जब बुबाले डाक्टर बनाउने सपना त्यागिदिनुभयाे…

टीका पुन, लोक गायिका

नेपाली लोक दोहोरी क्षेत्रमा चर्चित गायिका टीका पुन सुर्खेतमा जन्मिएकी हुन् । बाल्यकालमा विद्यालय स्तरमा हुने लोकगित प्रतियोगितामा भाग लिने टिकाले राष्ट्रिय कलाकार बनुँला भन्ने सोचेकी थिइनन् । तर हरेश भने कहिल्यै खाइनन् । किनकी जिन्दगी संघर्षशील हो, संघर्षविना लक्ष्य भेटाउन सकिदैन् भन्ने थाहा थियो उनलाई । यद्यपी उनको संर्घष भने पीडादायी नै छ । काठमाडौंको दोहोरी साँझमा काम गरेर जम्मा भएको रकमबाट उनले पहिलो पटक गीत रेकर्डिङ गरिन् । २३ हजार अडियो विक्री भएको त्यही गीतले आज उनी सबैको मनमुटुमा बस्न सफल भएकी छिन् । लोक दोहोरी क्षेत्रमा जेमेकी उनै टिकासँग आजको जम्काभेटमा युगआह्वान दैनिकका लागि सुशील खड्काले गरेको कुराकानीको सारांश :

बाल्यकाल कस्तो रह्यो ?
सुर्खेतको वीरेन्द्रनगर–१२ मा जन्मिएकी टिका चर्चित लोक दोहोरी गायिका हुन् । स्थानीय हस्तवीर प्राथमिक विद्यालयबाट अक्षर चिन्न शुरु गरेकी उनले, पाँच कक्षासम्म त्यही स्कुलमा पढिन् । एसएलसी भने अमरज्योति माध्यमिक विद्यालयबाट दिइन् । एसएलसी दिएपछि उनको यात्रा गायन क्षेत्रमा मोडियो । भावुक र सरल स्वभावकी उनले कसैको पीडा सहन पनि सक्दिनन् ।  मध्यम वर्गिय परिवारमा हुर्किएकी टिकाको सपना गायिका बन्ने थियो । विद्यालयस्तरिय लोकगीत प्रतियोगितामा भाग लिन पाउँदा गायन क्षेत्रमा लाग्नमा थप ऊर्जा पुग्यो उनलाई । स्कुले जीवनमा साथीहरुले दिएको माया, हौसला र गुरुहरुको प्रेरणा, प्रोत्साहनले गायिका बन्छु नै भन्ने लाग्थ्यो उनलाई । स्कुले जीवनमा लोकगीत प्रतियोगतामा सहभागी हुँदा सबैले स्वर राम्रो छ भनेपछि एसएलसीपछि पूर्ण रुपमा गायन क्षेत्रमा लागिन् । त्यसपछि उनको पढाइमा ब्रेक लाग्यो ।

बुबाको सपना डाक्टर बनाउने
हरेक अभिभावको एउटा सपना हुन्छ । आफ्ना छोराछोरीलाई धेरै पढाउने । सकेसम्म डाक्टर र इन्जिनियर बनाउने । समाजमा नाम कमाओस् भन्ने चाहना पनि हुन्छ । टिकाको सरल स्वभावकै कारण छोरीलाई डाक्टर बनाएर देश सेवामा लगाउने उनका बुवाको सपना थियो । तर विद्यालयमा छोरीले गायन क्षेत्रमा गरेको प्रगति र उनको मिठो स्वरको चर्चा हुन थालेपछि उनका बुवाले पनि डाक्टर बनाउँछु भन्ने सपना छाडिदिए । आमाले त पहिल्यैबाट छोरीको स्वरको मिठासका कारण गायिका बन्नुपर्छ भन्दै हौसला दिनुहुन्थ्यो । कलासंगीतमा नै छोरीको ध्यान बढी देखेपछि उनका बुवाले पनि कला क्षेत्रमा नै लाग्न भनेर हौसला दिए । ‘बुवाआमा एकमत हुनु र आफ्नो चाहना पनि गायिका नै बन्ने भएकाले परिवारको साथले एकाग्रह भएर कलाकारितामा लाग्न थप हौसला मिल्यो’ टिकाले भनिन् ।

कलाकारितामा प्रवेश
स्कुलस्तरिय प्रतियोगिता हुँदै वागिना समूहबाट उनलेले कलाकारितामा प्रवेश गरिन् । वागिनाकै उत्पादनका कारण आफू यो स्थानमा पुग्न सफल भएको टिकाको भनाइ छ । धेरै संघर्षपछि सुर्खेतबाट उनको गायन यात्रा काठमाडौंबाट शुरु भयो । तीन महिने छोरी बोकेर २०६२ सालमा काठमाडौं प्रवेश गरेकी उनले झण्डै सातवर्ष दोहोरी साँझमा गीत गाएको बताउँछिन् । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक, महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी हरफहरु पढ्दै आएकाले लक्ष्य भेट्न संघर्ष भने जारी राखिन् । दोहोरी साँझबाट जम्मा भएको रकमबाट उनले गीत रेकर्डिङ गरिन् । उनको पहिलो तीज कोशेली जलेसी जमुना हो । यो गीतले नै उनलाई चिनाउन ठूलो सहयोग पुरयायो । त्यो गीत त्यतिबेला २३ हजार अडियो विक्री भयो ।

पहिलो एल्बमले चर्चा बटुलेपछि जीवनका सबै खालका दुःख र पीडाहरु भुलेको उनी बताउँछिन् । ‘संसार जिते जस्तै भएको थियो, यो क्षेत्रमा लाग्न झन् ऊर्जा पनि थपियो’ उनले भनिन् । पहिलो गीतबाट उनलाई आफ्ना गीतमा स्वर भर्न खोज्नेको ताँती नै लाग्यो । उनले हालसम्म आफ्नै दुई दर्जन एल्बम निकालेकी छन् । त्यसबाहेक उनले हालसम्म झण्डै पाँच हजार गीतमा स्वर भरिसकेकी छन् । जीउँदो अनि साक्षर भगवान आफ्नो बुवाआमालाई मान्ने टिकाले संघर्षका हरेक यात्रामा साथ र समर्थन पाइन् । ‘उहाँहरु (बुवाआमा) को बयान शव्दमा व्याख्या गर्न सक्दैन् र गुन पनि तिर्न सक्दैन’ टिका भन्छिन्, ‘छोरीलाई ठूलो कलाकार बनाउने सपना बुन्नुभयो, उहाँहरुको आर्शिवाद, माया, हौसला र प्रेरणाले म यो स्थानमा पुगेकी हुँ । त्यसमाथि दर्शक, स्रोताहरुको मायाले यहाँसम्म पुगेकी छु । अवार्ड पाउँदा बुवाआमालाई सम्झेर नरोएको पल छैन ।’

प्रतिस्पर्धा जरुरी
परिवर्तनशील समयसँगै मान्छेले आफूलाई पनि डो¥याउँदै लैजानु पर्छ । विकल्पको खोजी गर्नुपर्ने पथमा टिका लागेकी छन् । विगतमा एल्वम विक्री हुँदा आम्दानी आउँथ्यो । तर अहिले आम्दानीको स्रोत घटेको छ । तर पनि समयअनुकुल भने आफूलाई रुपान्तरण गर्दै उनले सांगितिक स्टेज कार्यक्रमबाट राम्रै आम्दानी हुने गरेको बताउँछिन् । प्रविधिले पनि नयाँ निकालेको गीत राम्रो भ्यूज गयो भने युट् युब पनि हो । स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । यसले थप नयाँ सिक्न र उत्कृष्ट सिर्जनाको जन्म पनि हुन्छ भन्ने लाग्छ उनलाई । भड्कीला गीतहरुको सन्दर्भमा भने उनको अलि फरक बुझाइ छ । ‘कला संस्कृती कसैले पनि भल्नुहुँदैन्, त्यसको संरक्षक हामी नै हौं’ उनले भनिन् । आफ्नो मौलिकता भुल्दै गएमा भावी पुस्ताले इतिहासको पानामा खोज्नुपर्ने स्थिति आउने उनको भनाइ छ ।

महोत्सवमा हिँड्दा रेकर्डिङ कम भयो
गुमनाम भएकी छैन । विगतको तुलनामा केही कम चाँही भएको स्वीकार्छु । किनकी बिचमा स्वास्थ्यले पनि साथ दिएन । मेला र महोत्सवमा हिँड्दा थुप्रै गीत रेकर्डिङ गर्न छुटे । तर गीत संगीतमा जसले लगानी गर्नुहुन्थ्यो उहाँहरु आफैले गाउन पनि थाल्नुभयो । प्रविधिले सहज बनाइ दिएको छ । हराएको छैन । संगीत क्षेत्रमा अझै लागि रहनेछु । आम दर्शक र स्रोताहरुले दिएको मायालाई निराशामा परिणत गर्न दिनेछैन ।

अन्त्यमा..
भन्नु त धेरै छन् । कयौं वसन्त विताएका पल । छोटो समयमा कसरी व्याख्या गर्न सकिन्छ र ? दर्पणमा छायाँको वर्णन भनेजस्तै राम्रो म भनेर पढेको मान्छे, नराम्रो म कसले भन्छ र ? योगदानको वर्णन गर्नलाई मेरो सम्पूर्ण शुभचिन्तक अग्रज सर्जकहरुलाई जिम्मा दिन्छु । म जुन माटोमा हुर्किएँ, आज त्यसको मुल्य चुकाउने सामथ्र्य मसँग छैन । तर कर्णालीको कला संस्कृतिको जगेर्ना गरिरहने बाटोमा अग्रसर छु । हाम्रो पहिचान हाम्रो चिनारी हाम्रो कला संस्कृतिको रक्षाका लागि सबैजना मिलेर लागेमा गर्वले भन्न पाइहोस् । हाम्रो कला संस्कृति भनेको यो हो भनेर संसारलाई देखाउन सकियोस् । कलाकारिताले नै यो स्थानमा पुरयाएको छ, आगामी दिनमा यसैमा लागिरहनेछु । (सुर्खेतबाट प्रकाशित युगआव्हान राष्ट्रिय दैनिकमा २०७७ जेष्ठ ९ गते शुक्रबार साताको जम्काभेट स्तम्भमा प्रकाशित)

तपाईको प्रतिक्रिया