सुर्खेत, ७ जेठ ।
सुर्खेतको सिम्ता गाउँपालिका–३ स्थित प्रहरी चौकी आग्रीगाउँ देउली डाँडामा कार्यरत प्रहरी जवान मृत भेटिएको घटनाको किटानी जाहेरी दर्ता गरिएको छ । पिडित परिवारको तर्फबाट मृतकका दाजु याम बहादुर खड्काले किटानी जाहेरी दर्ता गराएका हुन । प्रहरी चौकी देउलीका इन्चार्ज प्रहरी सहायक निरिक्षक मान बहादुर आले र एक हल्दारसहित ४ जना जनाको नाममा किटानी जाहेरी दर्ता गरिएको हो ।
सत्य, तथ्य, निस्पक्ष छानविन गरी दोषिमाथी कडाभन्दा कडा कारवाहीको माग गर्दै जाहेरी दर्ता गरेपनि जिल्ला प्रहरी कार्यालय सुर्खेतले वेवास्ता गरेको पिडित परिवारको भनाई छ । मृतक प्रहरी जवान नरेन्द्र खड्काको घटनामा संलग्न भएको आशंका गरिएका प्रहरी चौकी इन्चार्जदेखि अन्यलाई जिम्मेवारीमुक्त गरी अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा संरक्षण भएको मृतकका दाजु याम बहादुर खड्काले बताए ।
मृतकका आफन्तले प्रहरी चौकीभित्रबाटै हत्या भएको र हाल घटना प्रशासनबाट नै तोडमोड गर्न थालिएको मृतकका आफन्तले गुनासो गरेका हुन् । वैशाख ३० गते विहान २६ बर्षीय प्रहरी जवान नरेन्द्र खड्का मृत अबस्थामा भेटिएको घटना छानबिन गर्ने प्रशस्त प्रमाणहरु हुँदा हुँदै पनि प्रहरी प्रशासनद्वारा घटना तोडमोड गर्न लागिएको आफन्तहरुले गुनासो गरेका छन् ।
मृतक खड्काका परिवारजनले आज एक प्रेस विज्ञप्ती जारी गर्दै खड्काको हत्या प्रहरीबाट नै भएको दावी गरेका छन् । घटना प्रहरीले ढाकछोप गर्न थालेको भन्दै प्रहरी चौकी इन्चार्जसहित स्टाफहरु सबैलाई छानबीनको दायरामा ल्याई दोषीलाई कानूनी कारबाही गर्नुपर्ने समेत माग परिवारजनले गरेका छन् ।
विज्ञप्तीमा प्रहरी भित्रबाटै घटना भएको हुनसक्ने प्रशस्त आधारहरु समेत उल्लेख गरिएको छ । तर, प्रहरीले ती आधारहरु बेवास्ता गर्दै घटना किनारा लगाउन थालेको मृतककी श्रीमती कालिका रावत खड्काले बताइन । मृतक खड्काका दाई यमबहादुर खड्काले छानबीनको लागि स्थानीय नागरिक र प्रत्येक्षदर्शीसँग समेत छलफल गर्नुपर्ने माग गरेका छन् ।
प्रहरी जवान खड्का गत वैशाख ३० गते प्रहरी चौकीभन्दा अन्दाजी ५०० मिटर टाढा ऐँसेलुको झाडीमा मृत अवस्थामा फेला परेका थिए। प्रहरीले वैशाख ३० गते विहान २ बजेदेखि खड्का ड्युटीमा खटिएको र सात राउण्ड गोली सहित पेस्तोल लिएर भागेको बताइएको थियो । मृतक प्रहरी जवान सुर्खेत जिल्ला लेकबेशी नगरपालिका वडा नं. ३ दशरथपुर घर भई हाल सिम्ता गाउँपालिका वडा नं. ३ स्थित आग्रीगाउँ प्रहरी चौकिमा कार्यरत थिए । घटनाको सन्दर्भमा छानविन समितिले अनुसन्धान गरिरहेकाले सत्यतथ्य चाँडै बाहिर ल्याउने जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।
यो पनि पढ्नुहोस :
अनुसन्धान समितिको भूमिकाप्रति आक्रोश
प्रहरी जवान मृत्युमा आफ्न्तको आशंका, अनुसन्धान जारी
प्रहरी जवानको शंकास्पद मृत्यु, एसएसपीको नेतृत्वमा छानबिन समिति गठन
ब्रेकिङ : फरार प्रहरी जवान मृत भेटिए, घटना रहस्यमय
ब्रेकिङ : पेस्तोल र गोली लिएर प्रहरी जवान भागे
पीडित परिवारको तर्फबाट जारी
प्रेश विज्ञप्ति
मिति : २०७७/०२/०५
सुर्खेत जिल्लाको सिम्ता गाउँ पालिका वडा नं. ३ मा रहेको प्रहरी चौकी आग्रीगाउँ देउलीडाडामा कार्यरत २६ बर्षिय प्रहरी जवान नरेन्द्र खड्काको मिति २०७७ वैशाख ३० गते विहान ८ वजे गोली लागेर घाइते भएको भनी मृतकको भान्जा टेकबहादुर खत्रीलाई लेकवेशी वडा नं. ४ को कार्यालयवाट खवर आएको थियो । लगत्तै हाम्रो घर भएको लेकवेशी न.पा. वडा नं. ३ खारपानीमा विहानको ९ वजे तिर लेकवेशी नगर पालिकाको गाडी हामीलाई लिन आएको र सो गाडीले भेरी बंबई डाइभरसन नजिक चिप्ले भन्ने ठाउसम्म लगि सुर्खेतबाट गएको कान्तिपुर शव वहानले हामीलाई घटनास्थल आग्रीगाउ र्पुयायो। उक्त शव वहान संगै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सहितको टोली समेत आएको थियो। हामीले शंका लागि सोध्दा त्यसो होईन गाडी नपाएकोले शव वहान लिएर आएका हौ भनेर हामीलाई भनेका थिए ।
हामी दिउँसो १ वजे घटना स्थल प्रहरी चौकी आग्रीगाउँ पुगेपछि चौकीदेखि करिव ५०० मि. को दुरीमा रहेको खोल्सामा र्पुयाईयो। जहाँ नरेन्द्र खड्काको पेटको दाईने हातमा पेस्तोल समाएको देखिएको थियो र उनी चप्पल लगाएकै अवस्था पल्टिएका थिए । प्रहरी चौकीको हाताभित्र लुकाएर राखिएको घरेलु रक्सीको जर्किन हामीले फेला पारेका थियौ, जुन सुर्खेतवाट गएका जिल्ला प्रहरी प्रमुखले लिएर आउनु भएको छ । त्यसैगरी घटना घटेको साझ चौकीमै कुखुरा लगेर काटेर खाएको हामीलाई स्थानीयवासीले भनेका थिए। उनीहरूले राती ११ वजेतिर प्रहरी चौकी भित्रै गोली चलेको सुनेको वताएका थिए। साथै स्थानीयहरुले राति घटनास्थलमा लाईट वलेको देखेको वताएका थिए । यसले पनि राति नै उनलाई मारेर ल्याई फालिएको प्रष्ट हुन्छ । वैशाख २९ गते मृतकले दिनभर प्रहरी हातामा तरकारी लगाउन स्थानीयहरुको गोठवाट डोकोमा मल वोकेको स्थानीयवासीहरुले हामीलाई वताएका छन् । तर, प्रहरीले आत्महत्या गरेको भनिरहदा हामीलाई विश्वास लागेन। उनको शरिरमा अनेकौं निलडाम देखिन्थ्यो ।
कन्चटमा गोली लागेको थियो। घटनास्थल हेर्दा आत्महत्या नभई हत्या भएको प्रष्ट देखिन्छ । उनको मानसिक अवस्था ठिक रहेको र आत्महत्या गर्ने अवस्थामा कुनैपनि हालतमा नरहेको देखिन्छ । मृतक नरेन्द्र खड्काको चौकीमा कार्यरत प्रहरी कर्मचारीहरुवाटै गोली हानेर प्रहरी चौकी भित्रै मारिएको र त्यसपछि उनलाई घटनास्थलमा लगेर फालिएको देखिन्छ । घटना भएको हप्ता दिन वितिसक्दा समेत चौकीमा कार्यरत टिमलाई वदलि नगरी प्रमाण नष्ट गर्न तर्फ प्रहरी प्रशासन लागेको हाम्रो ठम्याइ छ । यसर्थ छिटोभन्दा छिटो घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिई कानुनी कार्वाहीको दायरामा ल्याउन र छिटो र निष्पक्ष अनुसंधान गर्न जोडदार माग गर्दछौ । अन्यथा अन्य दवावमूलक सडक संघर्षका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी दिन चाहन्छौं ।
मृतक खड्काको श्रीमती कालिका रावत खड्का
दाइ यामवहादुर खड्का
दाइ खड्गबहादुर खड्का
दाइ नरेश खड्का
युग संवाददाता । । ७ जेष्ठ २०७७, बुधबार १६:१५