कपुरकोटमा कृषिमा यन्त्रीकिकरण बढ्दै

सल्यान, १६ जेठ ।
पछिल्लो समय सल्यानमा कृषिमा यन्त्रीकिकरण बढ्दै गएको छ । यहाँका स्थानीय तहहरुले समेत कृषिको यन्त्रीकिकरणमा बढी जोड दिएका छन् । परम्परागत रुपमा कुटो, कोदालो गर्ने र हलोले जोत्ने किसानहरु यतिबेला मेसिनरी सामाग्रीको प्रयोग गर्ने भएका छन् ।  किसानहरुको मागको आधारमा जिल्लाको कपुरकोट गाउँपालिकाले थ्रेसर, मिनि टिलर अनुदानमा वितरण गरेको छ ।

साथै ब्यवशायीक पशु पालनमा लागेका किसानलाई च्याप कटर समेत वितरण गरेको गाउँपालिकाका आर्थिक विकास समिति संयोजक तथा गाउँपालिकाका प्रवक्ता यम कुमार वस्नेतले जानकारी दिए । २४ वटा मिनि टिलर र १० वटा थ्रेसर र ४ वटा च्याप कटर वितरण गरिएको उनले जनाए ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु सेवा शाखा तर्फको ५० प्रतिशत अनुदान र किसानको २५ प्रतिशत रकम जुटाएर च्याप कटर वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले चार थान च्याप कटर ब्यवशायीक पशुपालन गर्ने किसानहरुलाई वितरण गरेका हुन् । ४७ हजार रुपैयाँ पर्ने च्याप कटरमा गाउँपालिकाले ३५ हजार २५० र किसानले ११ हजार ७५० रुपैयाँ ब्यहोरेको पशु विकास शाखा प्रमुख अरुणा भण्डारीले जानकारि दिइन् ।

यस्तै ५० प्रतिशत अनुदानमा २४ वटा मिनि टिलर र १० वटा थ्रेसर पनि गाउँपालिकाले आधिकारिक रुपमा दर्ता भएका किसान समुह र फर्मलाई वितरण गरेको छ । मिनि टिलर अनुदानमा पाएपछि मनकामना कृषि फर्म कपुरकोट–४ गाँडापानिका कृषक किरण कठायतले कृषि क्षेत्रमा भित्रिएको यान्त्रीकरणले आफूजस्ता कृषकहरुलाई अति नै फाइदा भएकोले उत्पादन लागत घट्ने र उत्पादन बढ्ने विश्वास ब्यक्त गरे ।

उनले अहिले आफुले २ रोपनि जमिनमा ब्यवशायीक रुपमा तरकारी खेती गरिरहेको जानकारि दिए । यस्तै गहुँ दाउने थ्रेसर प्राप्त गरेका हिमचुली कृषक समूह कपुरकोट १ गर्पाका अध्यक्ष नर बहादुर सुनारले गाउँपालिकाले कृषकका लागि उपयोगि कार्यक्रम ल्याएको बताए । कृषि क्षेत्रलाई समय सापेक्ष यन्त्रिकरण गर्न आवश्यक रहेको भन्दै गाउँपालिका अध्यक्ष सेनले कृषिमा उत्पादनमा यान्त्रीकिकरण र विषदीको न्युनिकरणमा जोड दिइएको बताए ।

बाली रोप्ने, काट्ने तथा प्रशोधनमा समेत प्रविधिको प्रयोग गर्दा बढी भन्दा बढी फाईदा लिन सकिने उनको भनाई छ । सूचना प्रकाशित गरेर निर्धारित समयभित्र परेका निवेदनहरुबाट स्थलगत अनुगमन गरेर किसानको छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया