जनआन्दोलनको सट्टा ऐतिहासिक जनआन्दोलन उल्लेख गर्नुपर्ने, प्रदेशका एयरपोर्टको विस्तार गर्ने र जनयुद्धकालिक जग्गाको कारोबारमा अभिलेखर राखेर गर्नुपर्ने लगायतका विषयहरु परिमार्जनका लागि संशोधन हुनुपर्ने बताएको थियो । ‘जनयुद्ध भन्ने शब्द संविधानमा उल्लेख छैन, संविधानमै नभएको शब्द नीति तथा कार्यक्रममा राख्नु हुँदैन’ काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘बाहिर बोल्द जे बोले पनि सरकारी कामकाजमा जनयुद्व भन्ने शब्द उल्लेख गर्नु गलत हो ।’

नेपालको संविधान पालन गर्ने राज्यका कुनै पनि निकायले जनयुद्ध शब्द राख्नु गलत हुने उनको तर्क छ । नीति तथा कार्यक्रममा क्षेत्राधिकारभन्दा बाहिर गएर सरकार प्रदेशका एअरपोर्टहरु विस्तार गरिनेछ भन्ने शब्दलाई हटाउनुपर्ने माग काँग्रेसले गरेको थियो । एयरपोर्टहरु संघीय सरकार मतहत रहेको भन्दै क्षेत्राधिकारभन्दा बाहिर गएर नीति तथा कार्यक्रममा उल्लेख गर्ने तर काम नगरेर जनतालाई झुक्याउन नहुने काँग्रेसको तर्क छ ।

त्यस्तै माओवादीले जनयुद्धमा कारोबार गरेका जग्गा जमितको अभिलेख राखेर मात्रै मिलान गर्नुपर्ने र २०६२÷०६३ ऐतिहासिक जनआन्दोलन शब्दलाई हटाएर जनआन्दोलन मात्रै राखिएको काँग्रेसले विमती जनाएको थियो । धकाँग्रेसले नीति तथा कार्यक्रममा असहमति जनाए पनि बहुमतबाट पारित भएको छ ।

तपाईको प्रतिक्रिया