सुर्खेतका कोरोना संक्रमित भन्छन ‘कोरोना लागेको महशुस नै भएको छैन’

सुर्खेत, १२ जेष्ठ ।
कर्णाली प्रदेश अस्पतालमा सुर्खेतका तीन र दैलेखका एक जना संक्रमित उपचार गराइरहेका छन् । जहाँ सुर्खेतको चौकुने गाउँपालिकाका संक्रमित युवा पनि कोरोनालाई जितेर फर्कने विश्वासका साथ आइसोलेशनमा छन् । उनले युगआह्वानसँग संक्रमण, उपचार र अस्पतालमा रहँदाको अनुभव यसरी साँटेका छन् ।

म भारतको मुम्बईस्थित एक होटलमा काम गर्थेँ । लकडाउन भएको एक महिनासम्म त हामीलाई खान र बस्नको कुनै समस्या भएन । कोरोना फैलिएसँगै नागरिकको मृत्यु भएका खवरहरु सार्वजनिक हुन थाले । स्थिति जटिल बन्ने संकेत थाहा पाएपछि नेपाल जाने निधो गरर्यौं । भारतमा संक्रमित भएमा उपचार नपाउने अवस्था आउन सक्ने हामीले अनुमान गरिसेकका थियौं । बरु मरे पनि आफ्नै जन्मभूमिमा मरौंला भनेर हामी ६८ जनाको टोली नेपाल फर्कने निधो ग¥र्यौं । म आवद्ध होटलमा दुईजना नेपाली मात्रै थियौँ ।

बाँकी सबै घर गइसकेका थिए । भारतले लकडाउन खुकुलो बनाएसँगै हामीले नेपाल फर्कन साथीहरुसँग सम्पर्क राख्यौँ । ६८ जना ट्रकमा चढेर आयौं । रुपैडिया आउन झण्डै चारदिन लाग्यो । नेपाल आएपछि अब त बाँचियो भनेर ढुक्क भयौँ । बबईसम्म आउँदा हामी ६८ जना मध्ये ६५ जनाको टोली दुई बसमा आयौं । बबईमा गरिएको आरडीटी परीक्षणमा मेरो रिपोर्ट पोजेटिभ आयो । मलाई सिधैं घण्टाघरको क्वारेन्टाइनमा राखियो । पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएपछि कालागाउँमा ल्याइयो । अहिलेसम्म त मेरो स्वास्थ्य अवस्था फिट एण्ड फाइन नै छ । कोरोना लागेको महशुस गरेको छैन । कोरोनालाई जितेर फर्किन्छु भन्ने आत्मविश्वास छ । खाना, पानी र वस्नको लागि राम्रो व्यवस्था छ । मसहित अन्य चार जनालाई अलग अलग कोठामा राखिएको छ ।

चिकित्सकहरुले बेला बेला फोन गरेर स्वास्थ्यस्थिति बारे जानकारी लिनुहुन्छ । बाहिर नर्सहरु बस्नुभएको छ । म सुत्ने कोठामा ज्वरो नाप्ने थर्मल गन, रगत जाँच गर्ने उपकरण लगायतका स्वास्थ्य सामग्री राखिएको छ । नर्सहरुले फोनमार्फत सिकाउनु हुन्छ । उहाँहरुको सुझावअनुसार जाँच गरेर नियमित रिपोर्ट टिपाउँदै आएको छौं । मलाई पूर्ण विश्वास छ, अब सात वा दश दिनमा गरिने पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आउनेछ । सरकारले आइसोलेशनमा राम्रो व्यवस्थापन गरेको छ । तर दिनभर एक्लै बस्दा कतिबेला उदेक लाग्छ । इन्टरनेटको सुविधा दिएको भए दिन विताउन अझै सहज हुन्थ्यो । यसतर्फ सरकारलाई काम अघि बढाइदिन अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया