‘कोरोना नियन्त्रणमा कर्णाली सरकार चुक्यो’

सुर्खेत, १९ जेठ ।
कर्णाली प्रदेश सभाका सांसदहरुले कोरोना प्रतिकार्यको अभियानमा प्रदेश सरकार चुकेको बताएका छन् । आइतबार प्रदेश सभाको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले कोरोना रोकथामा प्रदेश सरकार गम्भीर नभएको बताए ।  ‘प्रदेश सरकारलाई कोरोनाको प्रतिकार्यका लागि पर्याप्त समय थियो, लकडाउन भएको महिनासम्म प्रदेशमा कोरोना संक्रमण थिएन’ विपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘समय हुँदासम्म मन्त्रीहरु अनुगमनका नाममा जिल्ला दौडाहमा निस्किए, किटको व्यवस्थापनदेखि क्वारेन्टाइन व्यवस्थापन गर्न सकेनन् ।’

संक्रमित क्षेत्रबाट आएका नागरिकाको पीसीआर परीक्षण नगरेर कोरोनामुक्त प्रदेश भनेर नागरिकलाई ठग्दा अब अवस्था भयावह हुने उनको भनाइ छ ।  उनले कर्णालीमा कोरोना संक्रमण रोक्न परीक्षणको दायरा र विदेशबाट आएका सबै नागरिकको अनिवार्य विवरण राख्न सरकारलाई सुझाव दिए । सरकारले समयमै सजकता अपनाउन नसक्दा कर्णाली इटली बन्न सक्ने उनको तर्क थियो । त्यस्तै सांसद धर्मराज रेग्मीले पनि नागरिकहरु क्वारेन्टाइनमा मर्दासम्म सरकारले कोरोना परीक्षणलाई प्रभावकारी बनाउन नसकेको बताए ।

‘भारतबाट गाउँ फर्किएका नागरिकको समयमै परीक्षण भएन, १० औं दिनमा नागरिकले क्वारेन्टाइनमै मृत्यु भएको छ, मान्छे मरेपछि मात्रै कोरोना परीक्षण हुने हो ? सरकारलाई प्रश्न गर्दै सांसद रेग्मीले भने, ‘नागरिकको मृत्यु भएको कति घण्टापछि कोरोना परीक्षणको रिपोर्ट आउने हो ?’

त्यस्तै सांसद सीता नेपालीले क्वारेन्टाइनमा पिउने पानी र शौचालयकोसमेत व्यवस्था नभएको बताइन् । क्षमता भन्दा दोब्बर नागरिक क्वारेन्टाइनमा बसेको भन्दै उनले क्वारेन्टाइन नै कोरोना फैलाउने स्थल नबनाउन सरकारलाई आग्रह गरिन् । यद्यपी कोरोना महामारीसँग लड्न प्रदेश, स्थानीय र संघीय सरकारबीच सहकार्य गर्नुपर्ने बताइन् । आइतबार प्रदेशसभामा बोल्ने अधिकांश सांसदहरुले कोरोना प्रतिकार्यमा प्रदेश सरकारको तयारी नपुगेको भन्दै विभागिय मन्त्रीको जवाफ माग गरेका छन् ।

तपाईको प्रतिक्रिया