परीक्षण नगरी क्वारेन्टाइनमै थुनेर राख्दा उपचार नै पाएनन्

सुर्खेत, १८ जेष्ठ ।
कर्णालीमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षे युवाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोनाको परीक्षण हुन नपाउँदै उनको शनिबार विहान मृत्यु भएको हो । समयमै परीक्षण नगरिएका कारण उपचार नपाउँदा ती युवाको कोरानाबाट मृत्यु भएको हो ।

भारतको गुजरातबाट गाउँ फर्किएका उनी १० दिनदेखि दुल्लु नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेको १० दिनसम्म न उनको कोरोना परीक्षण भयो, न त उनले उपचार नै पाए । अन्नतः उपचारको अभावमा नै ति युवाको क्वारेन्टाइनभित्रै मृत्यु भएको हो । मृतकको कोरोना परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको थियो । तर परीक्षणमा भएको लापरबाहीका कारण उनमा कोरोना भएको समयमै एकीन हुन सकेन ।

समयमै कोरोना पुष्टि भएको भए उनले आइसोलेसनमा उपचार पाउन सक्थे । यसबाट उनको ज्यान जोगिन पनि सक्थ्यो । तर सुर्खेतमा रहेको आरटी पीसीआर प्रोसेसिङ किट फरक परेपछि शुक्रबारसम्म नमूना परीक्षण हुन सकेको थिएन । सुर्खेतमा पीसीआर परीक्षण सम्भव नभएपछि संकलित स्वावलाई परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला पठाइएको थियो । त्यहाँ पनि समयमै परीक्षण हुन सकेन । बरु शनिवार ति युवाको मृत्यु भएपछि मात्र स्वाब परीक्षण गरियो र मृत्युको झण्डै ११ घण्टापछि मात्रै कोरोना संक्रमण पुष्टि भयो । समयमै परीक्षण नगरेर क्वारेन्टाइनमै थुनेर राख्दा मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । समयमै परीक्षण नगरेर क्वारेन्टाइनमै थुनेर राख्दा मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । समयमै परीक्षण गरेर उपचार गरिदिएको भए उनको ज्यान जोगिने आफन्तको भनाइ छ ।

दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले पनि मृतकको स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताए । ‘कोरोनाको कुनै लक्षण नै देखिएको थिएन, विहान चिया विष्कुट खाएर हिँडडुल गरिरहेका थिए, एक्कासी मृत्यु भयो’ भण्डारीले भने, ‘हामीले त प्रेसरको समस्याले मृत्यु भयो कि भन्ने ठानेका थियौँ, तर कोरोनाले भएको देखियो ।’ ‘बिहीबार नै स्वाब संकलन गरेका थिए, मृत्यु भएपछि मात्र रिपोर्ट आयो, समयमै परीक्षण गरेको भए उनलाई बचाउन पो सकिन्थ्यो कि ?’ मेयर भण्डारीले भने, ‘भारतबाट आएका सबैको तत्काल पीसीआर परीक्षण गर्न नसके नागरिक बचाउन गाह्रो हुने देखियो ।’

‘हतियार विनाका सिपाही भयौं’
कोरोनाको संक्रमण जोखिम बढ्दै गर्दा प्रदेशको सबैभन्दा महत्वपूर्ण निकायले भने आफूहरु हतियार विनाका सिपाही जस्तो भएको प्रतिक्रिया दिएको छ । ‘संक्रमित ठाउँबाट एक्कासी हजारांै नागरिक गाउँ फर्किए, नागरिकको तुलनामा परीक्षण गर्ने मेसिन र किटको अभाव खट्कियो’ कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले भनिन्, ‘एकैपटक सबै नागरिकको पीसीआर परीक्षण सम्भव छैन, तर कर्णाली प्रदेशले नै सबैभन्दा बढी परीक्षण गरेको छ ।’

बेलाबेलामा किटहरुको अभाव हुँदा स्वास्थ्यकर्मीहरु हतियार विनाका सिपाही जस्तो भएको उनको भनाइ छ । उसो त लकडाउन भएको झण्डै ५२ दिनपछि प्रदेश अस्पताल सुर्खेतले किट खरिदका लागि टेन्टर आह्वान गरेको थियो । कोरोना त्रासपछि लकडाउन भएको आज ६९ दिन पुग्दा पनि कर्णाली प्रदेशले टेन्डर गरेको किट आइपुगेको छैन । टेन्टर गरेको किट आउन तीन/चारदिन लाग्ने निर्देशनालयको भनाइ छ । शनिबार मात्रै कर्णाली प्रदेशका लागि संघीय सरकारले एकहजार किट पठाएको छ ।

हप्तामा भित्रिए २२ हजार नागरिक
अहिले देशभर कोरोना भाइरसको त्रास छ । संक्रमित ठाउँबाट गाउँ फर्कनेदेखि सबै नागरिकहरु त्रसित छन् । हालसम्म कर्णाली प्रदेशमा देखिएका सबै संक्रमितहरु भारतबाटै आएका हुन् । तर कोरोना परीक्षण भने न्यून देखिएको छ । पछिल्लो एक हप्तामा मात्रै झण्डै २२ हजार नागरिक कर्णालीमा भित्रिएका छन् । उनीहरुमध्ये झण्डै १० प्रतिशतको मात्रै पीसीआर परीक्षण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीका अनुसार पछिल्लो एक सातामा २२ हजारभन्दा बढी नागरिक गाउँ फर्किएका छन् । प्रहरीको तथ्याङ्क अनुसार जेठ ८ गते यता कर्णालीमा दैनिक दुईहजारभन्दा बढी नागरिक गाउँ भित्रिएका छन् । तर भारतबाट फर्किएका नागरिको नमूना परीक्षण भने निकै न्यून देखिएको छ ।

दैनिक दुईहजार परीक्षण नभए महामारी थेग्न सकिदैन
डा. केएन पौडेल
प्रदेश अस्पताल, सुर्खेत
भारतबाट गाउँ फर्कने नागरिकको संख्या बढेसँगै परीक्षणको दायरा बढाउनुपर्ने चिकित्सको सुझाव छ । ‘अब दैनिक दुईहजार जनाको स्वास्थ्य परीक्षण गर्न सकिएन भने अवस्था भयावह हुन्छ, महामारीलाई थेग्नै सकिदैन’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले भने, ‘समुदायसम्म कोरोना फैलिन नदिन भारतबाट आएका सबैको अनिवार्य चेकजाँच गर्नुपर्छ ।’
भारतबाट आएकाहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताउँदै उनले १४ दिनअघि नै पीसीआर परीक्षण सक्नुपर्ने बताउँछन् । तर हालको अवस्था त्यो नहुँदा समस्या भएको उनले बताए । यता कर्णाली प्रदेश स्वास्थ विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाले भने कोरोना परीक्षणमा सुर्खेतको स्वास्थ्यकर्मी टोलीलाई सघाउन तयार रहेको जनाएको छ । ‘क्वारेन्टाइनमा रहेका सबैलाई तत्कालन परीक्षण गर्न सकिएन भने अवस्था जटिल हुन्छ’ प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले भने, ‘प्रदेशले थप पीसीआर मेसिन पनि थपोस्, हामी जनशक्ति खटाउन तयार छौँ ।’ साविकको कर्णाली र दैलेखमासमेत प्रतिष्ठानका स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिँदै उनले प्रदेश अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीसँग सहकार्य गरेर जनशक्ति पठाउने बताए ।

तयारी फितलो, भयावहको संकेत
जेठ २ गते कर्णाली प्रदेश सरकारले भारतबाट नागरिकहरु उद्दार गर्ने निर्णय ग¥यो । जेठ ३ गतेदेखि नागरिकहरु गाउँ फर्कन थाले । जेठ ५ गते कर्णालीमा पहिलो कोरोना संक्रमति भेटिए । बैशाख महिनासम्म संक्रमित भेटिएका छैनन् भनेर ढुक्क बनेको प्रदेश सरकारको तयारी सुस्त हुँदाको परिणाम अहिले देखिन थालेको छ ।

पहिलो कोरोना संक्रमतिलाई आइसोलेसनसम्म ल्याउनै २४ घण्टा लाग्यो । कोरोना संक्रमितलाई कहाँ राख्ने भन्ने ठाउँ नै एकिन नहुँदा क्वारेन्टाइनबाट २४ घण्टापछि मात्रै आइसोलेसनमा राखियो । संक्रमण पुष्टि भएको २४ घण्टासम्म उनी साथीहरुसँगै क्वारेन्टाइनमा बसेका थिए । दैलेखको आइसोलेसनमा पनि संक्रमित बस्न चाहेनन् । हाल संक्रमितको प्रादेशिक अस्पताल सुर्खेतको आइसोलेसनमा उपचार गराइ रहेका छन् ।

त्यस्तै जेठ १५ गते भारतबाट गाउँ फर्कंदै गरेका सुर्खेत चिङगाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकाय बीचबाटोमै अकस्मात विरामी भए । भारतबाट गाउँ फर्कदै गरेका उनी बबइैमा थला नै परे । आफन्तले तत्काल अस्पताल लैजान एम्बुलेन्स मगाए । तर भारतबाट फर्किएका नागरिक थाहा पाएपछि एम्बुलेन्स लिन गएनन् । एम्बुलेन्स नआएपछि बसले नै अस्पतालसम्म पु¥यायो । तर कोरोना संक्रमितको आशंकामा त्यहाँ पनि उनले उपचार पाउन सकेनन् । अन्ततः अस्पतालमै उनको मृत्यु भयो ।

कोरोना आशंकामा उपचार नपाएका मृत्यु भएका ति युवाको रिपोर्ट भने नेगेटिभ आयो । यो घटनाले पनि संक्रमितलाई डाक्टर हरुले उपचार गर्न डराउने र सरकारले पनि संक्रमितका लागि आवश्यक पर्ने एम्बुलेन्स समेत तयारी हालतमा नराखेको पुष्टि गर्छ । त्यतिमात्र होइन, प्रदेश सरकारले पीसीआर परीक्षणलाई गति दिन सकेको छैन । मृत्युपछि मात्र परीक्षण गर्ने सरकारी कार्यशैलीले कर्णालीमा अवस्था अरु भयावह हुने संकेत देखिएको छ । (२०७७ जेष्ठ १८ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया