रुकुम घटनाका एक युवकको पनि शव भेटियो

सुर्खेत, २० जेष्ठ ।
रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा गाउँलेको कुटाईपछि भेरी नदीमा फालिएपछि ६ जनाको मृत्यु भएको थियो । घटनाका आफ्न्त, अधिकारकर्मी तथा स्थलगत अनुगमन गरेका सांसदहरुले कुटपिट गरी हत्या गरेपछि भेरी नदीमा फालिएको दावि गर्दै आएका छन् । घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले कुटपिट गरी भेरी नदीमा फालिएका भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको शव मंगलबार फेला परेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो । जरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार शाहीको शव भेरी नगरपालिका–१२ स्थित भेरी नदीमा स्थानीयले फेला पारेको हो ।

उनी घटना भएकै दिन जेठ १० गतेदेखि बेपत्ता थिए । उनीसँगै भेरी नदीमा बेपत्ता भएका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको शव यसअघि नै भेरी नदीमा शव फेला परेको थियो । घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया