चौरजहारी घटनामा पाचौँ शव फेला, १८ जना पक्राउ

जाजरकाेट, १५ जेष्ठ ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदिमा हाम फालेर बेपत्ता भएकामध्ये थप एक युवाको शव बिहीबार फेला परेको छ । हालसम्म यो घटनामा पाँच जनाको शव फेला परेको छ। गोविन्द शाही अझै बेपत्ता छन् । शसस्त्र प्रहरीको गोताखोर टोलीले सन्जु विकको शव बिहीबार फेला पारेको हो । जाजरकोट छेडागाड नगरपालिका– ५ कालेभिरमा जाजरकोट भेरी नगरपालिका–४ बस्ने १९ वर्षीय सन्जुको शव भेटिएको हो ।

यसअघि गोताखोरले बुधबार लोकेन्द्र सुनारको शव फेला पारेको थियो । लोकेन्द्रको शव घटनास्थलभन्दा करिब ७ किलोमिटर पर चौरजहारी नगरपालिका–१ अधेरेस्थित भेरी नदिमा भेटिएको थियो । गोताखोरले बुधबारदेखि बेपत्ताको खोजी सुरु गरेको थियो । जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना लिएर शनिबार साँझ सोती पुगेका थिए ।

उनीहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेको र त्यसक्रममा केहीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरि नदीमा फ्याँकेको र केहीले भेरीमा हाम फालेको मृतक युवक पक्षहरुको दावी छ । नवराजको शव सोही दिन राती १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा रहेको भेरी नदिको पुलमुनी भेटिएको थियो । अर्का युवकको शव आइतबार दिउँसो सल्यानस्थित भेरी नदि किनारमा भेटिएको थियो ।

अर्का एक युवकको शव सोमबार भेरी नदिमै भेटिएको थियो । यस घटनामा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ । प्रहरीले युवतीका बुबाआमा र वडाध्यक्षसहित १८ जनालाई पक्राउ गरेको छ । यसअघि १२ जना पक्राउ परेकामा बिहीबार थप ६ जना पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया