सुर्खेत, १२ जेष्ठ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी र पछुवा गाडी फिर्ता गरेका छन् । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा सुरक्षाकर्मी परिचालन गर्न समस्या नहोस् भनेर आफूसित भएका सुरक्षाकर्मी र गाडी फिर्ता गरेको उनले बताएका छन् । मुख्यमन्त्री शाहीले आफ्नो सुरक्षाका लागि भन्दा पनि अहिले संक्रमण नियन्त्रण गर्न सुरक्षाकर्मी आवश्यक पर्ने भएकाले फिर्ता गरेको जानकारी दिए ।
‘मसँग सातजना प्रहरी सुरक्षामा खटिएका थिए । ती सबै फिर्ता पठाएको हुँ’, उनले भने, ‘अहिले आफ्नो सुरक्षाभन्दा पनि जनताको स्वास्थ्य र सुरक्षा महइभ्वपूर्ण हो ।’ क्वारेन्टाइनको व्यवस्थापन, संक्रमितलाई अस्पताल लैजान लगायतका विभिन्न काममा खटिने सुरक्षाकर्मीको संख्या कम भएकाले फिर्ता गरिएको उनको भनाइ छ ।
दुई महीनासम्म संक्रमित नदेखिएको कर्णाली प्रदेशमा संक्रमित देखिएको र भारतबाट आउने क्रम जारी रहेकाले सम्भावित जोखिमलाई ध्यान दिइएको उनले बताए । ‘यसअघि भारतबाट आएकाहरुको हामीले पीसीआर परीक्षण गरेर क्वारेन्टाइनमा राखेर घर पठाएका थियौं’, उनले भने, ‘पछिल्लो तीनचार दिनमा मात्रै साढे ६ हजार मानिसहरु कर्णाली प्रदेश भित्रिएका छन् ।’
मुख्यमन्त्री शाहीका अनुसार महामारी नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन आवश्यक भएको हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयमा रहेका अन्य सवारीसाधन पनि प्रहरीलाई दैनिक ड्युटी गर्न उपलब्ध गराइएको छ । ‘मन्त्री र सचिवहरू बाहेकका अन्य सबै गाडी सुरक्षाकर्मीलाई दैनिक ड्युटीका लागि प्रयोग गर्न निर्णय गरेरै उपलब्ध गराइएको छ’, शाहीले भने ।
युग संवाददाता । । १२ जेष्ठ २०७७, सोमबार ०८:०४