जाजरकोटका चार युवा रुकुममा अझै बेपत्ता

भीमबहादुर सिंह (इकान्तिपुरबाट)
जाजरकोट, १२ जेष्ठ ।
कथित तल्लो जातको युवाले माथिल्लो जातकी युवती भगाउन खोजेको भन्दै पश्चिम रुकुमको चौरहजारी नगरपालिका सोतीमा शनिबार राति भएको घटनामा बेपत्ता भएका चार जना युवा अझै फेला परेका छैनन् । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षिय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना युवा आएका थिए ।

घटनाका पीडितका आफन्त रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालमा । सोतीमा गाउँलेले आक्रमण गर्दा नवराज र चौरहजारीका टिकाराम सुनारको मृत्यु भएको थियो । दुवैको शव आइतबार भेटिएको थियो । भेरी नगरपालिकाका गणेश बुढामगर, सन्जु बिक, गोविन्द शाही र लोकेन्द्र सुनार शनिबारदेखि बेपत्ता छन् ।

पश्चिम रुकुमका प्रमुख जिल्ला अधिकार उपेन्द्रराज पौड्यालले प्रहरीले उनीहरुको खोजी गरिररहेको बताए । ‘प्रहरीले खोजी गरिररहेको छ । उनीहरुको कुनै पत्तो लागेको छैन । भागेर कतै पुगे वा आफ्नै घर पुगे अथवा नदिले बगायो भनेर भन्न सक्ने अवस्था छैन । हामी निष्पक्ष रुपमा छानविन गरिरहेका छौं,’ प्रजिअ पौड्यालले भने । घटनामा संलग्न चौरहजारी सोतीका सात जनालाई पक्राउ गरिएको पनि उनले बताए । यो घटना जातीय विभेदको घटना हो होइन भनेरचाहिँ अनुसन्धान पूरा भएपछिमात्र भन्न सकिने उनले बताए । तर, घटनाका घाइतेहरुले भने जातीय भेदभावका कारण घटना भएको बताएका छन् । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेदकारी गालीगलौज गर्दै ढुंगामुडा गरेको कान्तिपुरलाई बताएका छन् ।

‘हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यो डुमहरु कुटाई नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन् । उनले हामीलाई बेसरी गाली गर्न थालेपछि हामी फर्किएका थियौं । फर्किइसकेपछि गाउँलेहरु ढुंगामुडा गर्दै आए । हामी फर्किइसकेका थियौं । तर उनीहरुले लखेट्न थाले । हामी भाग्यौं । कोही कता, कोही कता भयौं । कतिजना भेरी नदीमा हाम्फाल्यौं,’ सरोज भँडेलले भने । उनले नवराज विकलाई मारेरै भेरीमा फालिएको बताए । भेरीका १९ जना युवा नवराजकी प्रेमिका सोतीकी मल्ल थरकी १७ वर्षिय युवतीलाई भगाउन भनी गएका थिए । त्यस मध्ये दुई जनाको यो घटनामा ज्यान गएको छ भने चार जना बेपत्ता छन् । १२ जना घाइते छन् ।

याे पनि पढ्नुहाेस :

‘दुलही लिन गएको छोरो लास बनेर आयो’

साेती घटना : दुइकाे शव फेला, पाँच बेपत्ता, वडा अध्यक्षसहित प्रहरी नियन्त्रणमा

तपाईको प्रतिक्रिया