विश्वविद्यालयलाई क्वारेन्टाइन बनाइने

सुर्खेत, १३ जेष्ठ ।
वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरमा रहेका क्याम्पस भवनहरुलाई पनि क्वारेन्टाइन बनाउने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनहरुलाई क्वारेन्टाइन बनाउन भवन उपलव्ध गराइदिन अनुरोध गरेको हो । कोरोना भाइरसको संक्रमण रोक्न र उच्च सावधानी अपनाउन नगरपालिकाले एमयूका उपकुलति प्रा.डा. नन्दबहादुर सिंहलाई भवन उपलव्ध गराइदिन अनुरोध गरेको छ ।

मध्यपक्षिमाञ्चल विश्वविद्यालयलाई पूर्वसावधानी गृह (क्वारेन्टाइन) का लागि भवन उपलब्ध गराइदिन अनुरोध गरिएको नगरपालिका कार्यवहाक प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । एमयूका मानविकी, व्यवस्थापन, विज्ञान र इन्जिनियरिंग संकायका भवनको सम्भाव्यता अनुगमन गरी नगरपालिकाको पूर्वसावधानी गृह (क्वारेन्टाइन) स्थापना गर्न ति भवन उपलव्ध गराइ दिन अनुरोध गरिएको ढकालको भनाइ छ ।

‘भारतबाट आउने नगरवासीहरुलाई अनिवार्य क्वारेन्टाइन राख्न भवनको खोजी गरेका थियौं’ ढकालले भनिन्, ‘ तत्काल लागि दुई क्याम्पसका भवनहरु उपयुक्त देखिएकाले लिखित रुपमा प्रयोग गर्न दिन अनुरोध गरिसकेका छौं ।’ तर शिक्षा क्याम्पसको मैत्री भवनको सम्भाव्यता अनुगमन गरी नगरपालिकाको पूर्वसावधानी गृह (क्वारेन्टाइन) स्थापना भइसकेको ढकालले बताइन् । एमयूले पनि भवन उपलव्ध गराए क्वारेन्टाइन बनाउन तयारी थाल्ने उनको भनाइ छ ।

साथै नगरपालिकाले यसअघि नै बाल मन्दिर आधारभूत विद्यालय, जन माध्यमिक विद्यालय, त्रिपुरेश्रवर माध्यमिक विद्यालय र चन्द्रगंगा माध्यमिकलाई समेत क्वारेन्टाइन स्थापना गरी सञ्चालन गरिसकेको छ । यी क्वारेन्टाइनमा भारतबाट आएका दुइसय ४८ जना बसिरहेको ढकालको भनाइ छ ।

भारत लगायत विभिन्न मुलुकबाट नगरपालिकामा भित्रिएका एकसय १८६ जनाको पिसीआर टेस्ट र २१२ जनाको आरडिटी टेस्ट गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए । नगरपालिकामा भएको सर्वपक्षिय बैठकको निर्णय बमोजिम वडा नं १, ४, ६, ७ र ८ मा वडाध्यक्षको संयोजकत्वमा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सहयोग गर्न सहजीकरण समिति गठन समेत गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया