साँझपख बत्ति गए अरु सुत्छन्, हामी जङ्गलतिर दौड्नुपर्छ, बत्ती गए फेसबुक हेर्नुहोस्

टंकराज गिरी
कार्यालय प्रमुख, नेपाल विद्युत प्राधिकरण, सुर्खेत

भनिन्छ नि चाहाना भए, बाहाना बनाउनु पर्दैन, हो त्यही चाहानाले भरिएको एउटा नाम हो टंकराज गिरी । विस २०३७ साल कातिक २७ गते बुवा तुलाराज र आमा बाचु गिरीबाट जुम्लाको तातोपानी गाउँपालिका–५ श्रीनगरमा उनको जन्म भएको छ । पहिलो सन्तान भएकाकारण बुवाआमाको जति माया पाए, त्यतिकै संघर्षको पाठ पनि सिके । संघर्षभित्र् सन्तुष्टि र जिम्मेवारीप्रतिको बफादारिताकै कारण उनले असफलताको अनुभव गर्नु परेको छैन । नेतृत्वदायी क्षमता, मिलनसार र जिम्मेवारीप्रति उत्तरदायी भूमिका देखेर नेपाल विद्युत प्राधिकरणले सुर्खेतमा कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । जुम्लाबाट सुरु भएको जीवनको संघर्ष, नेपालगञ्जले थप बलियो बनायो, काठमाडौंले कर्म सिकायो रत उनी आफ्नो लक्ष्यमा पुग्न सफल भए । यिनै संघर्ष, सफलता र जीवन भोगाई यसरी साँटे ।

जुम्लामा पढाई, सुर्खेतमा ट्युसन
गाउँमै धुलोमाटोसँग रमाउँदै बालापान बित्यो । गाउँकै दुर्गा माध्यमिक विद्यालय लाम्राबाट औपचारिक शिक्षा सुरु गरेँ । पढाइमा रुचिकै कारण सधै प्रथम हुन्थे ।  कहिलेकाँही त कक्षामा दोस्रो हुन्छु जब परीक्षा नजिक आउँथ्यो तव खुब चिन्ता त लाग्थ्यो । तर माध्यमिक शिक्षासम्म दोस्रो हुनु परेन । पढाइ भएकै कारण गुरुबाट धेरै माया पाउथँे । स्कूले जीवन र धुलोमाटो खेल्दै रमाउने साथीभाइको धेरै याद आउँछ ।  ऊबेला कक्षा ९ र १० बाट एसएलसी परीक्षा प्रश्नहरु आउँथे । यही कारण ९ र १० मा ट्युसन पढ्न जुम्लाबाट–सुर्खेत आउँथे । मंसिरमा परीक्षा भएपछि (पुस, माघ र फागुन) सम्म विद्यालयहरु बन्द हुन्थँे । साथीभाइसँग जुम्लाबाट हप्तादिन हिँडेर ट्युसन पढ्न सुर्खेत आउँथ्यौँ । २०५४ सालमा एसएलसी पुरा गरेँ । नेपालगञ्जको महेन्द्र बहुमुखि क्याम्पसबाट उच्चशिक्षाको ढोका सुरु भयो ।

गाउँले परिवेशमा शहरमा घुलमिल हुने केही समय लाग्यो । त्योभन्दा ठूलो बढी मेहनत पढाइमा गर्नुपरयो । किनकी मैले कक्षा ९ र १० मा अप्सनल गणित विषय अध्ययन गरेको थिएन । साइन्स विषयको मुटु भनेकै अप्सनल गणित रहेछ । जसले गर्दा प्लसटु अध्ययन गर्दा धेरै मेहेनत गर्नुप¥यो । विषय नै परिवर्तन गरौं भन्ने नलागेको होइन । तर हिम्मत हारिन । बरु नेपालगञ्जले संघर्ष थप संघर्ष गर्न सिकायो । प्लसटु पुरा भएपछि इन्जिनियर अध्ययन गर्ने पढ्ने सपना बोकेर काठमाडौंँ झरेँ । त्यसपछि सुरुभए जीवनका नयाँ पाटाहरु । काठमाडौं, त्यसमाथि इन्जिनियररिङको पढाई । आर्थिक भारले सताउँछ कि भन्ने चिन्ताले सताउन थाल्यो । उसो त बुवाले आर्थिक भार थेग्न नेपालगञ्ज झरेदेखि गाउँमा सानो व्यापार सुरु गर्नुभएको थियो । तर त्यतिले मात्रै इन्जिनियरिङको पढाइ पुरा गर्न सम्भव थिएन । घरको यही समस्या बुझेर सानो बुवा (कान्छो अंकल) ले काठमाडौं बस्न लाग्ने खर्च र इन्जिनियरिङ अध्ययन शुल्कमा सहयोग गर्ने बचन दिनुभयो ।
‘तैले पढ्ने काम गर, काठमाडौं बस्न र अध्ययनमा लाग्ने खर्च म बेहोर्छु ।’ अंकलको यही प्रेरणाले पढाइमा हौसल्ला थपियो । उहाँको सपना मलाई इन्जिनियर बनाउने थियो । यही हौसल्लाह र सपना बोकेर इन्जिनियरिङको प्रवेश परीक्षामा सहभागी भएँ । अन्ततः भाग्यले साथ दियो । छात्रबृत्ति कोटामा नाम निकाले । त्यसपछि जीवनमा खुशी र संघर्ष थपियो । पढाइमा रुचि बढ्दै गयो । अंकलको सल्लाह अनुसार होस्टेलमा बसेर दिमाग खियाउन थाले । अफ्ठेरो पर्दा साथदिने, पढाइमा सधै हौसल्लाह थपिदिने अंकलको यही मायाले जीवनमा आशाका किरणहरु पलाउन थाले । अन्ततः पुलचौक क्याम्पस ललितपुरबाट २०६२ सालमा इलेक्ट्रिकल इन्जिनिरिङको अध्ययन पुरा गरेँ । उसो त अंकले पनि सोही क्याम्पसबाट ओभरसियर अध्ययन गर्नुभएको थियो । जागिरपछि यसको महइभ्व बुझेर मलाई जसरी भए पनि इलेक्ट्रिकल इन्जिनिर बनाउने चाहान थियो । अन्ततः अंकलको चाहाना र मेरो भविष्यको योजना दुबै पुरा भयो । त्यो क्षण मेरो लागि जीवनमा खुशी थपिएको दिन थियो ।

रोजेको कर्मथलो पाउन नौं वर्ष लाग्यो
२०६२/०६३ को जनआन्दोलनसँगै अध्ययन पुरा भयो । जीवनको लक्ष्यको पहिलो पाइला हुम्लाबाट सुरु भयो । २०६३ सालमा माइक्रोहाइड्रोसँग सम्बन्धित काम गर्ने प्रोजेक्ट ग्रामिण विकास उर्जा कार्यक्रममा काम गर्न थाले । साढे दुईवर्ष हुम्लाबसाइपछि दैलेख झरेँ । हुम्ला र दैलेखमा हुँदा स्थायी जागिरको जग तयार पारिसकेको थिएँ । किनकी अस्थायी जागिरले जीवन चल्थेन । २०६८ सालमा विद्युत प्राधिकरण नेपालगञ्ज क्षेत्रिय कार्यालय स्थायी जागिर सुरु भयो । करिव साढे तीन वर्ष नेपालगञ्जको बसाइपछि दाङलाई कर्मथलो बनाए । दाङको तुलसीपुरमा साढे दुई कार्यालय प्रमुखको जिम्मेवारीपछि अत्तिरिया क्षेत्रिय कार्यालय कैलालीमा पुगेँ ।


कक्षा ९ र १० ट्युसन पढ्दादेखि नै सुर्खेत मेलै मन पराएको ठाउँ हो । त्यतिबेलादेखि नै सुर्खेतसँग मेरो आफ्नै सम्बन्ध र माया थियो । भाग्यवस सहायक प्रबन्धक पदमा रहेर विद्युत प्राधिकरण सुर्खेतको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको छु । हुन त मैले जागिर खाँदादेखि नै सुर्खेत रोजेको थिएँ ।  तर नौं वर्षपछि मात्रै रोजेको ठाउँ पाएको छु । सुर्खेतमा राम्रो विद्युत प्रसारण लाईन भएको भए हुन्थ्यो भन्ने लाग्छ । तर मैले चाहेर मात्रै हुँदैन । यहाँको नेतृत्व तह, यहाँका उद्योगी व्यापारी र प्रदेश सरकारले पहल गरेको खण्डमा तोकिएकै समयमा एकसय ३२ केभिए प्रसारण लाईन सुर्खेतमा ल्याउन सकिन्छ । सरकारले कर्णालीमा आगामी तीनवर्षभित्र विद्युतिकरण गरिसक्ने लक्ष्य लिएको छ । यसका लागि नेतृत्व तह र स्वयम् नागरिकको तर्फबाट सामूहिक काम थालेको खण्डमा कर्णालीलाई उज्यालो बनाउन सकिन्छ । समग्र कर्णालीवासी आफै नजुट्दासम्म कर्णाली अन्धकारबाट मुक्त हुन सक्दैन । जन्मे हुर्केको ठाउँलाई विद्युतिकरणमा सम्पन्न बनाउने संकल्प गरौँैं ।

एकसय ३२ केभिए विद्युत प्रसारण नआउँदासम्म बत्ति जाने समस्या हट्दैन
कर्णाली प्रदेश जल सम्पदाले धनी छ । तर विद्युतिकरण अन्य प्रदेशको तुलनामा सबै भन्दाकम छ । अहिलेसम्म साविक कर्णाली अञ्चलका कुनै पनि जिल्लालाई राष्ट्रिय विद्युत प्रसारण लाइनले छोएको छैन ।  हुन त भौगोलिक बनावट एउटा पाटो होला तर चाहने हो भने विद्युतिकरण असम्भव छैन । उत्पादन, वितरण प्रर्णाली र विद्युतिकरणमा समान तालमेल भएको खण्डमा कर्णालीमा सहजै रुपमा विद्युतिकरण गर्न सकिन्छ । तर अहिलेसम्म विद्युतिकरणको संरचनाहरु निकै कमजोर छ । कमजोर विद्युतिकरणका कारण बेलाबेलामा समस्या हुँदै आएको छ । यस्तो हुनुका पछाडि दुई वटा कारणहरु छन् । पहिलो रुड (ठाउँ र दोस्रो हाम्रो गाउँबस्ती । बलियो विद्युतिकरण बनाउन सहज रुड हुनुपर्छ तर जंगलको बीच–बीचमा बस्तीहरु छन् ।

जसले गर्दा सहज रुड छोडेर जंगलै–जंगल प्रसारण लाइन तान्नुपर्छ । यही कारण उपभोक्ताले बेलाबेलामा विद्युत अवरोध खेप्नु परेकोछ । कोहलपुर–सुर्खेत प्रसारण लाइनमा भएको समस्या यही हो । कोहलपुर–सुर्खेत खण्डको ८० प्रतिशत क्षेत्र जंगलमा पर्छ । जसले गर्दा हावाहुरी चल्यो र रुखका हाँगाहरुका कारण लाइनमा अवरोध आउँछ ।  यसबाट मुक्ती पाउने एउटै उपाय भनेको एकसय ३२ केभिए प्रसारण लाईन हो । एकसय ३२ केभिए लाइन तानेको खण्डमा विद्युतका पोलहरु रुखभन्दा अग्ला हुन्छन् जसले गर्दा हावाहुरी चल्यो, रुख ढल्यो भने विद्युतका तारहरुमा पर्दैन । तसर्थ जबसम्म सुर्खेतमा एकसय ३२ केभिए विद्युत प्रसारण लाइन आउँदैन तवसम्म विद्युत अवरोधको समस्या हल हुन सम्भव छैन ।

विद्युत आएन भने फेसबुक हेर्नाेस्…
अहिले पनि सुर्खेतमा बेलाबेलामा विद्युत अवरोध हुँदै आएको छ । कहिलेकाँही प्राविधिक कारणले प्रसारण लाइनमा समस्या आउँछ जो स्वाभाविक हो । किनकी इलेक्ट्रिकल बस्तुहरु कहाँ कतिबेला के हुन्छ भन्न सकिदैन । तर सुर्खेत, रुकुमपश्चिम र सल्यानको केही भाग, दैलेख र जाजरकोटसम्म विद्युत अवरोध हुनुको मुख्य समस्या रुड हो । कोहोलपुर–सुर्खेत प्रसारण लाइनको ८० प्रतिशत भागमा जंगलपर्छ । जसले गर्दा जमिन छुनेगरी कुनै पनि बस्तु विद्युतको लाइनमा प¥यो भने प्रसारणमा अवरोध आउँछ । यही कारण चैत बैशाखमा चल्ने हावाहुरी र असार–साउनको हावापानीले सबैभन्दा बढी विद्युत अवरोध हुन्छ । हावा चल्यो कि कतिबेला रुखका हाँगाहरु लाइनमा पर्छन् र प्रसारण अबरुद्ध हुन्छ ।

तर यो समस्या एकसय ३२ केभिए प्रसारण लाइन नहुँदा भइनै रहन्छ । अहिले पनि लाइन ग¥यो कि उपभोक्ताको फोन आउन सुरु गर्छ । लाइन नआउँदासम्म टेलिफोनको घण्टी बज्न छोड्दैन । यस्तो समस्या आएपछि म आफैलै एउटा जुक्ति निकाले । अहिले पुस्ताले सामाजिक सञ्जाल राम्रोसँग प्रयोग गर्छन् भन्ने ठानेर उपभोक्तालाई सूचना दिन ‘नेपाल विद्युत प्राधिकरण सुर्खेत’ नाम राखेर फेसबुक खोले । त्यही फेसबुकमा विद्युत के भयो ? कहिले आउँछ ? कहाँ समस्या छ भनेर सूचना दिने गरेका छौँ । फुर्सद भएसम्म रिप्लाई पनि गछौँ । तसर्थ लामोसमय बत्ति आएन भने फेसबुकबाट हेरेर सूचना पाउनु हुन्छ । चैतदेखि–भदौसम्म त बत्ति कतिबेला जान्छ थाहा नै हुँदैन । साँझमा बत्ति गयो भने अरु सुत्छन् हामी जंगलमा दौड्नु पर्छ । कहिलेकाँही त घण्टौ समय खोज्दा पनि समस्या पत्तै लगाउन सकिदैन । कोहलपुर– सुर्खेत खण्डको अधिकांश क्षेत्र राष्ट्रिय निकुन्ज भएका कारण जंगली जनावारको डरका कारण कार्यक्षेत्रमा खटिन समस्या हुन्छ । (युगआव्हान राष्ट्रिय दैनिकमा २०७७ जेठ ४ गते आइतबार साताको राष्ट्र सेवक स्तम्भमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार