कर्णालीका पहिलो कोरोना संक्रमित ४१ दिन भारतको क्वारन्टीनमा बसेका थिए

प्रकाश पन्त/बीबीसी नेपाली सेवा
सुर्खेत, १० जेष्ठ ।
कर्णाली प्रदेशमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति ४१ दिन भारतको क्वारन्टीनमा बसेर जेठ १ गते मात्र नेपालस्थति आफ्नो गाउँ फर्किएका बताइएको छ। दैलेखको आठबीस नगरपालिका घर भएका उनले गत चैत २० गतेदेखि बैसाख ३० गतेसम्म भारतको टनकपुरस्थित एमडीएम बोर्डिङ स्कुलको क्वारन्टीन बसेको बताएका छन् । पहिलो कोरोना संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा चेकजाँचको दायरा समेत बढाइएको छ ।


प्रदेश स्वास्थ्य निर्देशक रीता जोशी भण्डारी हालसम्म कर्णालीका ३ हजार ३ सय भन्दा बढीको पिसिआर चोक जाँच गरिएको बताउँछिन् । भारतबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारन्टीनमा राख्ने र पिसिआर परिक्षण गर्ने व्यवस्था मिलाइएको छ । समुदायमा नफैलियोस भनेर ति सङ्क्रमित व्यक्तिलाई क्वारन्टीनबाट अलग्याएर दैलेख अस्पतालको आइसोलेशन कक्षमा राखिने पनि निर्देशक जोशीले बताइन् ।

ठेकेदारले बीचबाटामै छाड्यो
घरको खेतबारीमा उब्जनी हुनेअनाजले तीन महिना पनि खान नपुग्ने भएपछि कमाईको लागि भारतको कालापार जानुको विकल्प नभएको उनले बताए । यसपाली २० दिन काम गरेर कमाएको ४/५ हजार रुपैयाँ बाटोमै सकिएको समेत उनले बताए । गत बर्षको फागुन १६ गते कामको खोजीमा भारतको आग्रा गएका उनले त्यहाँ २० दिनसम्म आलु भण्डारमा काम गरेका थिए ।

काम सकिएपछि लकडाउनकै बीच उनीसहित ५१ जना मजदुरलाई ठेकेदारले आलु बोक्ने ट्रयाक्टरमा राखेर बनबासा भन्दा ३० किलोमिटर टाढा ल्याएर छाडिदिएको थियो । उनीहरु मध्ये ४७ जना दैलेखको आठबीस नगरपालिका र ठाँटीकाँध गाउँपालिकाका तथा ४ जना बर्दियाका थिए ।

पैदल हिँडेर चैत्र १८ गते नेपाल भारत सीमा बनबासा पुगेपछि भारतीय प्रहरीले उनीसहित ६० जनालाई टनकपुरस्थित एमडीएम स्कुल र ७४ जना नेपालीलाई बनबासको शारदा इन्टर कलेजमा राखेको थियो । भारतको क्वारन्टीनमा बस्दा ज्वरो नाप्ने बाहेक अरू कुनै पनि किसिमको स्वास्थ्य परिक्षण नगरिएको उनी बताउँछन् । क्वारन्टीनमा बसिरहेका उनको शनिवार दैलेखका स्वास्थ्यकर्मीले स्वावको नमुना प्रदेश अस्पताल पठाएका थिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजिटिभ देखिएपछि पुनस् परीक्षणका लागि सोमवार नमुना नेपालगञ्ज पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालगञ्जमा पुनस्परीक्षण गर्दा ३५ बर्षका उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


टिपरमा राखेर महेन्द्रनगर
उनीसहित ३९ जनालाई महेन्द्रनगरबाट उद्धार गरेर क्वारन्टिमा राखिएको आठबीस नगरपालिकाका नगर प्रमुख खड्कराज उपाध्ययायले बताए । टनकपुरबाट गड्डाचौकी पुगेपछि झण्डै २५० जनालाई टिपरहरूमा राखेर महेन्द्रनगरको बैद्यनाथ माध्यामिक विद्यालयमा ल्याएर एक दिन राखेको र अर्को्दिन त्यहाँबाट उद्धार गरिएको थियो ।

महेन्द्रनगर पुगेपछि मात्रै आफुहरूको पहिलो पटक ¥यापिड टेस्ट गरिएको समेत उनले बताए । भारतमा क्वारन्टिनमा बस्दा कसैसँग सम्पर्क नभएपनि महेन्द्रनगर आउने वित्तिकै एकै पटक धेरैजनासँग घुलमिल हुन पुगेको उनले बताएका छन् । महेन्द्रनगरमा दैलेखसहित बैतडी, कैलाली, दाङ, सल्यानका मजदुरहरुसँग घुलमिल भएको उनले बताए ।

एउटै कोठामा ८ जना
अहिले उनीसहित ३९ जना जेठ १ गतेदेखि आठबीस नगरपालिकाले लक्ष्मी माध्यामिक विद्यालयमा बनाइएको क्वारन्टिन बसेका छन् । त्यहाँ अहिले एउटा कोठमा ८ जना बसिरहेका छन् । क्वारन्टिनमा एक मिटरको दुरी बनाएर सुत्ने गरेको उनीहरु बताउँछन् ।  एउटै ठाउँमा बसेका ३९ जनाको पिसिआर चेकगर्दा उनमा मात्र पोजिटिभ देखिएको प्रदेश निर्देशनालयले जनाएको छ । अहिले उनीसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि निर्देशनालयको भनाई छ । कर्णाली प्रदेश सरकारले परीक्षण विनै भारतबाट आएका नागरिकलाई बसमा राखेर धमाधम गाउँ पठाइ रहेको भन्दै धेरैले आलोचना समेत गरिरहेका छन् ।

याे पनि पढ्नुहाेस :

ब्रेकिङ : कर्णालीका थप दुईमा पीसीआर पाेजेटिभ, अन्तिम परीक्षण गर्न नेपालगंज पठाइयो

कर्णालीका कोरोना संक्रमितको आग्रह : ‘घाँटीमा अप्ठ्यारो भइराखेको छ, अस्पताल लैजाऊ’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार