कोरोना नियन्त्रणमा सेना खटाउन स्वीकृति मागियो

सुर्खेत, १५ जेष्ठ ।
कर्णालीमा कोरोना संक्रमण बढ्दै गएपछि प्रदेश सरकारले नेपाली सेना परिचालन गर्नुपर्ने निस्कर्ष निकालेको छ । भारतबाट ठूलो संख्यामा कर्णालीबासी भित्रिन थालेको र कोराना महामारी थप फैलिन थालेको भन्दै प्रदेश सरकारले यसको रोकथाममा सेना परिचालन गर्नुपर्ने अवस्था आएको जनाएको छ । यसका लागि सेना परिचालन गर्नका लागि स्वीकृति दिन पनि केन्द्र सरकारसँग माग गरिएको हो ।

कोरोनाको संक्रमण फैलिदै गएपछि संक्रमितको उद्दार, क्वारेन्टाइनको सुरक्षा तथा व्यवस्थापन र अन्य प्रतिकार्यमा सेना परिचालन गर्ने अधिकार मागिएको कर्णाली प्रदेश सरकार प्रवत्ता विमला केसीले जानकारी दिइन् । उनका अनुसार सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । सोही निर्णयहरु सार्वजनिक गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री केसीले यस्तो जानकारी दिएकी हुन् ।

कोरोना अन्त्य नहुँदासम्म प्रदेशलाई नै सेना परिचालनको अधिकार दिन संघीय सरकारसँग स्विकृति माग गरेको उनले बताइन् । ‘प्रदेशमा संक्रमित बढ्दै गएका छन्, गाउँका क्वारेन्टाइनमा सुरक्षा दिन सकिएको छैन’ मन्त्री केसीले भनिन्, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मात्रै सुरक्षा र प्रतिकार्य सम्भव नभएपछि आवश्यक परेको खण्डमा सेना परिचालन गर्न दिन केन्द्र सरकारसँग स्विकृति माग गरेका छौँ ।’ प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जनशक्ति कम भएकै कारण गाउँका क्वारेन्टाइनमा सुरक्षा दिन नसकेको उनको भनाइ छ । प्रहरीले अन्य सुरक्षामा खट्नुपर्ने भएकाले पनि कोरोना नियन्त्रणमा सेना परिचालन आवश्यक रहेको सकारको भनाइ छ ।

कर्णालीमा सातदिन सार्वजनिक विदा
कर्णाली प्रदेश सरकारले यो वर्ष सातदिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कर्णालीमा धान दिवसदेखि विभिन्न चाडपर्वमा विदा दिने निर्णय गरेको हो । धान दिवसमा जुम्लामा चैत १२ गते र अन्य जिल्लामा असार १५ गते विदा दिने निर्णय गरेको छ ।

यस्तै साउन १ गते साउने सक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना दिवस, माघ १ गते माघे सक्रान्ति र चैते दैशैंको दिन प्रदेशभरी विदा दिने निर्णय गरेको छ । त्यस्तै चन्दनाथ मन्दिको लिंगो बोक्ने मेलामा अर्थात असोज कृष्णत्रयोदशीका दिन जुम्ला जिल्ला र भत्तोलो ल्होसारका दिन प्रदेशभर सम्बन्धित समुदायले सार्वजनिक विदा पाउने भएका छन् ।

उपचार नपाउँदा मृत्यु
भारतबाट गाउँ फर्कंदै गरेका सुर्खेतको चिङगाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकाय बीच बाटोमै अकस्मात विरामी भए । गाउँ फर्कदै गरेका उनलाई बबईमा विरामले च्याप्दै गयो । प्रत्यक्षदर्शी हरिबहादुर खत्रीका अनुसार भारतबाट आएका कारण न उनले एम्बुलेन्स पाए, न त औषधि उपचार नै ।

अन्ततः समयमा उपचार नपाएकै कारण उनको मंगलवार राती मृत्यु भयो । ‘मंगलबार राती कर्णाली प्रदेश भित्रने मुख्य नाका बबईमा करिब सात बजे गाडीमा बान्ता गरेका थिए, हामीले गाडीमा बसेर बान्ता आएको होला भनेर वास्ता गरेनौं, पछि भेरी पुलमा आएपछि छटपटाए’, खत्रीले भने, ‘सुब्बाकुना चेकपोष्टमा पुगेर एम्बुलेन्सलाई फोन गर्दा एम्बुलेन्सले मानेनन्, हामीले फोन गर्दा एम्बुलेन्स आउन नमानेपछि चेकपोष्टका असईसापलाई फोन गर्न आग्रह गर्यौं । असई सापले पनि दुइ वटा एम्बुलेन्सलाई फोन गर्नुभयो, इण्डियाबाट आएको भनेपछि एम्बुलेन्स आउनै मानेनन् ।’ प्रहरीले अनुरोध गर्दासमेत एम्बुलेन्स नआएपछि बसले नै प्रदेश अस्पतालसम्म लगिदिएको थियो । तर अस्पतालमा पनि जाँच नै गर्न नपाई उनको मृत्यु भयो । मृतकका आफन्तले अस्पताल पुरयाएको दुई घण्टापछि बिरामीको मृत्यु भएको जनाएका छन् ।

खत्रीले भने, ‘अस्पताल ल्याएको बेला बिरामीको मुखबाट फिँज आइरहेको थियो, हामीलाई गेटभित्र नै छिर्न दिइएन, पछि स्कुटरमा आएका डाक्टरले छाती छाम्न लगाए र मृत्यु भइसकेको बताए ।’ यद्यपी प्रदेश अस्पतालले भने स्वास्थ्य चेकजाँच गर्नुअघि नै उनको मृत्यु भइसकेको दाबी गरेको छ । कोरोना आशंका गरिएका मृतक विरेन्द्रको रिपोर्ट भने नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया