सुर्खेत, ७ जेठ ।
कर्णालीमा पनि कोरोनाको संक्रमण देखिएको छ । देशका अन्य प्रदेशमा संक्रमणको दर बढ्दै जाँदा सुरक्षित रहेको कर्णालीमा पनि अन्नतः संक्रमण भित्रिएको छ । दैलेखको आठविस नगरपालिकाका एक युवामा सोमवार कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै कर्णालीमा पनि खतराको संकेत देखा परेका छ ।
दैलेखको आठविस नगरपालिका–१ सात्तलाका ३५ वर्षिय युवामा कोरोना संक्रमण भएको खबर फैलिएसँगै स्थानीयमा त्रास छाएको छ । भारतबाट गाउँ फर्किएका ति युवामा कोरोना पुष्टि भएपछि आठविसमा थप त्रास छाएको छ । कोरोनाको संक्रमण अन्य क्षेत्रमा फैलिन नदिन नगरपालिका नै सिल गरिएको छ ।
‘कोरोना संक्रमितको पुष्टि भएपछि गाउँभरी खैलाबैला मच्चीएको छ, नागरिकहरु त्रसित भएका छन्’ नगर प्रमुख खड्गराज उपाध्यायले भने, ‘कोरोनाको संक्रमण नहोस् भनेर एक वडाबाट अर्काे वडामा जान प्रतिबन्ध लगाएका छौं ।’ संक्रमित व्यक्तिको हाल जिल्ला अस्पताल दैलेखका उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । कर्णालीमा पहिलो संक्रमित भेटिएसँगै प्रदेश सरकारले थप सतर्कता अपनाइएको जनाएको छ । साथै परीक्षणको दायरालाई पनि बढाइएको सरकारको भनाइ छ ।
‘त्रसित हुनु पर्दैन, परीक्षण बढाउँछौं’
कर्णालीमा कोरोना संक्रमित भेटिए पनि त्रसित नहुन प्रदेश सरकारले आग्रह गरेको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले पहिलो संक्रमण भेटिनु दुखद भए पनि त्रसित नहुन प्रदेशबासीलाई आग्रह गरे । मंगलवार विज्ञप्ति निकालेर मन्त्री रावलले संक्रमित भेटिदैमा डराउनुपर्ने अवस्था नहरको बताए ।
‘दैलेखमा रहेका संक्रमित व्यक्ति क्वारेन्टाइनभन्दा बाहिर गएका थिएनन्, उनी क्वारेन्टाइनमा बसेका थिए । यसकारण पनि समुदायमा संक्रमण हुन पाएको छैन, त्यसैले अहिले नै त्रसित हुनुपर्ने अवस्था छैन ।’ साथै उनले भारतबाट संक्रमितसँगै आएका बाँकी व्यक्तिहरुको पनि तत्काल नमूना परीक्षण हुने भन्दै डराउनुपर्ने अवस्था नरहेको बताए । प्रदेशमा रहेका पीसीआर मेसिनप्रति आशंका गर्न थालिएको भन्द्यै उनले मेसिनहरु विश्वसनीय रहेको भन्दै ढुक्क हुन आग्रह गरे ।
‘प्रदेशका सबै मेसिनहरु विश्वसनीय छन् तर रिचेक गर्नुपर्ने प्रावधान अनुसार काठमाडौं वा नेपालगञ्ज पठाउनुपरेको हो’ मन्त्री रावलले भने, किटहरुको अभाव हुन दिँदैनौं, बरु परीक्षणको दायरा बढाउने छौँ ।’ प्रदेशमा संक्रमण भित्रिन नदिन अब बाहिरबाट आउने सबैको अनिवार्य पीसीआर परीक्षण गरिने प्रदेश सरकारले जनाएको छ । नाकाहरुमा ¥यापिड टेष्ट गरेरमात्रै प्रवेश दिइने भन्दै प्रदेश सरकारले अब वडा तहमै स्वाव संकलन हुने जनाएको हो ।
संक्रमितसँगै फर्किएका थिए ५३ जना
कर्णाली प्रदेशको पहिलो कोरोना संक्रमितसँगै भारतबाट अरु ५३ जना साथीहरु गाउँ फर्किएका थिए । आठविस नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले दिएको जानकारी अनुसार आठविस वडा नम्बर १ का ३९ जना, दैलेखकै ठाँटीकाँध गाउँपालिकाको आठ जना, दुल्लु नगरपालिका, चामुन्डाविद्रासैनी नगरपालिकाका एक÷एक जना र बर्दियाका चार जना गरी ५३ जना व्यक्ति एउटै बसमा फर्किएका थिए ।
लकडाउन भएको तीन दिनपछि अर्थात चैत १४ गते साँझ वनबासा आइपुगेका थिए । लकडाउनका कारण नेपाल प्रवेश नपाएपछि वनबासाकै क्वारेन्टाइनमा ४५ दिन बसेका थिए । ४६ औं दिन (बैशाख ३१ गते दिउँसो भारतको प्रशासनले कञ्चनपुरको गड्डाचौकीमा पुरयाइ दिएको थियो । सोहीदिन नगरपालिकाले गाडीको व्यवस्थापन गरी राती ३ बजे लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाईनमा पुरयाएको थियो । तर ५३ जनामध्ये चार जना भने बर्दियाको भुरीगाउँमा झरेका थिए ।
रोजगारीका लागि फागुनमा भारतको आग्रा पुगेका ५३ जना नै कोल्डस्टोरमा लोडिङको काम गर्दै आएका थिए । संक्रमतिसँगै गाउँ फर्किएका ठाँटीकाँध गाउँपालिकाका आठ, दुल्लु नगरपालिका, चामुन्डाविद्रासैनी नगरपालिकाका एक/एक जनाको पनि स्वाव परीक्षण गरिने भएको छ ।
नगरका सबै वडाहरु सिल
खड्गराज उपाध्याय
प्रमुख, आठविस नगरपालिका, दैलेख
कोरोना संक्रमित भेटिएपछि नगरका सबै वडाहरुलाई सिल गरेरका छौं । स्थानीयले कोरोनाको बिष आयो भनेर खैलाबैला नै मच्चाएका छन् । नडराउन भन्दै माइकिङ गरेर सतर्कता अपनाउन भनेका छौं । संक्रमण फैलिन नदिन संक्रमितसँगै क्वारेन्टाइनमा ३८ र बाँकी १३ गरी ५२ जनालाई थप एक हप्तादिन क्वारेन्टाइनमा राखेर पुनः पीसीआर परीक्षण गरिदिन र सेनीटाइजर, क्वोल्वस, पीपीईसेट, स्वास्थ्यकर्मीहरु पठाइदिन प्रदेश सरकारसँग माग गरेका छौं।
त्योभन्दा ठूलो समस्या अब भारतबाट आउनेलाई राख्न हामीसँग क्वारेन्टाइन छैन । अझैं तीन हजार नागरिक गाउँ फर्कन थालेका छन् । तर नगरपालिकामा एकसय ९३ बेडको क्वारेन्टाइन मात्र छ । अवस्था भयाभव हुन्छ कि भन्ने त्रास भयो । मैले त प्रदेश सरकारलाई हामी पैसा पठाइदिन्छौ, भारतबाट आउनेलाई गाउँ पठाउनुको सट्टा सृुर्खेतकै क्वारेन्टाइनमा राख्न र परीक्षण गरेपछि मात्रै घर पठाउन अनुरोध गरेँ । तर सरकारले प्रदेशका ५० हजार नागरिक भारतबाट गाउँ फर्कन लागेको भन्दै सुर्खेतमा राख्न ठाउँ अभाव हुन्छ भन्ने जवाफ दियो । अवस्था निकै गाह्रो भयो ।
युग संवाददाता । । ७ जेष्ठ २०७७, बुधबार १४:४४