समृद्ध नेपाल शुखि नेपाली एक दृष्टिकोण

रुद्रमणी ढकाल
जिल्ला समन्वय समिति, स्याङ्जा

सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलिजीले समृद्ध राष्ट्र र सुखी नेपालीको अभिभारा पूरा गर्ने गरी सरकार अगाडि बढिरहेको सँधै बताउँदै आउनुभएको छ । जुननारा मलाई अति नै मन पर्छ । नाराको अर्थ कसले कसरी लगाउँछ त्यतातिर जानुभन्दापनि मेरो व्याख्या या बुझाईमा के हो त्यस सम्बन्धमा आफ्नो दृष्टिकोण अवश्य राख्न चाहन्छु जुन सरकार वा प्रधानमन्त्रीजी को परिभाषासँग मेल नखानपनि सक्छ ।

“समृद्ध राष्ट्र र सुखी नेपाली” को समृद्ध राष्ट्रले भौतिक सम्पन्नतातर्फ ईशारा गर्छ तर सुखी नेपालीले के जनाउँछ त ? प्रधानमन्त्रीले एक अवसरमा सुखी नेपालीको सम्बन्धमा बोल्दै खुसी र सुखको भिन्नता प्रष्ट्याउनु भएको थियो । जसअनुसार खुसी केही क्षणको हुन्छ तर सुख दीर्घकालिन हुन्छ । पहिलो विषय खुशी त निर्र्विवाद छ जुन क्षणिक हुन्छ तर दोस्रो अर्थात् सुखको परिभाषा के हो ? सुखी नेपाली बनाउने माध्यम के हो ? यसमा स्पष्ट हुनु जरुरी छ ।

सुखको परिभाषा भन्दा पहिला केहि प्रश्नमा गहन चिन्तन बान्छनीय हुन्छ । प्रश्न यो हो कि विश्वमा समृद्धि हाँसिल गरेका या विकसित राष्ट्रहरुको सूचीको अग्रपंतिमा रहेका राष्ट्रहरुका नागरिकहरु सुखी छन् त ? के त्यहाँ तनाव दःुख पिडा कष्ट आदि छैन त ? के त्यहाँ मानसिक रोगी छैनन् होला त ? के त्यहाँ आत्म हत्या शुन्य छ त ?


त्यसको स्पष्ट उत्तर यहिहो कि प्रधानमन्त्रीकै परिभाषा अनुसार पनि खुसी अवश्य होलान् तर सुखी ? अवश्य छैनन् । वरु समृद्ध मानिएका राष्ट्रका नागरिकहरु झन् मानसिक रुपमा विक्षिप्त छन् त्यसको परिणाम स्वरुप विभिन्न लतमा परी लागुऔषध सेवन, हत्या हिंसाका घटनाहरु त घटि नै रहन्छन् साथ साथै आत्महत्याको दर पनि विकसित राष्ट्रमा नै उच्च छ । त्यसैले भौतिक सम्पनताबाट मात्रै सुखी नेपालीको नारा सार्थक हुन सक्दैन ।

जारी लकडाउनको अवधिमा स्वामी श्री हरिदासजीद्वारा प्रस्तुत “जन्म मृत्यु रहस्य” नामक एक पुस्तक पढ्ने मौका पाए जसको पहिलो पृष्ठमा नै स्वयम् प्रधानमन्त्रीज्यूले नै दिनुभएको शुभकामना सन्देश रहेछ त्यसमा सुखको परिभाषादेखि प्राप्तिको उपाय पनि विस्तारपूर्वक व्याख्या गरिएकोछ (उक्त प्रवचन थ्यग त्गदभ मा पनि उपलब्ध छ) । जसबाट म निकै प्रभावितभए । त्यसमा सुखको परिभाषा प्रष्ट र उत्कृष्ट छ । जसमा भनिएको छ “सुख त्यो हो जुनप्राप्त भएपछि सदा रहोस् कहिल्यै नखोसियोस्” जुन प्रधानमन्त्रीजीको दीर्घकालिन सुखसँग केहिहद सम्म मेल खान्छ तर त्यो भन्दा पनि अगाडि बढेर सुखको परिभाषा गर्दै स्वामी श्री हरिदासजीले “त्यो सुख प्रतिक्षण वृद्धि हुँदै जाने हुन्छ” भनेर दर्शनको राजा वेदको उद्दरण सहित भन्नुभएको छ । अब यस्तो सुख कसरी प्राप्त हुन्छ या त्यसको माध्यम के हो भन्ने विषयमा चर्चा गरौँ ।

सुख भावनात्मक विषय हो अझ गहिराइमा भन्दा अध्यात्मिक विषय हो । जसरी शरीरको भौतिक तत्वबाट बनेको हुँदा भौतिक चीजको जरुरत छ त्यसरी नै अर्को जुन भित्रितत्व छ त्यो अभौतिक वादिव्यभएकोले अभौतिक ज्ञान र साधनाको नै जरुरत पर्छ । सुखका बाधक तत्वहरु एक आपसमा राग, द्वेष, काम, क्रोध लोभ, मोह आदि विकार पनि शारिरीक विषय होइनन् त्यसैले भौतिक सम्पन्नता लेती विकार नष्ट हुँदैनन् र अभौतिक सुख प्राप्त हुनै सक्दैन । त हाम्रो शरीरमा जुन अभौतिकतत्व छ जसलाई आत्मा भनिन्छ त्यसलाई कसरी खुसी बनाउने र ती विकारहरुलाई हटाउने ? यसतर्फ राज्यले कुनै कार्य गरे जस्तो लाग्दैन । त्यसैले जति पनि कार्यक्रम बजेट र लगानी भइरहेको सुखको नाममा त्यो सब बेकार जस्तै छ । किनकि सुख भन्ने वस्तु के हो त्यो विषयमा आजका पूर्वीय शासकहरु समेत अनविज्ञ छन् भन्दा अति युक्ति नहोला । सुख मन आत्मासँग सम्बद्ध छ त्यसैले सुख प्राप्तिको लागि अध्यात्म नै निर्विकल्प मार्ग हो ।

समृद्ध नेपाल सुखी नेपालीको समृद्ध शब्दले भौतिक विकासलाई जोड दियो जुन शरीरसँग सम्बन्धित छ तर जुन सुखी नेपालीको परिकल्पना छ त्यसले आध्यात्मिक विकासलाई जोड दिन्छ र दिनपर्छ । नत्र दीर्घकालिन वा नित्य सुख केवल परिकल्पनामा मात्र सिमित रहनेछ । त्यसैले भौतिक विकास र अध्यात्मिक विकासको माध्यमबाट नै समृद्ध नेपाल र सुखी नेपालीको नारा सम्भव हुन सक्छ । अतः विद्यालय शिक्षा देखि नै हरेक नागरिकलाई भौतिक ज्ञानमात्र नभएर अध्यात्मको समेत ज्ञान दिने व्यवस्था गरिनुपर्छ जसले नैतिकता सदाचार एकता र सेवाभावलाई परिस्कृत बनाइ दिन्छ तव मात्र समृद्ध नेपाल र सुखी नेपालीको बलियो आधार खडा हुन सक्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार