सम्पादकीय : संक्रमितको उपचार

अन्ततः कर्णालीमा पनि कोरोना संक्रमण प्रवेश गरेको छ । अर्थात यहाँ पनि कोरोना संक्रमित छन् । तर एउटा विषय अन्य प्रदेशको तुलनामा फरक छ । त्यो के भने कर्णालीमा कोरोना प्रवेश गरेको छ । तर समुदाय स्तरमा भने फैलिएको छैन । हाल देखिएका संक्रमितहरु भारतबाट आएका हुन् । भारतबाट आएकाहरुको परीक्षण गरेर पत्ता लगाइएको अवस्था छ । समुदायमा देखिएको वा फैलिहालेको अवस्था छैन । यद्यपी यसो भनेर उपचार र रोकथाममा लापरबाही गर्ने छुट छैन । यसकारण प्रदेश सरकार, स्थानीय सरकार र स्वास्थ्य प्रशासनले गम्भिर हुनुपर्ने अवस्था छ । कर्णालीको पहिलो संक्रमित दैलेखका युवाको उपचारमा देखिएको वेवास्ता र त्यसक्रममा उत्पन्न भएका बिचारहरुले भने केही आशंका अवश्य पैदा भएका छन् । संक्रमितको उपचारमा सरकारी प्रयास कमजोर भएको गुनासो सुनिए । अस्पताल वा तोकिएको मापदण्ड भएको आइशोलेसनमा राख्नुको साटो स्कुलमा राखिएको घटनाले पनि संक्रमित प्रतिको हेरचाह र उपचारमा कतै वेवास्ता त गरिएको होइन भन्ने आंशका पनि पैदा भएका छन् ।

कोरोनाको खोप बनि नसकेको कारण पनि यसको त्रास अरु रोग जस्तो छैन । अर्थात कोरोनाले विश्वलाई नै त्रसित बनाइरहेको छ । अझ महाशक्तिशाली भनिएका देशहरु नै कोरोनासँग थाकेका छन् । यस्तो अवस्थामा नेपाल जस्तो कमजोर स्वास्थ्य पूर्वाधार भएको देशका लागि सहज छैन । त्यसमा पनि कर्णालीमा यसविरुद्ध लड्न कम चुनौतीपूर्ण छैन । किनकी यहाँको स्वास्थ्य अवस्था कमजोर छ । सामान्य सिटामोल नपाउने अवस्था यहाँ छ । यस्तो अवस्थामा यो कोरोनासँग जुध्न सजिलो पक्कै छैन । तर पनि महामारीसँग जुधेरै पराजित गर्नुपर्ने बाध्यता आइलागेको छ । यस्तो अवस्थामा कोरोना संक्रमितको उपचार र हेरचाहमा राज्यको व्यवहार मनोवल बढाउने खालको हुनुपर्छ । बिरामीलाई हौसला बढाउनगरी राज्यले वयवस्थापन गर्नु पर्दछ । नकी पहुँच र शक्तिको भरमा सुविधा पाउने र कमजार वर्गले उपचार नै नपाउने वा विभेद हुने खालको व्यवहार हुनु राम्रो होइन । दैलेखको घटनाले केही आशंका उत्पन्न गराएको छ । यद्यपी चर्को दबावपछि अहिले उनलाई सुर्खेतमा रहेको प्रदेश अस्पतालमा भर्ना गरिकिएको छ ।

कोरोना रोकथाममा प्रदेश र स्थानीय सरकारको भूमिका कर्णालीमा अहिले नै मुल्याकंन गर्ने अवस्था आइसकेको छैन । तर होसियारी र सावधानी अपनाउनुपर्ने बेला यही हो । रोकथाम र समुदाय स्तरमा फैलिन नदिन हाम्रा प्रयासहरु केन्द्रीत हुनुपर्छ । त्यसको अलवा संक्रमितको उपचार र उनीहरुप्रतिको व्यवहार आलोचना गर्ने खालका हुनु हुँदैन । संक्रमितले मापदण्ड अनुसारको अस्पतालमा उपचार पाउनु पर्छ । ताकी उनीहरुले कोरोनालाई जित्न सकुन् । खोप नबेको अवस्थामा कोरोनालाई जित्ने पहिलो औषधि भनेकै आत्मविश्वास नै हो । यसकारण उनीहरुलाई थप हौसला, उत्प्रेरणा र मनोवल बढाउने गरी सरकारी प्रयासहरु हुन आवश्यक छ । यसले एकातिर संक्रमितहरुले कोरोनालाई जित्ने आँट राख्नेछन् भने अर्कोतिर समुदायले पनि कोरोनासँगको लडाइँ जित्ने आत्मविश्वास बढाउन सक्छ ।

तपाईको प्रतिक्रिया