रुकुम हत्याकाण्डले जन्माएको क्रोध

शेरेन्द्र सोनी/सिम्ता हाल कोहलपुर
हामीले पूर्व मेची, पश्चिम, काली, उत्तर हिमाल र दक्षिण तराईका सुन्दर फाँटहरुको कुरा ग¥यौ । हामीले ऐतिहासिक व्यक्तित्व जनक, सीता, भृकुटी र बुद्धका कुरा ग¥यौ । हामीले महान योद्दाहरु अमरसिंह, बलभद्र र भक्ति थापाका कुरा गरयौ । हामीले एकसय चारवर्षे राणा शासन विरूद्ध आफ्नो जीवनलाई बलिदान दिने शहिदहरु शुक्रराज, धर्मभक्त, दशरथ चन्द र गंगालाल श्रेष्ठका कुरा ग¥यौ, हामीले विश्व मानचित्रमा सगरमाथाको देश नेपाल र वीर गोर्खालीको कुरा ग¥यौ । हामीले पछिल्नो समय सबै प्रकारका मानवीय विभेदका विरूद्ध र नयाँ शासकीय प्रणाली प्राप्तिका लागि उच्च बलिदानीका कोटाहरु चुक्ता गर्दै आधिमय जनयुद्धका कुरा गरयौ । यी कुर्वानिहरुको एउटै मकसद थियो समानता, भातृत्व र मानव–मानव विचको विभेदहरुको मुक्ति वा मान्छे भएर जिउने उत्कठ इच्छा ।

हामीले बाहिरी दुनियाका अगाडि देखाउने यी सकारात्मक पक्षहरुको लेपन गरेपनि अर्थात् केहि हदसम्म राहत भए पनि आन्तरिक रूपले यो देशका श्रमजीवी अर्थात् सिंगो दलित समुदायको उत्पीडनका घाउहरु कोट्याउने हो भने कालो इतिहास हाम्रो सामु छ । यहि कालोपर्दालाई च्यातचुत पार्न वा पशुबाट मान्छे भएर जिउन इतिहासदेखिनै नगन्य प्रयास नभएको होइन । बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसंस्कृति अर्थात अनेकतामा एकताभै मिलेर बसेको समाज भने पनि दलित समुदाय सहेर बसेको समाज हो ।

योगदान र बलिदानीका हिसाबले भन्ने हो भने बाइसे,चौबिसे राज्यहरु एकीकरण हुनु पूर्वका कुरा हुन् वा एकीकरण हुँदाका अर्थात् जहानिय राणा शासन,२००७ सालको प्रजातान्त्रिक आन्दोलन, तीस वर्षीय निर्दलीय पञ्चायती कालारात्री, २०४६ सालको बहुदलीय व्यवस्था, २०५२ सालको जनयुद्ध र २०६२÷६३ सालको गणतान्त्रिक ऐतिहासिक आन्दोलनको कुन मोर्चामा दलित समुदायको बलिदानी र उपस्थिति छैन ?
माथिल्लो वर्गका मानिसहरु राणा, पञ्चायत, बहुदल, शसस्त्र जनयुद्ध र गणतान्त्रिक आन्दोलनको फेर समाई यो देशको रास्ट्रपति, प्रधानमन्त्री, मन्त्री र उच्च पदहरुमा हालीमुहाली गर्ने सपनाहरुको खात लिएर अघि बढे पनि दलित समुदायका मान्छेहरुको उपस्थिति पशुरूपी जीवनबाट मुक्त हुँदै मान्छे भएर जिउने झिनो सपना मात्र थियो र आज पनि त्यहि हो । राजनीतिक प्रतिनिधित्वका हिसाबले पछिल्नो समय झिनो उपस्थिति भएपनि हाम्रो समाजलाई मनुवादी हिन्दु परम्पराका खास्टाहरुले लपेटेको छ,जस्ले दलितहरुलाई मान्छे भएर जिउन कदापि दिदैन । आत्मसम्मानको हिसाबले सबै क्षेत्रमा गर्व गर्दै अघि बढ्ने हौसलाका पक्षहरु नगन्य छन् ।

देशमा शासन बदलिए, शक्ति बदलिए, संबिधान बदलिए र शासकीय प्रणाली बदलिए अर्थात राजनीतिक पार्टीहरुका दस्तावेज र विधानहरु बदलिय तर व्यवहारत दलितहरुको आत्मसम्मानमा लागेको चोटहरु जस्ताको तस्तै रहे । बिभिन्न कालखण्डमा दिएका बलिदानहरू व्यर्थमा गएको आभाष हुन्छ । विश्वको सामु नेपाली भएर पहिचान दिए पनि आन्तरिक रूपले नेपाली भएर गर्व गर्ने दलित समुदायको हैसियत छैन अर्थात् हिन्दु भएर शिर ठाडो पार्ने आधार छैन । लोकतन्त्र, गणतन्त्र र समाजवादोन्मुख समाजको हवाला दिए पनि आन्तरिक रूपले गुलामी र जी हजुरी गर्न आजपनि दलित वर्ग वाध्य छ ।

एक्काइसौ शताब्दीको शैक्षिक, वैज्ञानिक, प्राविधिक र चमत्कारिक युगमा प्रवेश गरे पनि देशको राजधानी हुँदै समग्र भू–भागमा दिनप्रतिदिन पसल, चुलो, धारा, पधेरा, मठमन्दिर र सार्वजनिक स्थलहरुमा गालीगलौज, बहिस्कार र अपमानका घटनाहरु छताछुल्ल देखिन्छन् । सेते दमाई, मनवीर सुनार, अजित मिजार, लक्ष्मी परियार, माया विक र जनप्रतिनिधि मना सार्कीका मृत्युका घटनाहरु त पुराना भइसके । पोखराका मोहन सुनार, गुल्मीका एकजना जनाप्रतिनिधिका विभेदका घटना त आलै छन् ।

देशका सुन्दर गहना भन्ने कलाकार, चर्चित मोडल एवंम् कोरियोग्राफर शंकर विसी र चर्चित लोक दोहोरी गायक एवंम् मोडल अर्थात् गलबन्दीका गायक प्रकाश सपूतले पनि सामाजिक संजालका भित्ताहरुमा जातीय अपमानका शब्दहरुबाट अपमानित हुनु परेको थियो, जसले कयन दिनसम्म बेचैनीमा धकेलेको थियो । दलित अधिकारकर्मी एवं महिला नेत्री सरु सुनारले हमेशा उच्च वर्गबाट गालीगलौज र धम्कीपूर्ण उर्दिहरु व्यहोर्दै आउनु भएको छ, । यसले स्पष्ट गर्छकी हाम्रो समाज व्यक्तित्व भन्दा जातित्वलाई प्राथामिकता दिने समाज हो, यहाँ मान, इमान, कर्तव्य र सत्यको विजय हुदैन । यहाँ अन्याय र अत्याचारका अमानवीय पहाडहरु जतिसुकै अग्ला भए पनि उच्च जातीय अश्त्रले भित्र भित्रै लुकाइन्छ, दबाइन्छ र प्रमाण नष्ठ गरिन्छ । यहि सन्दर्भमा, आज भन्दा दुईसय वर्ष पहिले अर्थात् कार्लमाक्स जन्मिएको चार वर्षपछि देहान्त भएका विश्व प्रसिद्द कवि पिवि शेलिको कविताको शब्दहरु जोड्न मन लाग्यो ।


छर्छौ बाली तिमी उठाउने अर्कै छ,
बुन्छौ लुगा तिमी लगाउने अर्कै छ,
बनाउछौ हतियार तिमी भिर्ने अर्कै छ.
त्यसैले,
छर बाली तिमी तर अत्याचारीलाई उठाउन नदेउ,
बुन लुगा तिमी तर आफ्नै लागी बुन,
बनाउ हतियार तिमी तर आफ्नै सुरक्षाको लागी बनाउ,

यी उपर्युक्त हरफहरुले कति मेल खान्छ तर यो धर्तीलाई उर्वरा बनाउदै समग्र मानब जातिको आवश्यकता परिपूर्तिको लागि प्राविधिक सिपकौशलको जननी दलित समुदाय हो भन्दा अतिशोक्ति नहोला । खासमा भन्ने हो भने श्रमको सच्चा पुजारी र हकदार दलित समुदाय हो । मानव जनजीवनका प्रत्येक कण–कणमा दलित समुदायको रगत र पसिना गाँसिएको छ । अव सम्पूर्ण मानव समुदायमा समर्पन त्यो कला, कौशल त्यो श्रम अर्थात् हतियार बनाउने ती सुकोमल हातहरु आफुमा जाइलाग्नेका विरुद्ध, अमानवियाताका विरूद्ध, सबै खाले विभेदका विरूद्ध, मान्छे भएर जिउन नदिने समाजका विरूद्ध, दिशापिसाब र कुकुर भन्दा निच सम्झने अन्धोभक्त सामाजिक मानसिकताको विरूद्ध प्रयोग गर्ने बेला आएको त होइन सोचनीय विषय छ ।

प्रेम र विवाहकै कुरा गर्ने हो भने प्रेमका पारखीहरुले जहानीय राणा शासनको क्रुर बेलामा पनि वैवाहिक सम्बन्ध जोडेको मेरो आफ्नै परिवारको गाथाको अंश जोड्न चहान्छु । वि.सं.१९८५ मा मेरो हजुरबुवाले त्यो अनपढ जमानामा गाउकै योगी थर (नाथ)को छोरी लिएर मुद्दा मामिला खेप्दै, धाकधम्कि सहदै र वस्ती छोड्दै पनि आफ्नो प्रेममा जित्नु भएको थियो, जसको सन्तानले आज डाँडाकाँडा भरिएको छ । यस्तै मेरो सहोदर फुपुको छोराले २८÷३० वर्ष पहिले ठकुरी थरकै छोरीको अनुरोधमा चुनौतिका सबै खाले बारबन्देज भत्काउदै विवाह गरी आफ्नो प्रेमलाई जीवन्त राखेको त्यति पुरानो भएको छैन । भन्नुको मतलव प्रेम गर्नेहरुलाई कुनै शासनले, कुनै जातले र कुनै भूगोलले कहिल्यै छेकेको छैन र भविष्यमा पनि त्यो रोकिने छैन, तर यसको बदला मृत्यू होइन ।

रुकुम पश्चिम चौरजहारी नगरपालीका ८ सोतीको घटनाले नेपाली समाज स्तब्ध छ र सिंगो दलित समुदाय आबेग, क्रोध, वेचैन र आत्मागलानीबाट आक्रान्त छ । नबराज बि.क. सहित उनका साथीहरुको सामुहिक हत्याले आज रेडियो, टेलिभिजन, समाचारपत्र र सामाजिक संजालका भित्ताहरु त रंगिएका छन्, कलाकार र अभियानताहरुको आवाज त गुन्जिएको छ साथै संसद भवनमा यो विषयले प्रवेश त पाएको छ तर यसको निष्कर्ष के हुने, अपराधीहरुको पहिचान कसरी हुने, कुन स्तरको कार्वाही हुने, त्यो सन्तान गुमाउने पीडितको आबेगलाई कसरी मत्थर गर्ने र सिंगो दलित समुदायको उम्लिएको रगतलाई कसरी पूर्णबिराम गर्ने परिस्थिति अन्यौलपूर्ण छ ।

केहि थान पैसा दिएर, अपराधीलाई केहि महिना जेल थुनेर र जाँचबुझ आयोगको केहि पेजको प्रतिवेदन त अवश्य आउनेछ तथा परिस्थितिलाई ढाकछोप गर्न हर प्रकारका तिकडम अवश्य प्रयोग हुनेछन् तर यो घटनाले दलित भित्र शुषुप्त अवस्थामा रहेको विद्रोही चेतलाई तिखार्न, एकताबद्द हुन्, देश भित्र घटी रहने लाखौ घटनाहरुको स्थायी समाधानको माग गरेको छ र संविधानले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको भावनामा प्रश्न चिन्ह खडा भैरहेको परिप्रेक्षमा अर्थात् समानता र आत्मसम्मान पूर्वक जिउन पूर्खौदेखी गुम्सिएर, निशासिएर, पिधिएर, दबेर र गलेर रहेको भावना प्रस्फुटन हुने विचारतापÞर्m इंगित गरिरहेको छ अर्थात राजनीतिक वादविनाको अर्को सांस्कृतिक आन्दोलनको आधारभूमि खडा गर्न एउटा कित्ताको माग गरेको प्रतित हुन्छ ।

किनकि राज्यसत्ता परिवर्तन र निरङ्कुश शासनका हर आन्दोलनमा समाहित हुँदै त्याग, तपस्या र बलिदानका कोटा चुक्ता गर्दै लामबद्द भए पनि वा आमुल परिवर्तनका हरेक मुक्ति आन्दोलन पश्चात पनि ती पुरातन, रुढिवादी, अन्धविश्वास र मनुवादी मानसिकताले दलितलाई आत्मसम्मान पूर्वक जिउन दिन्न भने कुन वाद र पार्टीको आस्थामा कैद हुने घोत्लिएर सोच्नु पर्ने निर्मम बेला आएको छ ।
गाउँका शोषक, सामान्त, अन्याय, अत्याचारी र विभेदकारीहरुलाई यो देशबाटै निमिट्यान्न पार्न, शोषित र उत्पीडित जातिको मुक्तिको निम्ति आवाज बुलन्द गर्ने जिल्लाको उदगमस्थलको नाभीमा यो अमानवीय अपराध घट्नुले त्यो आँधीमय र तुफानमय जनयुद्दलाई गिज्याएको, मुर्झाएको र लज्जित बनाएको लुकाउनु पर्ने विषय रहेन । (लेखक : सिम्ता–५ सुर्खेत, हाल कोहलपुर निवासी हुनुहुन्छ )


1 thought on “रुकुम हत्याकाण्डले जन्माएको क्रोध

  1. लेख प्रकाशित गरि सहयोग गर्नु हुने युग आव्हान पत्रीका परिवारलाई हृदयदेखि नै धन्यवाद l

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार