प्रहरीले लाठी हानेपछि …

सुर्खेत, १२ जेष्ठ ।
झापाबाट घर जान आएका कालिकोटका नागरिक सोमबार सडकमै आन्दोलनमा उत्रिए । आफूमाथि प्रहरीले लाठी प्रहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए । खाना खानका लागि सुर्खेतको वीरेन्द्रनगर–१४ स्थित छेडामा गाडी रोक्दा आफूहरुमाथि प्रहरीले कुटपिट गरेको उनीहरुको आरोप छ ।

लकडाउनमा फसेका उनीहरु झापाबाट चार दिन लगाएर सुर्खेत आएका थिए । ना ३ ख ५०८० नम्बरको गाडीमा चार दिनदेखि भोकभोकै यात्रा गरिरहेका उनीहरुलाई कलाकार हरि विष्टले खानाको व्यवस्थापन गरेका थिए । प्याकिङ गरी छेडामा खाना पुरयाउने भनिएकाले गाडी रोकिएको थियो । त्यसै बेला मोटरसाइकलमा गएका प्रहरीले एक्कासी लाठीचार्ज गरेको रास्कोट नगरपालिकाकी विन्दा बुढाले बताइन् ।

प्रहरीले लाठीचार्ज गर्दा बुढासहित रास्कोट नगरपालिकाका निदेश चँदारा, सन्नीत्रिवेणी गाउँपालिकाका कलबहादुर बुढा, महावै गाउँपालिकाका अनुष्का शाहीलगायत ८ जना सामान्य घाइते भएका छन् । ‘हाम्रा लागि वीरेन्द्रनगरबाट प्याकिङ गरेर खाना ल्याउने भन्ने कुरा थियो, त्यसैले हामी यहाँ पर्खिनका लागि बस रोकेका थियौं,’ विन्दाले भनिन, ‘मोटरसाइकलमा आएका प्रहरीले त्यहीबेला हामीलाई एक्कासी केही नसोधी हिर्काए ।’ प्रहरीले गाडी चालकलाई समेत बस किन रोकेको भनेर कुटपिट गरेको उनले बताइन् । प्रहरीले कुटेको भन्दै यात्रु आन्दोलित बनेपछि सुर्खेत–दैलेख सडक खण्ड केहि बेर अवरुद्ध गरेका थिए । आफूमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही र कुटपिटका क्रममा हराएका सामानको क्षतिपूर्ति नदिएसम्म आन्दोलन जारी राख्ने अडान उनीहरुले लिएका थिए ।

सोमबार साँझनै मुख्यमन्त्रीका स्वकिय सचिव खेम बहादुर सिंहसहितको टोलीले विवाद समाधान गरी उनीहरुलाई कालीकोट पठाएको छ । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने यात्रुहरु नै आक्रामक बनेपछि प्रहरीले लाठीचार्ज गरेको बताएको छ । प्रहरीको निगारानीमा खाना खुवाउने भनिएपनि यात्रु जथाभावी हिँड्न थालेपछि प्रहरीले सम्झाउने क्रममा यात्रु आक्रामक बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । रायमाझीले भने, ‘यात्रुहरु जथाभावी जंगलतिर काफल र ऐँसेलु खान जान थालेपछि प्रहरीले सम्झाउन खोजेको हो, त्यहीबेला उहाँहरु पनि प्रहरीमाथि जाइलाग्न थालेपछि सामान्य लाठीचार्ज भएको हो ।’ उनीहरु झापाबाट आइतबार नै गन्तव्यतर्फ हिँडेका थिए । (सेताेपाटीकाे सहयाेगमा)

तपाईको प्रतिक्रिया