पार्टीको आग्रहमा शिक्षक छाडेर गाविस अध्यक्षमा लडेँ

अमृत विसी
नेता नेकपा, सुर्खेत
२०१६ सालमा दैलेखको गुराँस गाउँपालिकामा जन्मिएका अमृत विसी नेकपाका क्रियाशील नेता हुन् । समाजमा व्याप्त अत्याचार, अन्याय, दवाव, जातिय विभेद लगायत विकृती विरुद्ध कडा रुपमा आवाज उठाउने व्यक्तित्व पनि हुन् । सरल र मिलनसार स्वभावका विसी झण्डै २० वर्ष शिक्षण पेशामा जोडिए । स्थानीय निकायको निर्वाचनमा पार्टीले तत्कालिन लाटीकोइली गाविको अध्यक्षमा उठ्न भनेपछि शिक्षक पेशाबाट विसीले राजिनामा दिए । लामो समयदेखि राजनीतिमा सक्रिय उनलाई पार्टीले स्थानीय निकायको अध्यक्षबाहेक अन्य कुनै लाभको पदमा जिम्मेवारी दिन सकेको छैन । पद नपाएकोमा विसीको पार्टीप्रति कुनै गुनासो छैन । तर पार्टीमा कामको मुल्याङ्कन गर्ने पारीपाटी नहुँदा भने खिन्न छन् । आजको जम्काभेटमा नेकपा सुर्खेतका नेता विसीसँग युगआह्वान दैनिकका लागि सुशील खड्काले गरेको कुराकानीको सम्पादित अंश :

बाल्यकाल :
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बगौरा दैलेखमा कक्षा १ देखि ५ सम्म पढे । आदर्श निम्न माध्यमिक विद्यालय मेहेली गर्पनमा कक्षा ६ सम्म पढेका विसीले बाँकी अध्ययन वीरेन्द्रनगरको पब्लिक हाइस्कुलबाट पूरा गरे । नेपालगञ्जबाट आइएड गरेका विसीले सुर्खेत शिक्षा क्याम्पबाट विएड र बहुमुखी क्याम्पस सुर्खेतबाट राजनीतिक शास्त्रमा एमएसम्मको अध्ययन गरेका छन् । असल शिक्षक बनेर ज्ञानको ज्योति छर्ने विसीको बाल्यकालको सपना थियो । न्युन आय भएका विसीले स्कुले जीवनमा शिक्षा क्षेत्रमा काम गर्ने, अशिक्षित समाजलाई राजनीतिक, आर्थिक र सामाजिक चेतना जगाइ समाजको अगुवाई गर्ने सोच राखेका थिए । समाजमा भएका शोषण, दमन, अन्यायको विरोध गर्ने, विभेदको अन्त्य गरेर समाजको विकास र रुपान्तरणको लागि नेतृत्वदायी भूमिका निर्वाह अवश्य गर्छु भन्ने मार्गदिशामा अग्रसर थिए । बुवाआमाको सोच पनि एउटा असल, इमान्दार र कर्तव्यनिष्ट शिक्षक छोरो बनोस् भन्ने चाहना थियो ।

शिक्षक हुँदाको क्षण :
विसीले बाल भैरव प्राथमिक विद्यालय थारीमा २०३४ सालबाट शिक्षण पेशा शुरु गरे । २०३८ सालदेखि २०४२ सम्म लालीगुराँस निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमासमेत विसीले काम गरिसकेका छन् । २०४२ देखि २०४३ सालसम्म पीपीरामा रहेको निम्न माध्यमिक विद्यालय र २०४४ देखि २०५० सालसम्म जनसेवा माध्यमिक विद्यालय घुस्रामा समेत अध्यापन गराए । २०५० देखि २०५१ सम्म शारदा माध्यमिक विद्यालय छिन्चु र २०५१ देखि २०५४ सम्म अमरज्योति माध्यमिक विद्यालय नेवारेमा अध्यापन गराइसकेका छन् ।

गाविस अध्यक्षमा निर्वाचित :
सर्वहारा श्रमजीवी गरिब, दुःखी जनताको न्याय र मुक्तिका लागि शिक्षण पेशा छाडेर राजनीतिमा होमिएको विसीको भनाइ छ । सानै उमेरमा पनि अन्याय, अत्याचारविरुद्ध खरो रुपमा उत्रने भएकाले झण्डै २० वर्षसम्म शिक्षक पेशामा जोडिए पनि राजनीतिबाट थप केही गर्नुपर्छ भनेर लागेको विसी बताउँछन् । पार्टीले नै शिक्षक पेशा छाड्न लगाएर गाविस अध्यक्षमा लड्न भनेपछि शिक्षक पेशा छोडेको विसीले उल्लेख गरे । एक व्यक्ति, एक पद भन्ने पार्टीको नीतिअनुसार उनले शिक्षक पेशाबाट राजीनामा दिए । पार्टीले दिएको जिम्मेवारी अनुसार नै २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालिन लाटीकोइली गाविसको अध्यक्षमा निर्वाचित भए । जनताको पक्षमा वकालत गर्ने वानीका कारण जनताले आफूलाई विश्वास गरेर जिताएको उनको भनाइ छ । उनले पाँचवर्ष गाविस अध्यक्ष भएर काम गरे ।


लाभको पदबाट बञ्चित :
पार्टीको आग्रहमा शिक्षक पेशा छोडेका विसीलाई पार्टीले हालसम्म कुनै लाभको पदमा दिन सकेको छैन । पार्टी भए जनताको पक्षमा काम गर्न सकिन्छ भन्ने ध्येय बोकेका विसीलाई भने स्थानीय निकायमा अध्यक्षबाहेक अन्य कुनै पदमा न्याय दिलाएको छैन । शिक्षक पेशापछि पूर्णरुपमा राजनीतिमा होमिएका विसीलाई तत्कालिन नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष बाहेक अन्य पदमा अघि बढाएको पनि छैन । २०३५ सालदेखि नै विसी विद्यार्थी संगठनबाट राजनीतिमा होमिएका हुन् । २०३६ सालको बहुदल चुनाव र २०४६ को आन्दोलनमा होमिएपछि उनले पूर्णरुपमा राजनीतिक दलको सदस्यता लिएका थिए ।

शिक्षक पेशामा हुँदा पनि विसी गाउँ कमिटी, ईलाका कमिटी र क्षेत्रीय समन्वय कमिटीमा रहेर काम गरे । २०४८ सालबाट उनले पार्टीको सदस्यता लिएर विभिन्न कमिटीमा रहेर काम गरेका विसी हाल पनि नेकपाको सक्रिय नेता हुन् । तर विसी भने आफूभन्दा माथिल्लो तहमा सिनियर नेताहरु भएकै कारण लाभको पद पाउन नसकेको बताउँछन् । ‘पार्टीभित्र गुटको राजनीतिभन्दा पनि कामको मुल्याङ्कन नहुने परिपाटीले यस्तो भएको हो’ विसीको दुःखेसो छ, ‘पार्टीको हितका लागि कयौं संघर्ष गरियो, तर पार्टीले कामको मुल्याङ्कन भने गर्न सकेन ।’

विकासमा चासो :
प्रमुख धार्मिकस्थल देउती बज्यै मन्दिर निर्माणमा विसीको ठूलो योगदान छ । जिर्ण मन्दिरलाई हालको अवस्थामा ल्याउन उनले ठूलो पहल गरेको बताउँछन् । तत्कालिन गाविस अध्यक्ष हुँदा मन्दिर व्यवस्थापन समितिको पदेन अध्यक्ष थिए । त्यहीँ बेला जिर्ण देउती बज्यै मन्दिरको स्तरोन्नतिका लागि विसीले काम गरे । मन्द्यिरको नाममा रहेको अस्तव्यस्त १२ कठ्ठा जमिन व्यवस्थापन पनि विसीले त्यहीँ बेला गरेका हुन् । काँक्रेविहारका भग्नाशेषको उत्खनन् पनि स्थानीय निकायको अध्यक्ष हुँदा विसीले शुरु गराएका थिए । काँक्रेविहारको संरक्षण र पुरानै संरचनामा पुनर्निमाण गर्न विसी प्रयत्नरत थिए । हाल काँक्रेविहार आफ्नो स्वरुपमा पुनर्निमाण भएको देख्दा विगतमा गरेको पहल सार्थकता पाउँदा खुसी छन् ।

सहकारीको विकासमा योगदान :
मनिकापुर कृषि सहकारी संस्था दर्ता गरेर कृषिको विकासका लागि विसीले अहोरात्र खटिए । बेरोजगारलाई व्यवसायीक कृषि खेतीमार्फत रोजगारी दिन सकिन्छ भन्ने लक्ष्यका साथ कृषि सहकारीलाई स्थापित गर्नमा उनको योगदान छ । जिल्लामा कम मात्रै कृषि सहकारी थिए । सहकारी विनियम नै स्पष्ट नहुँदा कृषि क्षेत्रमा खास काम गर्न सक्ने अवस्था थिए । कृषि सहकारीहरुको छाता संगठन बनाउन विसीको योगदान छ । जिल्लाभर रहेका कृषि सहकारीहरु एकजुट नहुँदासम्म काम गर्न कठिन थियो । छाता संगठन निर्माण गर्न विसीले विनियम कार्ययोजना तयार गरी २०६२ सालमा धनगढीमा गएर कृषि सहकारी संघ दर्ता गरे । २०६२ देखि २०६६ सम्म जिल्ला कृषि सहकारीको अध्यक्ष भएर काम गरे । २०६६ सालमा सुर्खेतमा निष्कृय अवस्थामा रहेका जिल्ला सहकारी संघ नयाँ कार्ययोजना विनियम संशोधन गरी जिल्ला सहकारी संघलाई क्रियाशिल बनाए । २०६६ सालदेखि हालसम्म जिल्ला सहकारी संघको अध्यक्ष भएर काम गरिरहेका छन् ।

अन्त्यमा…
जिल्ला सहकारी मार्फत सुर्खेत जिल्लामा रहेका कृषि सहकारीलाई व्यवसायिक करणतर्फ उन्मुख गराई शेयर सदस्यको आर्थिक अवस्थामा सुधार ल्याई वेरोजगारी समस्या र गरिवीलाई न्यूनिकरण गर्ने र समाजलाई रुपमान्तरण गर्न योगदान पुरयाउनेगरी जुटेको उनको भनाइ छ । साथै पार्टीभित्र भएका गलत प्रवृत्ती, गुट उपगुटको अन्त्य गर्दै देश र जनताको हितमा सदैव लाग्ने उनको अठोट छ ।
(२०७७ जेष्ठ १६ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकको साताको जम्काभेटमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार