भारतबाट एकै दिनमा १२ सय कर्णालीवासी आइपुगे

शुरबहादुर सिंह(रासस)
सुर्खेत, ८ जेठ ।

कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५, बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरू यहाँ आइपुगेका हुन् । प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार दैलेखका ५००, सुर्खेतका ३२०, सल्यानका २६६, जाजरकोटका ७७ र कालिकोटका ४४ नागरिक रहेको छन् ।

उहाँले भारतबाट सयौँको संख्यामा कर्णालीवासी नागरिक भित्रिँदै गरेकोमा प्रदेश सरकारले सबैको आरडिटी गर्ने यद्यपि स्थानीय सरकारसहित नागरिक सबैलाई उच्च सतर्कताका अपनाएर आफ्नो दायित्व पूरा गर्न अनुरोध गर्नुभएको छ ।  उहाँले भन्नुभयो, ‘यतिमात्र होइन भारतबाट आउने संख्या दिनप्रतिदिन बढिरहेको छ । नागरिकको स्वास्थ्य र सुरक्षामा सरकार संवेदनशील भएर लागेको छ । सीमामा आरडिटी भएकाले पनि जिल्लामा अनिवार्य क्वारेन्टाइनमा बस्ने गरिएको छ । प्रदेश सरकारले तत्काल आरडिटीका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति त्यहाँ पुगेको सामजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो । ‘त्यहाँ पुगेका सबैको आरडिटी परीक्षण गर्छौँ र पोजेटिभ देखिएमा प्रदेशको क्वारेन्टिनमा राख्छौँ । उनीहरूको पिसीआर गरेर संक्रमण देखिएमा आइसोलेसनको पनि तयारी भइरहेको छ’ उहाँले भन्नुभयो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतनिधि वाग्लेले अहिले तत्काल ७०० किटसहित १६ जना आरडिटीका लागि कर्मचारी त्यहाँ परिचालन भएको बताउनुभयो । आवश्यकतामा अन्य थप किट पठाउने र परीक्षणकार्यलाई तीव्र बनाउने उहाँले जनाउनुभयो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले भारतबाट आउने नागरिकको शान्ति सुरक्षार्थ प्रहरी तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । केही जनशक्ति सीमामा निर्वाध रहेको र केही जनशक्ति यहाँबाट पठाइएको उहाँले बताउनुभयो । यो डेढ साताभित्र प्रदेशमा १५/२० हजार नागरिक भित्रिसकेको अनुमान छ ।

तपाईको प्रतिक्रिया