काँग्रेसको सुर्खेतका सबै तहलाई सहयोग

सुर्खेत, ७ जेठ ।
नेपाली काँग्रेस सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहमा नगद तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाईरस नियन्त्रण, रोकथाम, उपचार तथा राहतमा सहयोग पुरयाउने उद्देश्यले सुर्खेतका सबै स्थानीय तहलाई सहयोग उपलब्ध गराएको हो । एकद्धार प्रणालीबाट उपलब्ध गराउने प्रदेश तथा स्थानीय तहहरुको निती अनुसार सहयोग रकम तथा स्वास्थ्य सामाग्रीहरु स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरिएको नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिनुभयो ।

वीरेन्द्रनगर, भेरीगंगा, लेकवेशी, पञ्चपुरी, गुर्भाकोट, सिम्ता, चिङगाड, बराहताल, चौकुने गरी सुर्खेतका ९ वटै स्थानीय तहलाई सहयोग उपलब्ध गराइएको हो । प्रति स्थानीय तह नगद २५/२५ हजार, स्वास्थ्य सामाग्रीमा २/२ लिटर सेनिटाइजर, २००/२०० पिस माक्स, एक÷एक पेटी साबुन सहितको सहयोग नेपाली काँग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले हस्तान्तरण गर्नुभएको थियो ।

अन्य स्थानीय तहको तुलनामा वीरेन्द्रनगर नगरपालिका ठुलो भएकाले स्वास्थ्य सामाग्रीहरु केही थप प्रदान गरिएको नेपाली काँग्रेस सुर्खेतका सभापति रेग्मीले जानकारी दिनुभयो । चौकुनेका अध्यक्ष धिर बहादुर शाही, पञ्चपुरीका नगर प्रमुख उपेन्द्र थापा, बराहतालका अध्यक्ष तेज बहादुर वस्नेत, वीरेन्द्रनगरका कार्यवाहक नगर प्रमुख मोहनमाया ढकाल, भेरीगंगा नगर प्रमुख भुपेन्द्र बहादुर चन्द, लेकबेशीका नगर प्रमुख गगनसिंह सुनार, गुर्भाकोटका नगर प्रमुख हस्त पुन, सिम्ताका अध्यक्ष कविन्द्र केसी, चिङ्गाडका अध्यक्ष देव बहादुर चन्दलाई नगद तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया