बाँकेमा १४३ जना कोरोना संक्रमित ‘रेड जोन’ बन्दै

बाँके, ११ जेष्ठ ।
नेपालका कूल कोरोना भाइरस (कोभिड–१९) का संक्रमितमा एक चौथाइ त बाँके जिल्लाकै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह ४ बजे देशका ४० जिल्लामा पाँच सय ८४ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा बाँकेका मात्रै एक सय ४३ पुगेका हुन् । जुन नेपालका कूल संक्रमितमध्ये २४.४८ प्रतिशत बाँकेमा हुन आउँछ ।

प्रदेश ५ का कूल संक्रमितमध्ये आधाभन्दा बढी बाँकेकै छन् । प्रदेश ५ मा दुई सय ७१ जना संक्रमित रहेकोमा बाँकेका ५२.७६ प्रतिशत पुगेका छन् । बाँकेमा भने कूल संक्रमितमध्ये ८० प्रतिशत त नरैनापुर गाउँपालिकाका मात्र छन् । नरैनापुरमा मात्र एक सय १४ जना संक्रमित पुगेका छन्। देशका कूल संक्रमितमा नरैनापुर पाँच भागको एक भाग पुगेको छ । अर्थात देशभरका संक्रमितमा नरैनापुरकामात्र १९.५२ प्रतिशत हुन आउँछ । प्रदेश ५ को ४२ प्रतिशत संक्रमितको हिस्सा पनि नरैनापुरले नै ओगटेको छ ।

२ जेठको शुक्रबार नरैनापुरमा सुरुमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। ८ दिनको अवधिमा एक १४ जना संक्रमित पुगेका हुन् । यीमध्ये एक जना २५ वर्षका युवाको मृत्यु भइसकेको छ । अझै केही स्वाबका नमूनाको रिपोर्ट आउन बाँकी नै छ । शनिबार एकैदिन नरैनापुरका २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा नरैनापुरका तीन सय ५२ थ्रोट स्वाबका नमूना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार नरैनापुर–३ को राष्ट्रिय प्रावि गेगलीका १५ जना (१६ देखि ३२ वर्षका), नरैनापुर–१ को राष्ट्रिय प्रावि महातानीयामा ६ जना (२२ देखि ५० वर्षका) र नरैनापुर मदरसाका ६ जना (१७ वर्षदेखि ३२ वर्षका) मा कोरोना पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया