भारतबाट फर्किनेहरुको लर्को, संक्रमणको जोखिम उच्च, तयारी भने सुस्त

सुर्खेत, १० जेठ ।
भारतबाट फर्किने कर्णालीबासीको लर्को लाग्न थालेको छ । भारतमा रेल सेवा संचालनमा आएसँगै भारतमा अलपत्र परेका कर्णालीबासी पनि फर्किन थालेका हुन् । कोरोनाका कारण भारतमा पनि हाल लकडाउन छ । लामो समयसम्मको लकडाउनका कारण समस्यामा परेका उनीहरु स्वदेश फर्किन थालेका हुन् ।

भारतबाट फिर्ता हुनेहरुको संख्या बढे पनि उनीहरुको उद्दार र व्यवस्थापनमा समस्या देखिएको छ । प्रदेश र स्थानीय तहबिच समन्वय हुन नसक्दा भारतबाट आएकाहरु प्रदेशको सिमा नाकामा समस्या झेल्न बाध्य छन् । केहीको उद्दार भए पनि उनीहरुको कोरोना परीक्षणमा समस्या देखिएको छ । भित्रिनेको संख्या बढेपछि उनीहरुको व्यवस्थापनमा चुनौती देखिएको हो ।

गएको सोमबार भारतबाट आएका ५० जना बबईबाट छिन्चुसम्म आइपुगे । जसमध्ये सुर्खेतका ३७, दैलखका ८ जना, रुकुमका तीन, सल्यानका र कालिकोटका एक जनागरी ५० जना नागरिक थिए । अरु सबैले आफ्ना नागरिकहरु गाउँ फर्काए । तर दैलेखको दुल्लु नगरपालिका, नौमुले, डुगेश्वर र कालिकोटका आठ जनालाई सम्बन्धित पालिकाले उद्दार गरेनन् । सुर्खेतको भेरीगंगा नगरपालिकाले सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिलार्य समन्वय गर्दासमेत आफ्ना नागरिक लैजान नमानेपछि त्यो खबर सामाजिक सञ्जाल फेसकुकमा सार्वजनिक गरिदियो । त्यति गर्दा पनि दैलेखका स्थानीय तहले उनीहरुलाई तत्काल गाउँ फर्काउन नसकिने बताए ।

बबई, रुपैडिहा, नानपारा र छिन्चुमा रहेको सबै नागरिकको एकै पटक उद्दार गर्ने अडान कसे । तर भोकभोकै नाकाबाट प्रवेश पाएका नागरिकको अवस्थाबारे कसैले सोचेनन् । बिहीबार मात्र एक हजार नौं सय ३० जना रुपैडिहा नाकाबाट नागरिकहरु व्यक्तिगत खर्चमा बबईसम्म आए । उनीहरुको न त समयमै उद्दार भयो, न त स्वास्थ्य चेकजाँच नै । परीक्षण केन्द्रको स्थापनामा जग्गाको विवादका कारण ¥यापिड टेष्ट सेन्टर नहुँदा सल्यानका चारसय ५८ जना स्वास्थ्य चेकजाँच नगरी जिल्ला पुगे । सल्यानमा पुगेका उनीहरुलाई बनगाडकुपिन्डे नगरपालिकाले ¥यापिड टेष्टपछि मात्रै क्वारेन्टाइनमा राख्ने जनाएको छ ।

कर्णाली प्रदेश सरकारले भारतबाट आउने नागरिकलाई सिमानाबाटै उद्दार गर्ने र स्वास्थ्य चेक गरेर सम्बन्धित नगरपालिकामा पठाउने निर्णय गरेको छ । भारतबाट आएका नागरिककै कारण कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै बबइमै ¥यापिड टेष्ट र संक्रमण नदेखिएका नागरिकलाई स्थानीय तहको समन्वय गरेर जिल्लामा पठाउने जनाउँदै आएको छ । तर न प्रदेश सरकारले सबै नागरिकाको स्वास्थ्य परीक्षण गर्न सकेको छ, न त सम्बन्धित स्थानीय तहले नै नागरिकहरुको उद्दारमा चासो दिएका छन ् । यसले भारतबाट भित्रिएकाहरुले आफूहरुको उद्दार र व्यवस्थापनमा वेवास्ता गरिएको गुनासो गर्न थालेका छन् ।

दश घण्टामा दुइ हजार भित्रिए
भारतमा सार्वजनिक यातायात र रेलसेवा सञ्चालन भएपछि हजारौं नागरिकहरु घर फर्कन थालेका छन् । बिहीबार मात्रै दुइ हजारभन्दा बढी नागरिक कर्णालीमा भित्रिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले दिएको जानकारीअनुसार बबई नाकाबाट मात्रै झण्डै दुइहजार नागरिक भित्रिएका छन् ।

उनकाअनुसार सुर्खेतका चारसय ९७, दैलेखका आठसय २९, सल्यानका चारसय ५८, कालिकोटका ५४, जाजरकोटका ८१ र जुम्लाका ११ जना कर्णालीमा भित्रिएका हुन् । त्यस्तै सल्यानको कपुरकोटबाटसमेत थप ५८ जना नागरिकहरु जिल्ला भित्रिएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए । भारतबाट कर्णाली भित्रिएकालाई सम्बन्धित जिल्ला पठाउन बिहीबार मात्रै ४९ वटा बसहरु प्रयोग गरिएका छन् । जसमा सुर्खेतमा १२, सल्यानमा १९, कालिकोटमा २३, जाजरकोटमा दुई र जुम्लामा एकवटा बसमा सम्बन्धित जिल्लामा पठाइएको हो ।

रोकथामको तयारी सुस्त
भारतमा रेल सेवा सुरु भएसँगै त्यहाँबाट कर्णालीबासी आउनेक्रम सुरु भएको छ । रोजगारीका लागि भारतमा रहेका र लकडाउनका कारण समस्या उत्पन्न भएपछि ठूलो संख्यामा कर्णालीबासी स्वदेश फर्कन थालेका छन् । लकडाउन थपिदैं गएका कारण भारतबाट मात्रै कर्णालीमा करिव २७ हजार नागरिक गाउँ फर्कने अनुमान प्रदेश सरकारले गरेको छ । भारतबाट ठूलो संख्यामा मानिसहरु आउने तयारी गरिरहँदा कर्णालीमा भने तयारी सुस्त देखिएको छ । हालसम्म दश हजार आठसय ८० वटा मात्रै क्वारेन्टाइन निर्माण गरिएको छ । यसले भारतबाट आउनेहरुलाई थेग्न सक्ने अवस्था छैन ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्क अनुसार बिहीबारसम्म प्रदेशभर दशहजार आठसय ८० बेड मात्रै क्वारेन्टाइन तयारी अवस्थामा छन् । स्थानीय तहले क्वारेन्टानइन निर्माणमा ढिलासुस्ती गरेका कारण क्वारेन्टाइनको संख्या बढाउन नसकिएको मन्त्रालयले जनाएको छ । भारतबाट आउनेहरुसँगै कोरोना पनि भित्रिने जोखिम धेरै छ । तर सोहीअनुसार न क्वारेन्टाइन थपिएका छन्, न त परीक्षणको दायरा नै बढाइएको छ । तयारी व्यवस्थित नहुँदा अवस्था भयाभह हुने देखिएको छ । अर्कोतर्फ प्रदेश र स्थानीय तहबिच समन्वय प्रभावकारी नहुँदा थप जटिलता पैदा भएको छ ।

१३ जनाको रिपोर्ट शंकास्पद
पछिल्लो समय भारतबाट आउनेहरुको संख्या बढेपछि कोरोना संक्रमणको त्रास पनि बढेको छ । यही त्रासका कारण प्रदेश सरकारले भारतबाट आएकाहरुको अनिवार्य आरडीटी परीक्षण गर्न थालिएको जनाएको छ । बिहीबार मात्र भारतबाट आएकाहरु मध्ये स्वास्थ्य परीक्षण गर्दा १३ जनाको रिपोर्ट शंकास्पद देखिएको छ । आठ सयभन्दा बढीको रयापिड टेष्ट गर्दा १३ जनाको रिपोर्ट शंकास्पद देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । ‘१३ जनाको रिपोर्ट शंकास्पद देखिएको छ, शंकास्पद् देखिएपछि उनीहरुलाई सुर्खेतमा राखिएको छ’ वाग्लेले भने, ‘उनीहरुको थप परीक्षण गर्न स्वाव संकलन गर्नेछौं, शंकास्पद् देखिएकाहरुको पीसीआर परीक्षण हुनेछ ।’  (२०७७ जेष्ठ ९ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया