खर्च तिर्न नसक्ने बिरामीले डोको र दाउरा दिन्थे

राजेश बुढा
प्रमुख, स्वास्थ्य शाखा, भेरीगंगा नगरपालिका, सुर्खेत
स्वास्थ्य क्षेत्र नाम र दाम दुबै भएको पेशा हो । यो पेशाबाट जसरी समाजको माया र सम्मान पाइन्छ, त्यसैगरी आकर्षक आम्दानी पनि गर्न सकिन्छ । तर स्वास्थ्य पेशामा संलग्न सबै स्वास्थ्यकर्मीले आम्दानी मात्रै कहाँ हेर्छन् र ? ‘सेवा नै धर्म हो’ भनेझै गरे राजेश बुढाले पनि । बुवा मनबहादुर र आमा सुन्तला बुढाबाट विस २०२६ चैत १२ गते महावु गाउँपालिका वडा–३ जर्नेटीटोल दैलेखमा जन्मिएका उनले करिव दशवर्ष समाजको सेवा गरे । २०५३ सालअघि दिनभरी स्कूलमा पढाउने र त्यही तलवले साँझ विहान मेडिकल चलाए । मेडिकलबाट आम्दानीको आश गरेनन्, बरु शिक्षकको तलवबाट औषधिहरु किन्दै गरिव र बेसाहराको सेवामा खटिए । तर आफू आर्थिक संकटमा परेका पत्तै पाएनन् । जब आर्थिक संकटले घरखर्च चलाउनै मुस्किल भयो, अनि उनले जीवनको बाटो नै मोडे । र स्थायी शिक्षक पेसा छोडेर स्वास्थ्य क्षेत्रमै होमिए । हाल सुर्खेतको भेरीगंगा नगरपालिकामा स्वास्थ्य शाखाको प्रमुख रहेका उनै राजेश बुढासँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको शारांस :

दैलेखबाट किताव किन्न सुर्खेत
म मध्यम परिवारमा जन्मिएँ । आर्थिक संकट थिएन । बुवा तत्कालिन गाउँ पञ्चायतको उपप्रधान हुनुहुन्थ्यो । तर पनि अध्ययन गर्न शहरमा झरिन । बालापन गाउँमै वित्यो । २०३३ सालदेखि मालिका प्रावि बाँसी (हालमावि) बाट शिक्षा सुरु गरँे । कक्षा ६ देखि ८ सम्म हिमालय मावि डाँडीमाडी, ९ देखि एसएलसीसम्मको अध्ययन त्रिभूवन मावि दैलेख बजारबाट पुरा गरेँ । ऊबेलाको विद्यार्थी जीवन अहिलेको जस्तो सहज थिएन । ६ कक्षाभन्दा पहिले पुराना किताव किनेर काम चलाउथ्यौँ ।

अघिल्लो कक्षाका साथीहरुले किताव बिक्री गर्न पहाडी कागजले गाता (खोल) हालेर राखेका हुन्थे । त्यही किताव पढियो । कक्षाबाट ६ मा गएपछि जीवनमा पहिलो पटक नयाँ किताव किनेको हुँ । ऊबेला गाउँमा कापि कितावहरु पाइन्थेन । साथीहरुसँगै दुईदिन हिँडेर किताव किन्न सुर्खेत आएका थियौँ । पीपल चौतारा अगाडि पुस्तक पसलहरु थिएँ । त्यही पिपलचौरा भात पकाएर खान्थ्यौँ । एकसेट किताव र एक दर्जन कापी किनेर घर फर्कन्थ्यौँ । तर उबेलाको पढाइ राम्रो थियो । म कक्षामा कहिले प्रथम, कहिले दोस्रो हुन्थेँ । २०४३ सालमा एसएलसी पासगत्तै मालिका प्राविमै शिक्षक भएँ ।

पञ्चायत विरोधी आन्दोलनमा होमिदा…
२०४५ सालमा पञ्चायतविरुद्धको आन्दोलनको आँधिबेरीमा आउँदै थियो । त्योबेला म सुर्खेत झरेको थिएँ । तत्कालिन सीएमए क्याम्पस, वीरेन्द्रनगर बहुमुखि क्याम्पस र सुर्खेत क्याम्पस (शिक्षा) बाट पञ्चायविबरोधि आन्दोलनको अगुवाई गरेँ । सीएमए क्याम्पसको स्ववियु सचिव भएको नाताले म नै आन्दोलन तयारी समितिको अध्यक्ष थिएँ । २०४६ सालमा पञ्चायतविरोधि आन्दोलन भयो । सीएमए अध्ययन पुरा भयो । पुनः गाउँमै फर्किएर अध्यापन गराउन थालेँ । करिव दश वर्ष शिक्षक पेशामा विताए । सोही समय साँझ–विहान गाउँका विरामीहरुलाई औषधि उपचार गर्न थालेँ ।

पैसा नहुने बिरामीले भाले लैजाऊ भन्थे
त्रिभूवन विश्वविश्द्यालय अन्तरगत चिकित्सा शिक्षा अध्ययन संस्थानमा सीएमए अध्ययन गर्ने गाउँकै पहिलो व्यक्ति हुँ । तर सीएमएभन्दा माथिल्लो पढाइ गर्न रुचि भएन । बरु शिक्षकको जागिर खाँदै मेडिकल चलाउन थालँे । चाहेको भए त्यो समय धेरै पैसा कमाउन सकिन्थ्यो । शिक्षकको तलव महिनाको ६ सय हुन्थ्यो । तर एउटै सलाइन चढाएको पाँचसय लिने चलन थियो ।


तर मैले त्यसो गरिन् । बरु उल्टै ज्वाई, श्रीमति, र आफ्नो शिक्षकको तलव बुझेर औषधि किन्थेँ । त्यो औषधिले गाउँका जनताको सेवा गर्न थाले । अधिकाँश नागरिकहरु गरिव थिए । मैले नगद नलिने, जिन्सी लिएर पनि औषधि उपचार गरेँ । हुनेले बाँझो बारी लैजा भन्थे । कतिले दिन्थे पनि । घरमा भाले (कुखुरा) हुनेले भाले र बाख्रो हुनेले बाख्रो दिएर पनि उपचार गरेँ । घरमा भालेसमेत नहुनेले माउको अण्डा खुवाएर पठाउँथे । केही नहुनेले त दाउरा दिएर पनि औषधि उपचार गर्थे । यसरी नै दश वर्ष वितेको पत्तै भएन । अरुलाई उपचार गर्दागर्दै आफू चरम आर्थिक संकटमा परेँ । मध्यम परिवारको मान्छे घर खर्च चलाउनसम्म धौधौ भयो । एकातिर शिक्षकको राजनीति । अर्काेतिर निशुल्क औषधि उपचार । अन्ततः मेडिकल छोडे, शिक्षक पेशाबाट विदा भएँ ।

अनि एम्बुलेन्स सञ्चालनमा ल्याऔंँ…
आर्थिक संकट पर्दै गएपछि मेडिकल र शिक्षक पेशा त्यागँे । शिक्षकभन्दा स्वास्थ्यकर्मी भएर धेरै सेवा गर्न भन्ने सोचँे । स्वास्थ्य क्षेत्रलाई मानविय सेवाको धर्मका रुपमा बुझँे । अन्ततः २०५३ सालमा आयोग खुल्यो । त्यसपछि सरकारी स्वास्थ्यकर्मीको अर्काे अध्याय सुरु भयो । त्यसपछि जीवनको दोस्रो अध्याय सुरु भयो । लकान्द्रा स्वास्थ्यचौकी दैलेखबाट सुरु भयो अहेवको जागिरले सुर्खेत, रोल्पा, रुकुम, प्युठान, गोर्खा, हुम्ला लगायतका विभिन्न जिल्लामा हुँदै अहिले भेरीगंगा नगरपालिकाको नगरस्वास्थ्य शाखा प्रमुखको बनायो ।

स्वास्थ्यकर्मी भए पनि सधै सत्ता र शक्तिकै वरि परी रहेँ । विभिन्न कालखण्डमा नेपाली काँग्रेसका सरकारहरु बने, साथीहरु नै स्वास्थ्य मन्त्रीहरु थिएँ । सुर्खेतकै हकमा पनि रजेना, आग्रीगाउँ र नेटा जस्तो ठाउँमा पुगेर काम गरेँ । लामो समय स्वास्थ्यकर्मी संघ सुर्खेतको अध्ययक्ष भएँ । अहिले पनि कर्मचारी युनियनको अध्यक्ष छु । तर सत्ता र शक्तिमा दुरुपयोग गरिन । बरु मन्त्री र सांसदहरुलाई भनेर दुर्गमका स्वास्थ्य चौकीका भवनहरु र अन्य उपकरणहरुको व्यवस्था गर्नुपर्छ भनेर लागेँ । मेरो पहलमा (साविकको उत्तरगंगा र वीरेन्द्रनगर बाहेक) साढे नौं सय स्वयमसेविकाले स्टेचर पाए । जसले सुत्केरी आमाहरुलाई अस्पतालसम्म ल्याउन ठूलो सहयोग पुगेको छ । राज्यले गर्न नसक्ने निःशुल्क हाइड्रोसिल र हर्निया र आँखा शिविरहरु चलायौंँ । दुर्गमका विरामीहरुले समयमै उपचार नपाएका कारण अकालमै मृत्युको मुखमा पुग्न परेको छ । यही समस्यालाई ध्यानमा राख्दै स्वास्थ्यकर्मीबाट दश हजारका दरले रुपैयाँ उठाएर स्वास्थ्यकर्मी संघले एम्बुलेन्स सेवा सुरु गरेको हो । विरामी बचाउन र स्वास्थ्य क्षेत्रको सुधारका लागि गरिएका प्रयासहरु थुप्रै छन् । स्वास्थ्य क्षेत्रमा लागेर जीवनको धेरै समय समाज सेवामा विताएँ । अवकाशपछि पनि सामाजिक सेवामै रमाउने मन छ ।

दुर्गमका अस्पताल सुधार गरौं
दुर्गका नागरिकले अझै जीवनजल र सिटामोल पाउन सकेका छैनन् । यसो हुनुको पछाडि जनशक्ति अभाव र नीतिगत अभाव अभाव छ । सरकारले नै निजी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको छ । दिन प्रतिदिन सरकारी शिक्षण संस्थाहरु धरासायी हुन थालका छन् । जसले गर्दा दक्ष जनशक्ति उत्पादन हुन सकेनन् । अहिले पनि डोल्पा, हुम्ला जस्ता ठाउँबाट सुत्केरी हुन सुर्खेत वा नेपालगञ्ज पुरयाउनुपर्छ ।

हेलिकोप्टर चार्टर्ड गर्नुको सट्टा जिल्ला सदरमुकाममै औषधि उपकरणहरु र थप सेवा सुविधा दिएर जनशक्तिलाई खटाउनु पथ्र्याे । तर सरकारसँग नीतिगत सुधारको अभाव छ, जाने बुझेकाहरु हेलिकोप्टरबाट कमिसन खाने र व्यापारिकण गर्ने लागेका छन् । परिणामत न दुर्गका स्वास्थ्यचौकीहरु सुध्रिन सक्ने अवस्था छैन । अब पनि दुर्गमका सरकारी स्वास्थ्य संस्थालाई सुधार्ने होइन भने गरिव र दुर्गका नागरिकहरुले सिटामोल र जीवनजल नपाएर मर्नुपर्ने अवस्थाको अत्य हुनेछैन । भुगोलमैत्री स्वास्थ्य नीति नआउँदासम्म, विशेष सुविधा दिएर दुर्गमका डाक्टरहरु जनताले उपचार पाउने छैनन् ।

बिर्सन नसकिने केही क्षणहरु
आजभन्दा झण्डै ३० वर्षअघिको कुरा । मेटासिट (बिस) खाएको मान्छेलाई उपचार गरेँ । उपचार गर्न करिव दशदिन जति लाग्यो । ६ सय तलव खाने बेलामा मैले दश हजारभन्दा बढीको औषधि बिक्री गरेँ । तर उसको बुवाले मलाई पैसा दिन सकेनन् । उपहार भनेर इन्डियाबाट ल्याएर कोट दिए मलाई । अन्ततः दश हजारको औषधि गरेर कोट ल्याएर घर फर्किएँ । त्यस्तै अर्काे घटना पनि रोचक छ । घरभन्दा ८÷९ घण्टाको टाढाबाट रुखबाट खसेको मान्छेलाई बचाउनु प¥यो भन्दै लिन आए । तर उपचार गरेर बचाउन सकिने अवस्था थिएन । काठमाडौं, नेपालगञ्ज लैजान सल्लाह दिएँ । आर्थिक अभावका कारण बाहिर लिन सकेनन् । मैले बचाउन तीन दिनसम्म उपचार गरेँ । पैसा भने लिइन । तर फर्कदा एउटा डोको र दुई वटा फराइ हात पारिदिए । जुन मेरो जीवनमा बिर्सन नसकिने क्षणहरु हुन् । (२०७७ जेष्ठ ११ गते अाइतबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित साताको राष्ट्रसेवक)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार