कर्णालीमा १२ जना थपिँदा २३ पुगे कोरोना संक्रमित

सुर्खेत, १३ जेष्ठ ।
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट घर फर्किएकाहरुको पीसीआर परीक्षण गर्दा थप १२ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । १२ जना मध्ये वीरेन्द्रनगर नगरपालिकाका १० जना र सिम्ता गाउँपालिकाका २ जना रहेको जनाइएको छ ।

मंगलबार बिहानमात्रै १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । आइतबार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूबाट संकलन गरिएको स्वावको परिक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । प्रदेश अस्पतालमा रहेको प्रयोगशाला र पशुपंक्षी अन्वेषण रोग प्रयोगशालामा रहेको पीसीआर मेसिनबाट कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

सोमबार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरी जम्मा ११ जना संक्रमित थिए । मंगलबार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको उनले बताए । उनीहरू १२ जनाकै स्वाव प्रदेश अस्पताल सुर्खेतमै जाँच गरिएको र अबदेखि रिकन्फर्मको लागि नेपालगन्ज पठाउनु नपर्ने खड्काले बताए । यो संगै सुर्खेतमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । यसअघि बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका १ गरी सुर्खेतका ३ जनमा कोरोना संक्रमित थिए ।

तपाईको प्रतिक्रिया