कोरोनाबाट कर्णालीमा एक जनाको मृत्यु, ७८ जना संक्रमित

सुर्खेत, १७ जेठ ।
दैलेखको दुल्लुस्थित किर्तीखम्बमा रहेको क्वारेन्टाइनमा मृत्यु भएकायुवाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिवार गरिएको स्वाब परीक्षणमा मृत्यु भएकायुवाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।  सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवाको रिपोर्ट पोजेटिभ आएको पुष्टी गरे ।

उनका अनुसार दुल्लु नगरपालिका–११ कालभैरव घर भएका ३५ वर्षीय युवा भारतको गुजरातबाट केहीदिन अघि फर्किएका थिए । दुल्लु नगरपालिका–७ किर्तीखम्बस्थित रहेको क्वारेन्टाइनमा बसिरहेका युवा विहानको खाजा खाएर सुतेका केही समयमा उनी मृत भेटिएका थिए । किर्तीखम्बस्थित क्वारेन्टाइनमा बसेका उनीसहित७९ जनाको स्वाब संकलन गरेर पठाएको दुल्लु नगरपालिका मेयर घनश्याम भण्डारीले जानकारी दिए ।

‘पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी सुर्खेत पठाएको थियौं’ मेयर भण्डारीले भने, ‘सुर्खेतमा चाप भएपछि परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको रहेछ, तीन दिनपछि उहाँको रिपोर्ट आयो ।’ श्रीमति सहित एक छोरा एक छोरी रहेका युवा रोजगारीका लागि भारतबाट फर्केपछि सिँधै नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेको भण्डारीको भनाई छ । ‘उहाँमा कुनै लक्षण देखिएको थिएन् एक्कासी विहान मृत्यु भयो’ भण्डारीले भने, ‘अस्पताल लैजादै गर्दा उहाँको मृत्यु भयो, अन्त्यष्टी गर्ने तयारी गरिरहेका छौं ।’ मृत्यु भएका युवासँग तीन जना एउटै कोठामा बस्दै आएका थिए । कर्णालीमा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ ।

तपाईको प्रतिक्रिया