पलाँताका अध्यक्ष कुटने नेकपा नेता धरौटीमा छुटे

तुलराज पाण्डे
कालिकोट, १२ जेष्ठ ।
कालिकोट जिल्ला पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमलाई कुटपीट गर्ने सत्ताधारी नेकपाका पलाँता नेता धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कालिकोटले गाउँपालिका अध्यक्षलाई कुटपीट गरी ज्यान मार्ने उद्योग मुद्धामा पक्राउ परेका नेकपा पलाँता गाउँपालिका अध्यक्ष बिष्णु वहादुर रोकाया (इन्द्र), नेकपा जिल्ला कमिटि सदस्य तथा पलाँता गाउँपालिका १ का वडा अध्यक्ष मानबहादुर भण्डारी (बासिन्दा) सहित चार जनालाई धरौटीमा छोडेको हो ।

गत वैशाख २७ गते पलाँतामा सडक निर्माणको विषयमा विवाद हुँदा दुई पक्षबीच कुटाकुट हुँदा पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम, उनकी पत्नी गोरीकला बम र भतिज गजेन्द्र बम घाइते भएका थिए । उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । कुटपीटपछि गाउँपालिका अध्यक्ष लक्ष्मण बमका दाई लंक बमले जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगको मुद्धा दिएका थिए ।

प्रहरीले वैशाख ३१ गते उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई आइतबार जिल्ला अदालतले धरौटीमा रिहा गरेको अधिवक्ता हिक्मत विष्टले बताए । जिल्ला अदालतले बिष्णु रोकाया र मानबहादुर भण्डारीलाई जनही एक लाख २५ हजार र अन्य दुईजना स्थानीय युवा नबिन कुण र धनसिंह भण्डारीलाई जनही ७५ हजार धरौटीमा छोडेको हो ।

नेकपा पलाँता गाउँपालिका अध्यक्ष इन्द्र रोकायाले न्यायालयबाट आफूहरुले न्याय पाउने बताए । उनले भने पलाँतामा गाउँपालिका अध्यक्षले नै आफूहरुमाथि आक्रमण गर्न गुण्डा लिएर थिर्पुबाट राडुनेटा गएका हुन् । वडा अध्यक्ष मानबहादुर भण्डारी र आफूले गाउँपालिकाको विकास निर्माण गाउँपालिका केन्द्रका विषयमा चासो देखाएकाले उनीहरुले नै आक्रमण गरेका हुन् । उनको पत्नीलाई लागेको चोट पनि आफूहरुले हानेर नभएको बताए ।

उनले गाउँपालिका अध्यक्षकै गुण्डाले हानेको ढुंगा लागेर उनकी पत्नी घाइते भएको दाबी गरे । ‘सडक शिलान्यास कार्यक्रम छ भनेर थाहा पाएर हामी त्यहाँ गएका थियौँ ।’ वडा अध्यक्ष मानबहादुर भण्डारीले भने “ओदी राफाडाँडा सडक पहिले नै आधा निर्माण गरेको थियो । त्यो सडकमा पुनः सडक निर्माण गरौँ भनेर भन्यौँ ।’’ ‘‘उहाँहरुले राडुनेटा हुँदै नयाँ ठाँउमा सडक खन्ने भन्नुभयो । त्यो सडकमा कुनै उपभोक्ता समिति पनि थिएन् । ठेकेदार पनि थिएन् । गाउँपालिका अध्यक्षले आफ्नो निजी डोजर लिएर व्यक्तिगत नाफाका लागि सडक निर्माण गर्ने भन्नुभयो ।’’ ‘‘तिमीहरु को हौं र मैले जे गरे त्यही हुन्छ भनेर भने । त्यस पछि धकेलपकल भयो । उनकै पक्षले झगडा गरेका हुन् । उनीहरुबाटै आफूहरुले बढी पीटाइ खाएका हौँ । उल्टै मुद्दा हालेर हामीलाई फसाए ।’’

यता गाउँपालिका अध्यक्षलक्ष्मण बहादुर बमले भने जनताको माग अनुसार आफूले उदारो सडक खन्नका लागि डोजर लिएर राडुनेटा गएका बेला नबोलाइका मान्छेहरु आएर आफूहरुमाथि आक्रमण गरेकाे बताए । उनले भने ‘त्यो आक्रमण सुनियोजित हो । सडकको बिबाद नै थिएन । बाहाना बनाएर वडा अध्यक्ष मानबहादुर भण्डारीले हातपात गर्न सुरु गरे । पार्टीले छानबिन समिति गठन गरेको छ । त्यसले वास्तविकता ल्याउनेमा आफू विश्वस्त छु ।’

याे पनि पढ्नुहाेस :

कर्णालीका मुख्यमन्त्री शाहीको राजीनामा माग (अडियोसहित)

घाइते अध्यक्ष बम र उनकी श्रीमतीको हेलिकप्टरबाट उद्धार

गाउँपालिकाका अध्यक्ष बम माथि हातपात, स्थिति तनावग्रस्त

तपाईको प्रतिक्रिया