कर्णालीमा ९ जनामा कोरोना पुष्टि, दैलेखका ६ जना संक्रमित

सुर्खेत, ११ जेष्ठ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ । आइतबार दैलेखका थप ५ जनामा कोरोनो देखिएपछि कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ जना पुगेको हो । यस अघि दैलेख आठवीस नगरपालिकाका १ जना, सुर्खेत चौकुने गाउँपालिकाका एक जना र बराहताल गाउँपालिकाका २ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

कर्णाली प्रदेशको पहिलो संक्रमित फेला परेको दैलेख जिल्लामा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजेटिभ देखिएपछि नेपालगञ्ज पठाएर पाँचै जनाको पुनःपरीक्षण भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रीता भण्डारीले जानकारी दिनुभयो ।

सदरमुकाम नारायण नगरपालिका–३ का १५ वर्षीय र नारायण नगरपालिका–६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षीय एक पुरुषसंगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आएका हुन् । संक्रमण पुष्टि भएका पाँचै जनालाई सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसुलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीहरुको सल्लाहमा संक्रमण देखिएका दम्पतिसंगै एक वर्षीय एक बालक पनि आइसुलेसनमा राखिएको डुङ्गेश्वर गाउपालिका–१ का वडाध्यक्ष लोकबहादुर डाङ्गीले बताउनुभयो । आइतबार पुष्टि भएका समेत दैलेखमा कोरोना संक्रमितहरुको संख्या ६ पुगेको छ भने प्रदेशको हिसावले शनिबार सुर्खेतमा फेला परेका भनिएका ३ जना समेत कर्णाली प्रदेशमा संक्रमितहरुको संख्या ९ पुगेको छ ।

तपाईको प्रतिक्रिया