रामचन्द्र न्यौपाने
डोल्पा, १९ जेष्ठ ।
सिम्रिक एयरको हेलिकप्टरबाट सुकुटी बरामद भएको समाचार युगन्युज डटकमबाट सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । उक्त घटनामा जिप्रका डोल्पामा कार्यरत प्रहरी निरिक्षक र प्रहरी हवल्दार मुछिएपछि प्रहरी निरीक्षक हस्त बहादुर सुनारको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ ।
सो घटनामा ड्युटीमा खटिएका प्रहरीबाट के कसरी, कसको लापरवाहीले उल्लेखित सुकुटी दुनै आइपुग्यो, सो सामानको जिम्मेवार व्यक्ति को हो ? भन्ने बिषयमा संवेदनशील भएर समितिले अनुसन्धान गर्ने विज्ञप्तिमा भनिएको छ । त्यसैगरी विज्ञप्तिमा घटनाको बिषयमा आधिकारीक रुपमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले अनुसन्धान सुरु गरिसकेकाले प्रहरी हरेक किसिमको सहयोग गर्न प्रतिवद्ध रहेको र मिडियाकर्मीलाई पनि सघाउन आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहातका सम्पुर्ण कर्मचारीहरु संरक्षित बन्यजन्तुको चोरी,शिकारी,तस्करी बिरुद्ध र निकुञ्ज क्षेत्रको संरक्षण सम्बद्र्धनमा सदैव कृयाशिल रहेको रहेको समेत बताइएको छ । गत बिहिवार शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्ने साल्दाङ्गबाट यात्रु लिएर दुनै फर्किएको सिम्रिक एयरको हेलिकप्टर सेना र निकुञ्जका कर्मचारीद्धारा चेकजाँच गर्दा आधा केजी सुकुटी फेला परेको थियो । सुकुटी बरामत घटनामा बिभिन्न अनलाईन मिडियामा प्रकाशित समाचारमा प्रहरीको पनि नाम जोडिएकाले सत्यतथ्य छानविनका तीन सदस्यीय छानविन समिति गठन गरिएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो ।
“त्यो दिन प्रहरी इन्सपेक्टर पनि हेलिकप्टरमा साल्दाङ्ग गएका थिए,साल्दाङ्गबाट हवल्दारले सुकुटी हाले भनेर पाइलटले आरोप लगाएका छन्,यसका बिषयमा हाम्रो तर्फबाट पनि अनुसन्धान सुरु गर्छौ” रञ्जितकारले भन्नुभयो । “घटनाको बिषयमा बिसृत छानविन गर्ने अधिकार निकुञ्जलाई छ, अनुसन्धालाई हामी पनि सघाउँछौँ, आवाश्यक परे हामीले पनि पाइलटलाई फोनबाट घटनाको बिषयमा बुझ्ने छौँ ।”
बरामद गरिएको सुकुटी संरक्षित बन्यजन्तुको जस्तो देखिए पनि ल्याव परीक्षणबाट आधिकारी जानकारी आउने निकुञ्जले जनाएको छ । घटनाको बिषयमा पाइलटको भिडियो बयान लिइसकेको बताउँदै लिखित बयानका लागि बोलायको खण्डमा उपस्थितहुने गरी छोडिएको बताइएको छ ।
यो पनि पढ्नुहोस :
सुकुटीसहित सिम्रिक एयरको हेलिकप्टर सेनाकाे फन्दामा
युग संवाददाता । । १९ जेष्ठ २०७७, सोमबार १८:०८