कर्णालीमा संक्रमणलाई पहिलो चरणमै रोक्न सकिएला त ?

सुर्खेत, १४ जेष्ठ ।
कर्णालीमा मंगलवार साँझसम्म कोरोना संक्रमितको संख्या २३ पुगेको छ । सुर्खेतमा एकैदिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा संक्रमितको संख्या बढेको हो । प्रदेशका दुई जिल्ला सुर्खेत र दैलेखमा भित्रिएको कोरोना समुदायसम्म पुगेको छैन । हाल सुर्खेतमा देखिएका १५ र दैलेखमा देखिएका आठै जना भारतबाट भित्रिएका हुन् । उनीहरुलाई नाकामै आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि निगरानीमा राखेर पीसीआर परीक्षण गरिएको हो । पुष्टि भएसँगै उनीहरुलाई आइसोलेशनमा भर्ना गरिएकाले संक्रमितहरु समुदायसम्म पुग्न नपाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलवार सुर्खेतमा नयाँ संक्रमित हुनेहरुमा नौं वर्षिया बालिकादेखि ४९ वर्षे बृद्धसम्म छन् । जसमध्ये वीरेन्द्रनगरका ८ जना (वडा नं. १ र २ का क्रमश १६, ९, २०, ३२, ३६ वर्षे पुरुष, वीरेन्द्रनगर २ कै ३२ वर्षिया महिला, वडा नं. ३ का ४६ वर्षे र वडा नम्बर ६ का २६ वर्षे पुरुष) संक्रमित भेटिएका हुन् । त्यस्तै भेरीगंगा नगरपालिमा वडा नम्बर ८ का १७ र १६ वर्षे दुई पुरुष र सिम्ता गाउँपालिका वडा नम्बर ४ का ३५ र ४९ वर्षे पुरुषहरु गरी कुल १२ जनामा एकैदिन कोरोना पुष्टि भएको हो । यसअघि सुर्खेतमा ३ र दैलेखमा ८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । योसँग कर्णाली प्रदेशमा कोरोना संक्रमतिको संख्या २३ पुगेको हो । २३ जना संक्रमित मध्ये दैलेखका एक जनासहित सुर्खेतका १५ जनाको कोरोना विशेष अस्पताल कालागाउँ र दैलेखका सात जनालाई सरस्वती माध्यमिक विद्यालयमा दैलेखको आइसोलेशन कक्षमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

साथै उनले प्रदेशमा देखिएका संक्रमित कोही पनि समुदायमा नपुगेको जनाए । भारतबाट आएकाहरुमा मात्र संक्रमण देखिएको र प्रदेशभित्रै एक जनाबाट अर्कोमा संक्रमण भइनसकेकाले कर्णालीमा संक्रमण पहिलो चरणमै रहेको चिकित्सकहरुको भनाइ छ । बाहिरबाट भित्रिएका संक्रमितबाट समुदायमा संक्रमण भएको अवस्थालाई दोस्रो चरणका रुपमा लिइन्छ । सामान्यतया पहिलो चरणमा संक्रमण कोबाट सरेको भन्ने थाहा हुन्छ । तर संक्रमणको दोस्रो चरण भनको जटिल हुन्छ, यो चरणमा कोबाट कसलाई संक्रमण भयो भन्ने एकीन गर्न सकिदैन । विज्ञहरुका अनुसार संक्रमितको मृत्यु हुने अवस्थालाई तेस्रो चरणका रुपमा लिइन्छ । प्रदेश सरकारले भने कर्णालीमा संक्रमणलाई पहिलो चरणमै रोक्ने वा नियन्त्रणमा लिने रणनीति अपनाइएको जनाएको छ ।

‘पहिलो चरणमै रोक्न अनिवार्य आरडीटी परीक्षण’

प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा एकैदिन आठ जनामा कोरोना संक्रमित देखिए । यद्यपी उनीहरु पनि भारतबाट भित्रिएका नागरिक हुन् । नगरभित्रै संक्रमण फैलिएको अवस्था छैन । नगरभित्र अरु पनि भारतबाट आउने सम्भावना र संक्रमण समुदायमा फैलिने जोखिम कायमै छ । हाल पहिलो चरणमै रहेको संक्रमणलाई दोस्रो चरण अर्थात समुदाय स्तरमा फैलिन नदिन नगरपालिकाले विशेष सावधानी अपनाएको छ । यसका लागि नगरपालिकाले सबै वडामा कोरोना रोकथाम समिति र नगरमा भारतबाट भित्रिएका सबै नागरिकहरुलाई अनिवार्य रुपमा आरडीटी परीक्षण गर्न सुरु गरेको छ ।

कार्यबहाक मेयर मोहनमाया ढकालका अनुसार जुनसुकै ठाउँबाट फर्किएका नागरिकको आरडीटी परीक्षण गर्ने र पोजेटिभ देखिएकाहरुलाई खुलामञ्चको क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गर्ने रणनीति तयार पारेको छ । ‘भारतबाट वीरेन्द्रनगरमा आएका तीनसय ४४ जना नागरिकलाई क्वारेन्टाइनमा राखेका छौं’ ढकालले भनिन्, ‘वडामा पनि कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सहयोग गर्न सहजिकरण समिति गठन भएको छ, संक्रमणलाई पहिलो चरणमै रोक्न थप क्वारेन्टाइनलाई पनि व्यवस्थित गरिरहेका छौं ।’ वडा स्तरमा राजनीतिक दलसहितको समिति र युवा क्लवहरुलाई पनि कोरोना नियन्त्रणमा सक्रिय रुपमा सहभागी गराइएको नगरपालिकाले जनाएको छ ।

‘दोस्रो चरणमा संक्रमण फैलिन नदिने प्रयासमा छौं’
प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश सरकारले परीक्षणको दायरा बढाइएको जनाएको छ । सामाजिक विकास मन्त्री दल रावलले भारतबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको बताए । यस्तै पीसीआर परीक्षणलाई पनि दुई गुणाको दरले बढाइएको मन्त्री रावलले जानकारी दिए । उनले भने,‘अहिलेसम्म देखिएका सबै संक्रमित भारतबाट आएका व्यक्ति हुन्, प्रदेशभित्रै संक्रमण भएको अवस्था छैन’ मन्त्री रावलले भने,‘कर्णालीमा संक्रमण पहिलो चरणमै छ, यसलाई दोस्रो चरण अर्थात समुदायमा फैलिन नदिन सरकार गम्भिर छ ।’


संक्रमणलाई पहिलो चरणमै रोक्नका लागि भारतबाट आएका सबै नागरिकलाई क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ । ‘प्रदेश र जिल्ला भित्रने नाकाहरुमा चेकजाँच भएको छ, नाकामा आरडीटी पोजेटिभ देखिएकाहरुलाई वीरेन्द्रनगरमै राखेर पीसीआर परीक्षण गरेका छौं’ उनले भने, ‘ किटको अभाव हुन नदिन व्यवस्थापन भइरहेको छ, संक्रमितको उपचार र परीक्षणका लागि थप चिकित्सकहरु खटाउने सरकारको रणनीति छ ।’

‘व्यवस्थित क्वारेन्टाइन र तीव्र परीक्षण एकमात्र विकल्प’
चिकित्सकहरुले भने कर्णालीमा कोरोना संक्रमणलाई पहिलो चरणमै नियन्त्रण गर्न तत्काल क्वारेन्टाइको व्यवस्थापन र परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिएका छन् । क्वारेन्टाइनलाई व्यवस्थित नगर्ने र परीक्षणको दायरा पनि नबढाउने हो भने संक्रमणलाई पहिलो चरणमै रोक्न नसकिने प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेल बताउँछन् ।

‘आजसम्म पुष्टि भएका संक्रमितहरु भारतबाट सिधै क्वारेन्टाइनमा आएका हुन्, जसलेगर्दा कोरोना समुदायसम्म पुग्न सकेको छैन, तर क्वारेन्टाइन व्यवस्थित गर्न नसक्ने हो भने त्यहीबाट कोरोना संक्रमण समुदायमा फैलिने डर छ’ डाक्टर पौडेल भन्छन्, ‘क्वारेन्टाइनको व्यवस्थापन र परीक्षणलाई सँगसँगै लिन सकेमा कोरोनालाई पहिलो चरणमै रोक्न सम्भव हुन्छ ।’ पहिलो चरणमै कोरोना नियन्त्रण गर्न दैनिक १५ सयदे खि दु ई हजार जनाको परीक्षण अनिवार्य रहेको डाक्टर पौडेल बताउँछन् ।

‘संक्रमित ठाउँबाट दैनिक हजारभन्दा बढी नागरिक प्रदेशमा भित्रिएका छन्, क्वारे न्टाइन व्यवस्थित भएनन ् भने उनीहरुबाटै थप दुई हजारमा संक्रमण फैलिने डर हुन्छ’ उनी थप्छन्, ‘संक्रमण फैलिन नदिन परीक्षण र क्वारेन्टाइनको व्यवस्थापन नै एकमात्र विकल्प हो ।’ त्यस्तै तत्काल आइसोलेसनको क्षमता पनि बढाउनुपर्ने उनको सुझाव छ । ‘प्रदेश अस्पतालमा ७० बेड आइसोलेसन छ, परीक्षणको दायरा एकैदिन आइसोलेसन भरिन सक्छ ।’
(२०७७ जेष्ठ १४ गते बुधबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार