भारतबाट आएका एक युवाको अस्पतालमा मृत्यू

सुर्खेत, १४ जेठ ।
भारतको गुजरातबाट मंगलबार वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राती नै निधन भएको छ । पूर्व मन्त्री एवंम प्रदेश सभा सदस्य खड्क खत्रीका अनुसार सुर्खेतकै चिंगाड गाउँपालिका वडा नं. तीन टुले हाल वडा नं. पाँच अवलचिंग बस्दै आइरहेका २२ वर्षका वीरेन्द्र रोकायाको निधन भएको हो ।

उनी हिजो मात्रै रुपइडियाबाट आएका थिए । ‘मृतकको आरडिटीसमेत परिक्षण गरिएको थिएन ।’ सांसद खत्रीले भने, ‘उनको मृत्यू कोरोनाबाट भएको हो कि भन्ने शंका गर्ने ठाउँ पर्याप्त छ ।’ प्रदेश अस्पताल कालागाउँ सुर्खेतका कोरोना फोकल पर्सन डा. के एन पौडेलले हिजो राती साढे बाह्र बजे जाँच गर्न जाँदा उनी अस्पतालमा मृत अवस्थामा फेला परेको बताए । ‘उनको राती नै निधन भएको हो । हामी जाँच गर्न जाँदा साढे बाह्र बजेको थियो ।’ उनले भने, ‘उनको आरडिटी पनि परिक्षण गरिएको थिएन ।

उनी दुइ वर्ष देखि बाथ रोगबाट ग्रसित थिए भन्ने कुरा आएको छ । चिंगाड जाने बसमा आएका उनलाई असजिलो भएका कारण हिँजो साँझ अस्पतालमा भर्ना गरिएको थियो ।’ उनले कोरोना भए नभएको अहिले भन्न नसकिने बताए । ‘हामीले राती नै उनको स्वाव झिकेका छौं ।’ उनी भन्छन्, ‘आज दिउसो सम्म पीसिआरको रिर्पोट आउला ।’

तपाईको प्रतिक्रिया