सम्पादकीय : कर्णालीका ज्यानमारा क्वारेन्टाइन

सरकारी तथ्याकं अनुसार पछिल्लो एक सातामा कर्णालीमा २३ हजारभन्दा नागरिक भारतबाट भित्रिएका छन् । भारतबाट भित्रिनेक्रम रोकिएको छैन । भारतबाट तीन हजार नागरिक तत्काल प्रदेशमा भित्रिने प्रदेश सरकारले आंकलन गरेको छ । यसले कर्णालीमा एउटा जोखिम निम्तिएको छ । त्यो भनेको भारतबाट आएकाहरुलाई कसरी क्वारेन्टाइनमा व्यवस्थापन गर्ने ? कोरोना महामारीसँगै कर्णालीमा क्वारेन्टाइन व्यवस्थापन ठूलो चुनौती बनेको छ । भारतबाट भित्रिएकालाई व्यवस्थापन गर्न स्थानीय तहले सकिरहेका छैनन् । स्थानीय तहमा पर्याप्त क्वारेन्टाइन नहुँदा भारतबाट भित्रिएकाहरुलाई गाउँमा रहेका विद्यालय, धर्मशाला, खुला चौर र गोठमा समेत राख्न थालिएको छ । जहाँ मानिसहरु भुइँमै सुत्न बाध्य छन् । कतिपयले त एउटै कोठामा कोच्चिएर बस्न बाध्य भएका छन् भने डेस्क र बेन्च जोडेर सुत्न बाध्य छन् । अधिकांश क्वारेन्टाइनमा न खानाको व्यवस्थापन छ, न कतिपयले पानी नै पाउने अवस्था । एक हिसावले भन्दा कर्णालीका क्वारेन्टाइनहरु ज्यानमारा नै देखिएका छन् । पछिल्लो घटनाले पनि यसलाई पुष्टि गरेको छ ।

कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १० दिनसम्म पनि ती युवाको कोरोना परीक्षण भएन । समयमै परीक्षण नहुँदा उनलाई आइशोलेसनको साटो क्वारेन्टाइनमा अरु ७९ जनासँगै राखिएको थियो । त्यहीक्रममा शनिवार विहान चिया खाएर सुतेका उनी ओछ्यानमै मृत भेटिए । समयमै पीसीआर परीक्षण नभएका कारण उनले आवश्यक उपचार नै पाउन सकेनन् । कोरोना आशंकामा उनलाई क्वारेन्टाइन बाहिर जाने अनुमति पनि दिइइन । परीक्षणमा भएको ढिलाइ र उपचारमा भएको लापरबाहीका कारण ति युवाले क्वारेन्टाइनमा प्राण त्यागे । उनको मृत्यु भएपछि मात्र शनिवार नै स्वाब परीक्षण गरियो । क्वारेन्टाइनमा राम्रो व्यवस्थापन भएको भए, चिकित्सकको निगरानीमा क्वारेन्टानलाई राखिएको भए, क्वारेन्टाइनमा औषधि र स्वास्थ्य जाँचको व्यवस्थापन गरिएको भएर तथा समयमै अस्पताल लगेको भए ति युवालाई बचाउन पनि सकिन्थ्यो । मृतकका आफन्तका अनुसार ति युवा भारतबाट आउँदा सामान्य ज्वरो आएको थियो । तर उनले समयमै उपचार पाएनन्, न त उनलाई अस्पताल जाने वातावरण नै बनाइयो । एक हिसावले भन्दा उनलाई कोरोना आशंकामा क्वारेन्टाइनभित्रै थुन्ने काम भयो ।


कर्णालीका अधिकांश क्वारेन्टाइनको हालत यस्तै छ । क्वारेन्टाइनको मुख्य उदेश्य भनेको बाहिरबाट आएकाहरुमा संक्रमण भएमा अरुलाई संक्रमण नसरोस् भन्ने नै हो । तर सुरक्षित राख्ने नाममा क्वारेन्टाइनमा राखेर सजाय दिने काम भएको छ । यसले अन्य रोगका बिरामीले पनि समयमै अस्पतालसम्म पुग्न नपाउने र क्वारेन्टाइनमै मृत्युवरण गर्ने अवस्था आउने खतरा बढेको छ । यसकारण पनि तत्काल क्वारेन्टाइनहरु सुधार हुन आवश्यक छ । त्योसँगै स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्थापनका लागि आवश्यक बजेट प्रदेश र केन्द्र सरकारले तत्काल उपलब्ध गराउन जरुरी छ । क्वारेन्टाइनहरु मापदण्ड अनुसारका हुनुपर्छ । यसो भएमात्र क्वारेन्टाइहरु सुरक्षित हुन सक्छन् । क्वारेन्टाइनप्रति सबैको विश्वास पनि बढ्न सक्छ । (२०७७ जेष्ठ १९ गते सोमबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार