जाजरकोट, १९ जेष्ठ ।
रुकुम घटनाको निष्पक्ष छानबिनको माग गदै जाजरकोटका युवाले आइतवार सदरमुकाममा प्रर्दशन गरेका छन् । गत १० जेठमा रुकुमको सोती घटनामा मारिएका नवराज विक सहितका मृतकका परिवारको न्यायका लागि युवा प्रर्दशनमा उत्रिएका हुन् । प्रदर्शनकारीले पुर्वगृहमन्त्री जनार्दन शर्माको पुत्ला समेत जलाएका छन् ।
हत्यारालाई कारवाही गर, घटनाको निष्पक्ष छानबिन गर, घटनालाई तोडमोड गर्न खोज्ने जनार्दन मुर्दावाद, मृतकलाई सहिद घोषणा गर लगायतका नारा लगाउँदै बजार परिक्रम गरेर विरोध गरेका हुन् । नेपाल विद्यार्थी संघको अगुवाइमा भएको प्रदर्शनमा स्थानीय युवा युवतीले साथ दिएका थिए । लकडाउनको प्रवाह नगरी उनीहरु न्यायको लागि प्रर्दशनमा उत्रिएको बताएका छन् ।
घटनालाई राजनीतिक पहुँचका आधारमा पुर्वगृहमन्त्री तथा पश्चिम रुकुमका सांसद शर्माले घटनामा संलग्नलाई जोगाउन खोजेको भन्दै उनको पुत्ला जलाइएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष ललित बस्नेतले बताए । घटनालाई तोडमोड हुन नदिन वारम्बारको खवरदारी आवश्यक रहेका कारण विरोधमा उत्रिनु परेको बताउँदै उनले घटनाको निष्पक्ष छानबिन हुनु पर्ने, स्थानीयदेखि केन्द्रीय सत्ता सम्मको प्रभाव पर्न नहुने माग गरे ।
पूर्वमन्त्री शर्माका भाइ अनिल शर्मा र कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माका भाइ चौरजहारी नगरपालिका मेयर विशाल शर्मा दुवैको ससुराली सोती गाउँका मल्ल परिवार हुन् । घटनामा उनीकै संलग्नताको आरोप लागिरहेको छ । उनीलाई जोगाउन नेता शर्मा लागेको विद्यार्थी नेता बस्नेतले आरोप लगाए । घटनामा नवराजसहित पाँच जनाको ज्यान गएको छ। भेरी नगरपालिका ११ का गोविन्द्र शाही अझै हराइरहेका छन् । उनको खोजी कार्य भइरहेको छ ।
युग संवाददाता । । १९ जेष्ठ २०७७, सोमबार ०९:३२